<

 

लमजुङ २३ भदाै ।

लमजुङको बेसीशहर नगरपालिका वडा नं १० मा पर्ने भाचोक खोलामा निर्माण गरिएको अस्थायी काठे पुल डेढ महिना नबित्दै भत्किएको छ ।

 

बर्खामा खोला बढेर समस्या भएपछि बासिन्दालाई सहज होस भनि बनाइएको काठको अस्थायी पुल गए राती परेको वर्षाका कारण खोलामा बहाब बढेपछि पुल भत्किएको हो । स्थानीयका अनुसार पुल भत्किएसँगै सवारीसाधन आवतजावत ठप्प भएपछि आवातजातमा समस्या परेको छ ।

 

गत असारको पहिलो साता आएको बाढीले पूल बगाएपछि यातायात सम्पर्क विच्छेद भएको थियो । बर्षातका बेला खोलामा पुल नभएपछि सवारी साधान चल्न सकेनका थिएनन भने  स्थानीय बासीन्दा जोखिम मोलेर खोला तर्न बाध्य भएका थिए । त्यसपछि स्थानीयले करिब एक महिनाको प्रयासमा साउन दोस्रो साता अस्थायी काठको पूलको निर्माण गरेका थिए ।

स्थानीय बासीन्दाले श्रमदान र चन्दा संकलन गरी पुल निर्माण गरेका थिए । उनीहरूको प्रयासमा वडा कार्यालय, बेसीशहर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, डुम्रे बेसीशहर चामे सडक योजना समेतले सहयोग गरेका थिए । त्यस्तै बेसीशहर नगरपालिकाले बिपद कोषबाट पुलको जग बनाउन आवश्यक रड, सिमेन्ट र एक्साभेटरका लागि चाहिने इन्धनमा सहयोग गरेको थियो भने वडा नं. १० का विभिन्न गाउँका स्थानीयले श्रमदान गरेका थिए । केहि समय आवत जावतमा सहज भएपनि बनेको डेढ महिना नवित्दै अहिले पुल भत्किएको हो ।

 

पुलका लागि चाहिने काठ वन कार्यालयसँगको समन्वयमा गाउँकै सामुदायिक वनले उपलव्ध गराएको थियो भने श्रमदान र सम्बन्धित निकायको सहयोगबाहेक पुल निर्माणमा ३ लाख बढी खर्च भएको स्थानीयले बताएका छन् ।

 

भाचोक खोला सडक बेसीशहर–चामे सडकको बैकल्पिक मार्ग पनि हो । बेसीशहर ६ मा पर्ने खरखरे भीरमा पहिरो जाँदा बेसीशहरबाट बाँझाखेत, भाचोकबेसी, लेतेफाँट, माथिल्लो मर्स्याङ्दीको पावर हाउस हुँदै सुरूङमार्गमा यो सडक जोडिन्छ ।
खहरे खोलामा बर्खाको बेला जुनसुकै समयमा बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर नगरी साघुँरो किसिमले पुल निर्माण गर्दा यो समस्या आएको प्राविधिकहरु बताउँछन् ।

 

साे पुल नहुँदा खासुर, खासुरबेसी, देउजनथोक, पांग्रेक्यू, खाँचे, कुप्लिङ, गाउँ भाचोक, सिरूवारी, भाचोकबेसी लगायतका स्थानका स्थानीय ठूलो समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0