Date
शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024
घर Uncategorized पृथ्वीराजमार्गको मादी नदीमा पुल निर्माण हुने

पृथ्वीराजमार्गको मादी नदीमा पुल निर्माण हुने

74
<

दमौली (तनहुँ), २८ असोज :

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्डको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुन लागेको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत उक्त ठाउँमा हाल रहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण गर्न लागिएको हो । मादी नदीमा निर्माण गरिने पुलको डिजाइन तयार भइसकेको छ । सडक विभागका अनुसार मादी नदीमा निर्माण गरिने उक्त नेटवर्क आर्क पुलको डिजाइन केही दिनअगाडि स्वीकृत भएको हो । उक्त पुल निर्माणको तयारी सुरु भइसकेको र दसैँ सकिनेबित्तिकै काम थालनी हुने मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुलको डिजाइन स्वीकृत भएको छ । दसैँ सकिएलगत्तै निर्माणको चरणमा जान्छ ।” उक्त पुल निर्माणका लागि रू एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरिएको पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । “आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा काम सन्तोषजक भए पनि जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा काम सुस्त छ”, उहाँले भन्नुभयो, “सरकारले पश्चिम खण्डमा ठेक्का तोड्नेबारे छलफलसमेत गरिरहेको छ ।” पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमीको यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । यस खण्डको काम सक्नुपर्ने अन्तिम म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको इन्जिनियर पाण्डेले बताउनुभयो । उहाँका अनुसार पूर्वी खण्डको रू छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रू सात अर्ब ४० करोड ४६ लाखमा ठोक्का भएको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0