<

बारा, ८ बैशाख । नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् ।

 

मावली हजुरबुवावाट बंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित ३ जनालाई पक्राउ गरिएको हो ।

 

वडा अध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । उनका अनुसार कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् । रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुले पछि उनीहरु पक्राउ परेका हुन ।

 

गोप्य उजुरीको आधारमा उनीहरु पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।

 

उनका अनुसार नागरिकता लिन सिफारिस गरेका वडाध्यक्ष साबिरलाई बुधबार नियन्त्रण लिई अदालतबाट ५ दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0