<

रौतहट,१० गते असोज ।
रौतहटमा कालोपत्र भएको तीन महिना नबित्दै उप्किन थालेको छ । जिल्लाको देवाही गोनाही नगरपालिका अन्तर्गत मलंग चौक देखि देवाही जाने बाटोमा ह्युम पाइप निर यस्तो भएको हो ।
सडक डिभिजन चन्द्रनिगाहपुरको बजेटमा धन्सर कटहरिया कर्कच सडकमा कालोपत्रे,नाला र कल्भर्ट निर्माण कार्य काम भएको हो । यो सडक विस्तारको ठेक्का साहु कन्सट्रक्सन पतौरा ५ ले लिएको छ । करिब ४ करोड ९८ लाख ५५ हजार ५६८ रुपैयामा ठेक्का सम्भौता भइ काम भइरहेको छ ।


सो काम २०८० भदौ १४ गते सम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने समझौता पत्रमा उल्लेख रहेको छ । उक्त कालोपत्र सडक डिभिजनको प्राविधिकको मिलोमतोमा गुणस्तरहिन बनेको कारण उप्किन थालेको सरोकारवालाहरुको भनाइ छ । सडक गुणस्तरहीन बन्दा चाँडै भत्किन थालेको स्थानिय रुपेश पटेलले आरोप लगाएका छन् ।


कालोपत्र उप्केको र प्वाल भएको कारण सो सडक खण्डमा दुर्घटनाको उच्च जोखिम रहेको छ । जुनसुकै बेला दुर्घटना हुन सक्ने सम्भावना बढेको छ । त्यसैले सम्बन्धि निकायले चासो देखाउनु पर्ने स्थानियले माग गरेका छन् । निर्वाचन क्षेत्र रणनैतिक सडक विकास कार्यक्रम अन्तर्गत सो सडक कालोपत्र भएको हो ।

सो विकास निर्माणको काममा गुणस्तरीय काम गर्न स्थानीयहरुले बारम्बार आवाज उठाउँदै आएका थिए । तर पनि निर्माण कम्पनीले स्थानियको कुरालाइ वेवास्ता गर्दै धमाधम काम सकाएका थिए । स्थानियहरुले स्टीमेट अनुसार काम नभएको भन्दै विरोध समेत जनाएका थिए ।
यता सडक डिभिजनका इन्जिनियर प्रभु साह सँग सोध्दा साहु कन्सट्रक्सन लाइ कालोपत्र उप्केकोे ठाउँमा मर्मत गर्न निर्देशन दिइसकेको जानकारी गराए । प्वाल भएको र उखडेको ठाउँमा छिट्टै मर्मत हुने उनको भनाइ छ । भदौ १४ गते काम सम्पन्न गर्नुपने भएपनि अहिले सम्म काम नसकेको जनाए । काम भने अहिले पनि जारी रहेको उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0