शिवनाथ कुशवाहा,रौतहट, असार ५ — कटहरिया नगरपालिकामा ‘कुपोषण मुक्त मधेश प्रदेश अभियान’ अन्तर्गत पालिका स्तरीय अन्तरक्रिया तथा बहस पैरवी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शुक्रबार कटहरिया नगरपालिका–५ स्थित श्री जनता माध्यमिक विद्यालय, कटहरियामा आयोजना गरिएको हो।
मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय गौर, रौतहटको आयोजनामा सम्पन्न कार्यक्रममा कुपोषण न्यूनीकरण, बालबालिकाको स्वास्थ्य संरक्षण तथा पोषणयुक्त खानपानको महत्वबारे जन स्वास्थ्य कार्यालयका संयोजक सञ्जीव कुमार यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा वक्ताहरूले बालबालिकालाई कुपोषणबाट जोगाउन सन्तुलित र पोषणयुक्त आहारको आवश्यकता, नियमित स्वास्थ्य परीक्षण तथा अभिभावकको भूमिकाबारे प्रकाश पारे। उनीहरूले कुपोषणको प्रमुख कारणमध्ये कम उमेरमा हुने विवाह पनि एक रहेको उल्लेख गर्दै कानुनी उमेर नपुगी विवाह नगर्न तथा समाजमा बालविवाहका घटना भए सम्बन्धित निकायमा उजुरी गर्न कटहरिया नगरपालिका का स्वास्थ्य संयोजक दिनेश यादवले आग्रह गरे ।
सहभागीहरूलाई कुपोषणका कारण, असर तथा यसको रोकथामका उपायबारे जानकारी दिँदै स्वस्थ र समृद्ध समाज निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा पत्रकार आर.के. श्रीवास्तव, सागर संगम, रामअधार यादव, शिवनाथ कुशवाहा, रुपेश यादव, कृष्ण तिवारी लगायत बुद्धिजीवी, समाजसेवी, स्वास्थ्यकर्मी तथा स्थानीय भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार कुपोषणमुक्त मधेश प्रदेश निर्माण गर्ने लक्ष्यका साथ प्रदेशका विभिन्न स्थानीय तहमा यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। कार्यक्रमले समुदायस्तरमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्न तथा बालबालिकाको स्वास्थ्य सुधारमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।








