<

काठमाडौँ । सर्वोच्च अदालतले यस आर्थिक वर्षको ९ महिनामा २४ दशमलव ६७  प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । यस्तै अदालतले पाँच वर्ष नाघेका ३७ दशमलव ९१ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यस आर्थिक वर्षको सुरुवातदेखि हालसम्म कुल ९ हजार १ सय ३ थान मुद्दाको किनारा लागेको छ । गत आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षको हालसम्मको अवधिमा ५ प्रतिशतभन्दा बढी प्रतिशतको फर्स्यौट प्रगति भएको हो ।

गत आर्थिक वर्षको १२ महिनाको अवधिमा कुल ७ हजार ५८ थान थान मुद्दा फर्स्यौट भएको थियो ।  कुल ३७ हजार १५४ थान मुद्दामा १९ प्रतिशत फर्स्यौट प्रगति भएको थियो । गत आर्थिक वर्षमा दुई वर्ष नाघेको २१ हजार ६१ थान मुद्दामध्ये ३ हजार ८३९ थान अर्थात् कुल मुद्दाको १८ दशमलव २३ प्रतिशत मुद्दा फर्स्यौट भएको थियो । गत आर्थिक वर्षमा पाँच वर्ष नाघेका ६ हजार २२ थान मुद्दामध्ये १ हजार २१६ थान अर्थात् २० दशमलव १९ प्रतिशत मुद्दा किनारा लगाएको थियो ।

यस आर्थिक वर्षको सुरुवातदेखि साढे ९ महिनाको अवधिमा सर्वोच्चमा दर्ता भएका वा जिम्मेवारी सरी आएका कुल ३० हजार ९६ थान मुद्दा र यस वर्ष दर्ता भएका कुल ७ हजार ६०९ गरी कुल ३७ हजार ७०५ थान मुद्दामध्ये हालसम्म ९ हजार ३०२ थान मुद्दा फर्स्यौट भइसकेको पौडेलको भनाइ छ । प्रतिशतमा हेर्ने हो भने चालु आर्थिक वर्षको साढे ९ महिनाको अवधिमा कुल ३७ दशमलव ९७ प्रतिशत मुद्दा फर्स्यौट भएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था रहेको छ । तर हाल सर्वोच्च अदालतमा १६ जना मात्रै न्यायाधीश रहेका छन् । न्यायाधीशको सङ्ख्या कम रहेको भए पनि हालसम्म भएको फर्स्यौटको अवस्था हेर्दा भने सन्तोषजनक नै रहेको प्रवक्ता पौडेलले बताए । यही गतिमा काम हुन सके आर्थिक वर्षको अन्तिमसम्म करिब १२ हजार थान मुद्दा फर्स्यौट हुने प्रवक्ता पौडेलले बताए ।

अदालतले यस आर्थिक वर्षमा करिब ५० प्रतिशत मुद्दा फर्स्यौट गर्ने लक्ष्य लिएको थियो । यद्यपि लक्ष्य अनुसार कुनै पनि अदालतमा फर्स्यौट हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0