<

 

काठमाडौं, २४ साउन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई सातादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ । १० साउनमा बसेको बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय वा संसदीय समिति गठनको माग गर्दै सुरु गरेको अवरुद्ध एमालेले २४ साउन बुधबार पनि जारी राखेको छ ।

बुधबार बसेको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । बैठक सञ्चालनमा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरले कार्यसूचीमा भएका सबै विषय हटाउँदै बैठक नै स्थगित गरेका हुन् । उनले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए ।

बुधबारको बैठकमा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले समिति गठन नभएसम्म बैठक चल्न नसक्ने बताएका थिए । उनले बोल्न थालेपछि सत्तापक्ष सांसदले पनि बोल्न थालेका थिए । रोष्ट्रम अगाडि गएर एमाले सांसदले नाराबाजी गर्न थालेपछि बैठक स्थगित गरिएको हो ।

सुन तस्करी प्रकरण र छानबिन समितिबारे मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका थिए । तर, एमालेले भने अवरोध जारी राखेको छ । उसले सरकार पक्षबाट संसद चल्न नदिएको आरोप लगाएको छ । १० साउन यता केही बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0