२०८३ असार ७
२०८३ असार ७

बेलायती प्रधानमन्त्री स्टार्मरले राजीनामा दिने दाबी

काठमाडौँ । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले सोमबार राजीनामाको घोषणा गर्न सक्ने र पद त्याग्ने कार्ययोजनासमेत सार्वजनिक गर्न सक्ने दाबी गरिएको छ ।

बेलायती पत्रिका द अब्जर्भरको रिपोर्टअनुसार स्टार्मरले मन्त्रिपरिषद्का सदस्य, सल्लाहकार तथा ट्रेड युनियन नेताहरूसँगको छलफलपछि पदमा निरन्तर रहन कठिन भएको निष्कर्ष निकालेका छन् । यद्यपि, समाचार संस्था रोयटर्सका अनुसार सरकारी स्रोतहरूले उक्त दाबीलाई अस्वीकार गर्दै स्टार्मर अझै पनि प्रधानमन्त्रीका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न केन्द्रित रहेको बताएका छन् ।

रिपोर्टअनुसार स्टार्मरको लेबर पार्टीका एक सयभन्दा बढी सांसदले सार्वजनिक रूपमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने वा पद छोड्ने समयसीमा घोषणा गर्नुपर्ने बताएका छन् । स्टार्मरको विरोध गर्ने सांसदको संख्या तल्लो सदनमा रहेको पार्टीका कुल सांसदको करिब एक चौथाइ रहेको जनाइएको छ ।

यदि स्टार्मरले राजीनामा दिए भने पछिल्लो १० वर्षमा कार्यकाल पूरा गर्न नपाई पद छोड्ने उनी बेलायतका छैटौँ प्रधानमन्त्री बन्नेछन् । यसअघि डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोन्सन, लिज ट्रस र ऋषि सुनकले पनि कार्यकाल पूरा नहुँदै पद त्यागेका थिए ।

स्टार्मरले सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई ठूलो जित दिलाएका थिए । तर त्यसपछि उनको लोकप्रियता निरन्तर घट्दै गएको छ। विभिन्न विवाद, नीतिगत निर्णयमा पटक–पटक परिवर्तन तथा जनजीवन सुधारका वाचा पूरा गर्न नसक्दा उनको छविमा असर परेको बताइएको छ ।

उनको चुनौती अझ बढेको बेला विपक्षी धारका नेता एन्डी बर्नह्यामले शुक्रबार भएको उपनिर्वाचनमा विजय हासिल गरेका छन् । त्यसपछि उनले पार्टी नेतृत्वको दाबेदारी प्रस्तुत गर्न सक्ने चर्चा सुरु भएको छ । उपलब्धिपछि बर्नह्यामले देशलाई नयाँ दिशा दिन चाहेको बताएका छन्। उनका समर्थकहरूले स्टार्मरसँग राजीनामाको माग गरिरहेका छन् ।

विशेषज्ञहरूका अनुसार बेलायतमा प्रधानमन्त्री बारम्बार परिवर्तन हुनुको मुख्य कारण त्यहाँको संसदीय प्रणाली हो । बेलायती नागरिकले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा निर्वाचित गर्दैनन् । प्रधानमन्त्री आफ्नो पार्टीका सांसदहरूको समर्थनका आधारमा पदमा रहने व्यवस्था छ ।

यदि सांसदहरूले कुनै नेताको घट्दो लोकप्रियताले आगामी निर्वाचनमा पार्टीलाई नोक्सान पुर्‍याउन सक्छ भन्ने ठाने भने आमनिर्वाचन नगरी नयाँ नेता चयन गर्ने प्रक्रिया सुरु गर्न सक्छन् । यही कारण बेलायतमा पार्टीभित्रको समर्थन कमजोर हुनासाथ प्रधानमन्त्री परिवर्तनको सम्भावना बढ्ने गर्छ । त्यस्तै, बेलायतका प्रमुख राजनीतिक दलका आन्तरिक नियमले पनि नेतृत्व परिवर्तनलाई सहज बनाएका छन् । कन्जरभेटिभ पार्टीमा १५ प्रतिशत सांसदले विरोध जनाए अविश्वास प्रस्ताव ल्याउन सकिन्छ भने लेबर पार्टीमा २० प्रतिशतभन्दा बढी सांसद र सदस्यको समर्थन पाए अर्को नेताले नेतृत्वका लागि दाबेदारी प्रस्तुत गर्न सक्ने वयवस्था गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।