<

 

लमजुङ १३ भदौ ।

लमजुङ सदरमुकाम बेसीसहरमा मंगलबार आयाेजित जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ मा राइनास नगरपालिका–६ मा रहेको मार्गदर्शन महिला बहुउद्धेश्यीय सहकारी संस्था प्रथम भएको छ ।

 

कृषि ज्ञान केन्द्र लमजुङको आयाेजनामा भएकाे प्रतियाेगितामा मध्यनेपाल नगरपालिका–६ मा रहेको एकीकृत कृषक सहकारी संस्था लिमिटेड द्धितीय भयाे भने सुन्दरबजार नगरपालिका–७ मा रहेको मजुवा मिश्रित कृषक समूह तृतीया भएको छ ।

 

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल टिमलाई पुरस्कारस्वरुप क्रमश : नगद सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ प्रदान गरिएको छ ।

 

गीतको माध्यमबाट कृषि प्रसार तथा कृषि व्यवसाय प्रवर्द्वन गर्ने उद्धेश्यले जिल्ला स्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गरिएकाे कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताए ।

 

गीतको माध्यमबाट नवीनतम कृषि प्रविधि, कृषिका सम्भावना, अवसर लगायत कृषिसँग सम्वन्धित विविध पक्षका विषयमा समुदायमा सचेतना फैलाउने उदेश्यले प्रतियोगिता सञ्चालन गरिएको प्रमुख खतिवडाले बताए । प्रतियोगितामा सम्वन्धित पालिकामा कृषि कार्यमा सक्रिय रहेको कृषक समूह वा कृषि सहकारी संस्था, कृषक पाठशालामा आवद्ध वा सञ्चालन गर्दै आएको समूह र सहकारी गरी पाँच वटा समूह सहभागी थिए ।

 

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख खतिवडाको अध्यक्षता एवं जिल्ला समन्वय समिति, लमजुङका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा निर्णायक मण्डलमा कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मी, जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक बुद्धि सुवेदी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी थिए।

 

जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुन सफल टिमलाई भदौ २३ गते पोखरामा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा पठाइने कृषि ज्ञान केन्द्र लमजुुङका बालि संरक्षण अधिकृत विजय पाैडेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0