काठमाडौँ । दक्षिण प्रशान्त महासागरमा स्पर्म ह्वेलको ठक्करबाट १६ मिटर लामो अस्ट्रेलियाली याट डुबेपछि त्यसमा सवार चार जना नाविकको उद्धार गरिएको छ ।
घटना सेप्टेम्बर २६, २०२६ मा भएको थियो । याट नर्फोक टापुबाट करिब २५० समुद्री माइल उत्तर र न्युजिल्यान्डबाट करिब ५०० समुद्री माइल टाढा रहेको अवस्थामा ह्वेलसँग ठोक्किएको थियो ।
‘ताइ ताम’ नामको याटमा अस्ट्रेलियाका दुई जना, न्युजिल्यान्डका एक जना र फ्रान्सका एक जना गरी चार जना थिए । याट चलाइरहेकी जेम्मा कुपरले अचानक ठूलो आवाजसहित याट एकातर्फ धकेलिएको बताएकी छन् । त्यसपछि चालक दलले नजिकै ६ देखि ८ वटा स्पर्म ह्वेल देखेका थिए । ठक्करका कारण याटको स्टेयरिङ प्रणाली बिग्रिनुका साथै अगाडिको भागमा क्षति पुगेपछि पानी भित्र पस्न थालेको थियो ।
ठक्करको करिब ३० मिनेटपछि चालक दलले आपत्कालीन सङ्केत पठाउँदै उद्धारका लागि जानकारी गराएको थियो । उनीहरूले केही घण्टासम्म याटमा पसेको पानी बाहिर निकाल्ने र क्षति रोक्ने प्रयास गरेका थिए । तर अवस्था नियन्त्रणबाहिर गएपछि राति याट छाडेर चारै जना जीवनरक्षक डुंगामा पुगेका थिए । पछि याट समुद्रमा डुबेको थियो ।
उद्धारका लागि न्युजिल्यान्डको वायुसेनाको गस्ती विमान परिचालन गरिएको थियो । विमानले जीवनरक्षक डुंगामा रहेका चार जनासँग रेडियो सम्पर्क स्थापित गर्दै उनीहरूको स्थान पत्ता लगाउन सहयोग गरेको थियो । त्यसपछि १४३ मिटर लामो मालवाहक पानीजहाज ‘एमभी सोफ्राना सर्भिल’ घटनास्थलतर्फ पठाइएको थियो ।
करिब १८ घण्टापछि, सेप्टेम्बर २७ को बिहान ६ बजे चारै जनालाई सकुशल उद्धार गरिएको थियो। उद्धार गरिएका चारै जना सुरक्षित रहेको न्युजिल्यान्डको उद्धार समन्वय केन्द्रले जनाएको छ । उद्धार अधिकारीहरूले चालक दलले आपत्कालीन सङ्केत समयमै पठाउनु र समुद्रमा आवश्यक तयारी गर्नु उनीहरूको ज्यान जोगाउन महत्वपूर्ण भएको बताएका छन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएन, पोलिटिको र एमएस नाउले प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् ।
ती सञ्चार संस्थाले समाचारप्रति असन्तुष्टि जनाउँदै पत्रकारको प्रवेश अनुमति रद्द गरिएको भन्दै यसलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बताएका छन् ।
ट्रम्पले भने ती सञ्चार संस्थाले आफ्नो प्रशासनबारे झुटा र नकारात्मक समाचार प्रकाशित गरेको आरोप लगाउँदै प्रतिबन्धको बचाउ गरेका छन् । यसैबीच, एबीसी, सीबीएस, सीएनएन, फक्स न्युज र एनबीसीले ह्वाइट हाउसको सामूहिक समाचार संकलनमा सहभागी नहुने घोषणा गरेका छन् ।
यसैबीच, ह्वाइट हाउसले सोमबार ‘ट्रम्प टिभी : द एसेन्सियल्स स्टेसन’ नामको २४ घण्टा चल्ने डिजिटल भिडियो प्रसारण सेवा सुरु गरेको छ । यसमा प्रशासनका घोषणा, राष्ट्रपतिको वक्तव्य र अन्य सामग्री प्रसारण गरिने बताइएको छ ।
ह्वाइट हाउसले उक्त सेवा सुरु गरेको समयमै सीएनएन, एमएस नाउ र पोलिटिकोले ह्वाइट हाउसबाट आफूहरूलाई बाहिर राखिएको विषयमा कानुनी चुनौती दिएका छन् । उनीहरूले सरकारलाई सञ्चारमाध्यमले के समाचार प्रकाशन गर्ने भन्ने निर्णय गर्ने अधिकार नहुने बताएका छन् । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । बेलायतको सानो पिज्जा चेन ‘नेपोली अन द रोड’ ले इटालीका चर्चित पिज्जा पसललाई पछि पार्दै विश्वकै नम्बर एक पिज्जा चेनको उपाधि जितेको छ।
इटालीको नेपल्सस्थित तेआत्रो मर्कदांतेमा आयोजित ‘५० टप पिज्जा’ पुरस्कारको १०औँ संस्करणमा ‘नेपोली अन द रोड’ पहिलो भएको हो । यसअघि सातमध्ये छ वर्ष इटालीका पिज्जा पसलले शीर्ष स्थानमा कब्जा जमाएका थिए ।
गोप्य निरीक्षकले स्वाद, सामग्रीको गुणस्तर, मौलिकता र खानाको अनुभवका आधारमा मूल्यांकन गरेका थिए । ३४ वर्षीय संस्थापक तथा मुख्य परिकार बनाउने मिकेले पासकेरेल्लाले यो सफलता पिज्जा क्षेत्रको ‘ओस्कार’ जस्तै भएको बताएका छन् ।
पासकेरेल्लाले इटालीको कासेर्तामा पिज्जा बनाउन सिकेका थिए । उनले लन्डनको चिसविक, रिचमन्ड र सोहोमा तीनवटा पसल सञ्चालन गरिरहेका छन् । खाद्य गाडीबाट सुरु भएको उनको व्यवसाय अहिले तीन स्थायी पसलमा विस्तार भएको हो ।
पासकेरेल्लाले सन् २०२३ मा ‘विश्वकै उत्कृष्ट पिज्जा निर्माता’को उपाधि पनि जितेका थिए । यसपटक भने उनले इटालीका चर्चित पिज्जा पसलसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दै विश्वकै शीर्ष स्थान हासिल गरेका हुन् ।
शीर्ष १० मा ‘उना पिज्जा नेपोलिताना’ अमेरिकाको न्युयोर्क दोस्रो, ‘कन्फाइन’ इटालीको मिलान तेस्रो र ‘आई मसानीली’ इटालीको कासेर्ता चौथो स्थानमा रहेका छन् । लन्डनको ‘नेपोली अन द रोड’ शीर्ष १० मा पर्ने बेलायतको एक मात्र पिज्जा पसल बनेको छ ।
‘नेपोली अन द रोड’को सफलतामा ‘चिजविक’ नामक विशेष पिज्जाको समेत महत्वपूर्ण भूमिका रहेको छ । यसमा पाँच प्रकारका इटालियन चीज र घरमै तयार गरिएको टमाटरको जाम प्रयोग गरिन्छ । पासकेरेल्लाले स्वाद र सामग्रीको गुणस्तरमा सम्झौता नहोस् भनेर आफ्नो व्यवसायलाई ठूलो चेनमा विस्तार गर्ने केही व्यावसायिक प्रस्तावसमेत अस्वीकार गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । संयुक्त राष्ट्र सुरक्षा परिषद्मा इरानमाथि लगाइएको प्रतिबन्धको निगरानी जारी राख्ने अमेरिकी प्रस्ताव रूस र चीनको असहमतिका कारण असफल भएको छ । रूस र चीनले प्रस्तावमा विरोध जनाएपछि राष्ट्रसंघीय विशेषज्ञ समूहको निगरानीसम्बन्धी व्यवस्था अन्त्य हुने भएको छ ।
अमेरिकाले इरानमाथि पुनः लगाइएको प्रतिबन्ध कार्यान्वयन भए–नभएको अध्ययन गर्न राष्ट्रसंघीय विशेषज्ञ समूहको कार्यकाल थप एक वर्ष बढाउने प्रस्ताव गरेको थियो । मतदानमा ११ सदस्य राष्ट्रले प्रस्तावको पक्षमा मत दिएका थिए भने रूस र चीनले विरोध गरेका थिए । सोमालिया र पाकिस्तान मतदानमा सहभागी भएनन् । रूस र चीनको स्थायी सदस्यका रूपमा रहेको असहमतिले प्रस्ताव पारित हुन सकेन ।
इरानमाथिका राष्ट्रसंघीय प्रतिबन्धमा विदेशमा रहेका केही सम्पत्ति रोक्का गर्ने, हतियारसम्बन्धी कारोबारमा प्रतिबन्ध लगाउने तथा आणविक र क्षेप्यास्त्र कार्यक्रमसँग सम्बन्धित गतिविधिमा निगरानीलगायतका व्यवस्था छन् । राष्ट्रसंघका अनुसार इरानसम्बन्धी विशेषज्ञ समूहको वर्तमान कार्यादेश सेप्टेम्बर २६ मा सकिँदै थियो ।
इरानमाथि पुनः प्रतिबन्ध लगाउने प्रक्रिया सन् २०१५ को आणविक सम्झौतासँग जोडिएको छ । फ्रान्स, बेलायत र जर्मनीले सम्झौताका प्रावधान प्रयोग गर्दै ‘स्न्यापब्याक’ प्रक्रिया अघि बढाएपछि सन् २०२५ मा राष्ट्रसंघीय प्रतिबन्ध पुनः लागू गरिएको थियो। इरान, रूस र चीनले भने उक्त प्रक्रियाको कानुनी वैधतामाथि प्रश्न उठाउँदै आएका छन् ।
रूसले अमेरिकी प्रस्तावलाई कानुनी आधार कमजोर भएको दाबी गर्दै अस्वीकार गरेको छ । मस्कोले इरानमाथि प्रतिबन्ध पुनः लागू गर्ने प्रक्रिया नै गलत रहेको बताउँदै आएको छ। चीनले पनि इरानको आणविक विवाद समाधानका लागि दबाबभन्दा कूटनीतिक संवाद आवश्यक रहेको धारणा राख्दै आएको छ ।
अमेरिकाले भने विशेषज्ञ समूहको निगरानी समाप्त हुँदा प्रतिबन्ध उल्लङ्घनबारे स्वतन्त्र र प्रमाणमा आधारित जानकारी प्राप्त गर्ने राष्ट्रसंघको क्षमता कमजोर हुने बताएको छ । अमेरिकी पक्षले यसबाट प्रतिबन्ध छल्ने गतिविधिको निगरानीमा कमी आउन सक्ने चेतावनी दिएको छ ।
इरानले भने रूस र चीनको कदमको स्वागत गरेको छ । इरानी पक्षले राष्ट्रसंघ सुरक्षा परिषद्लाई आफ्नो राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रयास रोकिएको दाबी गरेको छ ।
यस निर्णयसँगै इरानको आणविक कार्यक्रम, राष्ट्रसंघीय प्रतिबन्ध र त्यसको निगरानीलाई लिएर अमेरिका तथा उसका युरोपेली साझेदारहरू एकातिर र रूस–चीन अर्कोतिर रहेको मतभेद थप स्पष्ट भएको छ । राष्ट्रसंघको विशेषज्ञ समूहले प्रतिबन्ध कार्यान्वयनबारे सूचना संकलन, उल्लङ्घनको अध्ययन र सुरक्षा परिषद्लाई सुझाव दिने काम गर्दै आएको थियो ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कपाल मिलाउने र मेकअपमा सन् २०१९ देखि सन् २०२६ को अगस्टसम्म करिब ४ लाख ७० हजार अमेरिकी डलर अर्थात् करिब ७ करोड १७ लाख रुपैयाँ खर्च भएको सरकारी अभिलेखबाट खुलेको छ ।
सूचनाको हकअन्तर्गत सार्वजनिक गरिएको विवरणअनुसार उक्त खर्चको करिब ९० प्रतिशत प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनकी पत्नी सारासँग सम्बन्धित रहेको बताइएको छ । सन् २०२५ मा मात्रै यस्तो खर्च करिब १ लाख ११ हजार डलर पुगेको थियो ।
सन् २०२३ मा युद्ध सुरु हुँदासमेत कपाल र शृंगारमा करिब १ लाख ३ हजार डलर खर्च भएको थियो । नेतन्याहुको विदेश भ्रमणका क्रममा पनि यस्तो खर्च भएको अभिलेखमा उल्लेख छ ।
सरकारले भने प्रधानमन्त्रीका कपाल मिलाउने व्यक्ति र मेकअप गर्नेको नाम सार्वजनिक गरेको छैन । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै केही विवरण तथा कपडा, गहना र छवि परामर्शसम्बन्धी खर्चसमेत सार्वजनिक नगरिएको जनाइएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । फ्रान्सका प्रसिद्ध चित्रकार पियरे अगस्ट रेनोआरलाई समर्पित संग्रहालयबाट चारवटा कलाकृति चोरी भएका छन् । चोरीमा संलग्न दुई जनामध्ये एक जनाले भाग्ने क्रममा एउटा कलाकृति बाटोमै छाडेका थिए ।
दक्षिण फ्रान्सको काग्नेस सुर मेरस्थित रेनोआर संग्रहालयमा बिहान दुई जना व्यक्ति प्रवेश गरी चारवटा कलाकृति चोरी गरेको नगरप्रमुख ब्रायन मासोनले बताएका थिए । उनका अनुसार चोरी भएका कलाकृतिको अनुमानित मूल्य करिब ९० लाख युरो रहेको छ ।
संग्रहालयको सुरक्षा प्रणाली बिहान ५ बजेर ४८ मिनेटमा सक्रिय भएको थियो । त्यसको पाँच मिनेटपछि नै, बिहान ५ बजेर ५३ मिनेटमा नगर प्रहरी घटनास्थलमा पुगेका थिए ।
नगरका निगरानी क्यामेरामा चोरीमा संलग्न व्यक्तिहरू देखिएपछि प्रहरीले उनीहरूको पहिचान गर्ने प्रयास गरेको थियो । प्रहरी पछ्याउन थालेपछि उनीहरूले चोरी गरेका चारमध्ये एउटा कलाकृति छाडेर भागेका थिए ।
घटनापछि नगर प्रहरी र राष्ट्रिय प्रहरी दुवै परिचालन गरिएको छ । चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे अनुसन्धान जारी रहेको नगरप्रमुख मासोनले बताएका थिए ।
उनले रेनोआर संग्रहालयमा भएको चोरीलाई काग्नेस-सुर-मेरको इतिहास र सांस्कृतिक सम्पदामाथिको आक्रमणका रूपमा व्याख्या गरेका थिए । संग्रहालय र कलाकृतिको सुरक्षा तत्काल बलियो बनाउनुपर्ने आवश्यकता यस घटनाले थप स्पष्ट पारेको उनको भनाइ थियो ।
नगरप्रमुख मासोनले संग्रहालयहरूको सुरक्षा मजबुत बनाउने र कलाकृतिको संरक्षण गर्ने व्यापक योजना कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको बताएका थिए । उनले आगामी दिनमा सबै आवश्यक स्रोत परिचालन गरी काग्नेस-सुर-मेरका बासिन्दाको साझा सम्पदाको सुरक्षा गरिने बताएका थिए ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । पेरिसस्थित आइफिल टावरमा धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीलाई ड्युटीबाट हटाइएको आरोपपछि विवाद चर्किएको छ । करिब १०० सदस्यीय हिन्दू धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा केही महिला कर्मचारीलाई जिम्मेवारीबाट हटाएर पुरुष कर्मचारी खटाइएको आरोप लागेपछि आइफिल टावरका कर्मचारीले विरोध जनाएका थिए ।
विवादपछि आइफिल टावर सञ्चालन गर्ने कम्पनीले प्रतिनिधिमण्डलबाट महिला कर्मचारीसँग कम सम्पर्कमा रहने माग आएको स्वीकार गर्दै त्यस्तो सर्त स्वीकार गर्न नहुने बताएको छ । कर्मचारीहरूले व्यवस्थापनसँग माफी माग्दै घटनाको विस्तृत छानबिन गर्न माग गरेका छन् । कर्मचारीको बैठकका कारण सोमबार आइफिल टावर सर्वसाधारणका लागि खुल्न केही ढिलाइ भएको थियो ।
प्रतिनिधिमण्डलसँग सम्बन्धित बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस)ले भने आफ्नो भ्रमणका क्रममा कसैलाई पनि आइफिल टावर प्रवेश गर्न नरोकेको स्पष्ट पारेको छ । ठूलो प्रतिनिधिमण्डल भएकाले अन्य पर्यटकलाई कम असुविधा होस् भनेर आइफिल टावरको टोलीसँग समन्वय गरी बिहानको समयमा भ्रमण तय गरिएको र घटनाबाट कसैलाई दुःख पुगेको भए हृदयदेखि माफी माग्ने संस्थाले जनाएको छ ।
यसैबीच, पेरिसका मेयर इम्यानुएल ग्रेगोयरले घटनाका सबै तथ्य सार्वजनिक गर्न छानबिनको आदेश दिएका छन् । यो विवाद पेरिसनजिकै बीएपीएसको हिन्दू मन्दिर उद्घाटन भएको केही दिनपछि आएको हो । उद्घाटन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भर्चुअल रूपमा सहभागी भएका थिए । बीएपीएसले आपसी सम्मान र सेवा भावप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध जाडोयामसम्म जारी रहने सम्भावना रहेको बताएका छन् । अमेरिकी प्रतिनिधिसँग किभमा भएको वार्तापछि उनले युद्ध अन्त्यका लागि तत्काल कुनै ठोस सहमति नभएको बताएका थिए ।
अमेरिकी प्रतिनिधि स्टिभ विट्कफ र जारेड कुशनरसँगको वार्तालाई दुवै पक्षले सकारात्मक भने पनि युद्ध अन्त्य गर्ने विषयमा सफलता हासिल भएको घोषणा गरिएको छैन ।
जेलेन्स्कीले क्षेत्रीय विवाद समाधानका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता आवश्यक रहेको दोहोर्याएका छन् । रुसले युक्रेनका थप भूभाग कब्जा गर्ने लक्ष्य राखेको भन्दै किभले ती माग स्वीकार गर्न नसक्ने जनाएको छ । अमेरिकी प्रतिनिधिले दुवै पक्षले केही समझदारी गर्नुपर्ने बताएका छन् । अमेरिकी विशेष प्रतिनिधि विट्कफ र कुशनर किभ पुग्नु अघि मस्कोमा पुटिनसँग भेटवार्ता गरेका थिए ।एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०८ गते
काठमाडौँ । इरानको संसद्ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क लिने प्रस्ताव स्वीकृत गरेको छ । इरानको मेहर समाचार संस्थाका अनुसार होर्मुज हुँदै जान अनुमति पाउने देशका जहाजबाट समुद्री सेवा, सुरक्षा र बिमालगायत सुविधाबापत शुल्क लिइनेछ ।
शुल्कबापत वातावरणीय सेवा तथा विशेष परिस्थितिमा इन्धनसमेत उपलब्ध गराइने जनाइएको छ । शुल्क इरानी मुद्रा वा इरानले तोकेको अन्य मुद्रामा तिर्न सकिनेछ ।
यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले इरानविरुद्ध आर्थिक दबाब बढाउने अभियान निर्णायक चरणमा पुगेको बताएका छन् । अमेरिकाले इरानको आम्दानीका प्रमुख स्रोत बन्द गर्ने उद्देश्यले आफ्ना सबै सरकारी निकाय र अधिकार प्रयोग गर्ने उनको भनाइ छ ।
इरानले अमेरिकाको आर्थिक प्रतिबन्धमा साथ दिने खाडी देशहरूलाई पनि चेतावनी दिएको छ । इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसिन रेजाईले इरानमाथि प्रतिबन्ध लगाउन अमेरिकालाई सहयोग गर्ने देशलाई शत्रुका रूपमा व्यवहार गरिने बताएका छन् ।
यसैबीच इरानलाई मक्का रक्षा सम्झौतामा सहभागी हुन निमन्त्रणा आएको दाबी गरिएको छ । इरानी संसद्सँग सम्बन्धित मेहदी रहिमीले इरानले निमन्त्रणा पाएको र त्यसबारे विचार भइरहेको बताएका छन्। तर इरानको विदेश मन्त्रालय तथा सम्झौताका संस्थापक देश साउदी अरब, टर्की र पाकिस्तानले यसको आधिकारिक पुष्टि गरेका छैनन् ।
साउदी अरब, टर्की र पाकिस्तानले गत अगस्ट ७ गते मक्कामा पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमण मानिने व्यवस्था छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय होर्मुज जलडमरूमध्यलाई अमेरिकी क्षेत्रका रूपमा चित्रित गर्दै आएका छन् । अमेरिका र इरानबीच तनाव बढेपछि जलडमरूमध्यमा जहाज आवतजावतका लागि इरानतर्फको उत्तरी मार्ग र ओमानतर्फको दक्षिणी मार्गबारे विवाद बढेको छ ।
होर्मुज विश्वको महत्वपूर्ण तेल तथा समुद्री व्यापार मार्गमध्ये एक हो । यसको सुरक्षालाई लिएर अमेरिका र इरानबीच बढिरहेको तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत प्रभाव पार्न सक्ने चिन्ता बढेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले क्यानडामाथि लगाएको नयाँ आयात करलाई ‘ठूलो गलत आकलन’ भएको बताएका छन् । उनले नयाँ करको उद्देश्य क्यानडालाई कमजोर बनाउने र विभाजित गर्ने रहेको आरोप लगाएका छन् ।
अमेरिका र क्यानडाबीच व्यापारसम्बन्धी वार्ता असफल भएपछि शुक्रबार राति उनको यस्तो प्रतिक्रिया आएको हो ।
क्यानडाका नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्नीले अमेरिकाले अत्यधिक माग राखेको तर त्यसको बदलामा निकै कम दिन प्रस्ताव गरेको बताए । उनले अमेरिकाले क्यानडाबाट आयात हुने वस्तुमा ठूलो परिमाणमा नयाँ कर लगाएपछि क्यानडा व्यापार युद्धको अवस्थामा पुगेको बताए ।
कार्नीले क्यानडाले पनि आगामी सेप्टेम्बर ८ देखि अमेरिकाले लगाएको करको बराबर रकममा जवाफी कर लगाउने घोषणा गरेका छन् । त्यसमा इस्पात, दुग्धजन्य वस्तु, घरेलु उपकरण तथा विद्युतीय सामग्रीमा लगाइएको करसमेत समावेश हुने उनले बताए ।
व्यापार वार्ता असफल भएपछि लामो समयदेखि नजिकका सहयोगी रहेका अमेरिका र क्यानडाबीचको बलियो व्यापारिक सम्बन्धमा ठूलो धक्का पुगेको छ । अहिले विवाद समाधानको स्पष्ट बाटो देखिएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस विषयमा अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । यसै साता सुरुमा दुवै देशले व्यापार सम्झौता हुने अपेक्षा गरेका थिए । तर वार्ताका क्रममा अन्तिम समयमा एकअर्काले सर्त परिवर्तन गरेको आरोप लगाएपछि सहमतिको प्रयास विफल भएको हो ।
वार्ता असफल भएपछि अमेरिकाले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाएको छ। यो क्यानडाबाट आयात हुने इस्पात, आल्मुनियम, मोटरगाडी र काठका सामग्रीमा यसअघि नै लगाइएको अमेरिकी करभन्दा अतिरिक्त हो ।
यद्यपि, नयाँ करको दायरा सीमित रहेको बताइएको छ। यो क्यानडाबाट अमेरिका जाने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा लागू हुनेछ, जुन क्यानडाबाट अमेरिकामा हुने कुल आयातको करिब पाँच प्रतिशत हो ।
नयाँ करअन्तर्गत मदिरा, दुग्धजन्य वस्तु, सिमेन्ट, कपडा र हक्की खेलका सामग्रीलगायत वस्तु पर्नेछन् ।एभरेष्ट न्यूज एजेन्सी