२०८३ बैशाख ५
२०८३ बैशाख ५

आरके श्रीवास्तव,रौतहट, असोज ९ गते ।

बडादशैंको चाैथाे दिन आज देशभर सर्वसाधारण आ–आफ्ना घर तथा मठ–मन्दिरहरूमा विशेष पूजा–पाठमा व्यस्त देखिएका छन् । रौतहट जिल्लाको कटहरिया, गरूडा, विजयपुर, मौलापुर लगायतका ठाउँहरूमा पनि धार्मिक आस्थाले ओतप्रोत वातावरण छाएको छ ।

स्थानीय मन्दिरहरूमा बिहानैदेखि सर्वमंगल मांगल्यकाे धुनले गुञ्जमान भएको छ । धार्मिक सङ्गीत, वैदिक मन्त्रोच्चारण र दुर्गा स्तोत्र पाठले सम्पूर्ण वातावरण भक्तिमय बनेको छ ।

विभिन्न चाैक,देवि शक्तिपिठमा दुर्गा भगवतीको विशेष पूजा, घटस्थापना र दुर्गा सप्तशती पाठको आयोजना गरिएको छ ।

गरूडामा रहेको प्रसिद्ध दुर्गा मन्दिरमा आज बिहानदेखि दर्शनार्थीहरूको भीड लागेको छ । मौलापुर र विजयपुरका मन्दिरहरूमा पनि विशेष सजावटसहित पूजा सम्पन्न गरिएको छ ।

दशैंको समयमा भीडभाडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ । नगरपालिकाहरूले सरसफाइ तथा सार्वजनिक स्थानहरूमा बत्तीको राम्रो व्यवस्था गरेका छन् ।

“दशैं हाम्रो चाड मात्र होइन, संस्कृति हो,” कटहरियाका एक स्थानीय बासिन्दाले भने, “हरेक वर्ष झैं यसपालि पनि हामी श्रद्धा र उल्लासका साथ पर्व मनाइरहेका छौं।”

काठमाण्डौं,असोज ८ –

हालैको ऐतिहासिक जेनजी आन्दोलनमा सहभागी युवाहरूको नेतृत्व र बलिदानलाई सम्मान गर्दै लोकतान्त्रिक विद्यार्थी संघ (लोवि संघ) ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई विस्तृत सुझाव पत्र बुझाएको छ ।

लोवि संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले हस्ताक्षर गरेको सो पत्रमा वर्तमान राजनीतिक अवस्था, भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रताको हनन र युवाहरूको भूमिकाबारे गहिरो चासो व्यक्त गरिएको छ ।

साथै, आन्दोलनमा शहीद भएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, केही अराजक घटनाप्रति खेद प्रकट गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल अध्यक्ष ठाकुरलाई १३ बुँदे सुझाव पत्र बुझाएको छ । पत्रमा भ्रष्टाचार, विभेद र कुशासनविरुद्ध उठेका आवाजलाई सम्मान गर्दै युवालाई निर्णय तहमा अग्रसर गरिनुपर्ने माग गरिएको छ ।

लोवि संघले पार्टीका सबै तहमा ६०% युवा सहभागिता, शिक्षा सुधार, महिला सशक्तीकरण र पारदर्शी शासनका लागि स्पष्ट नीति अवलम्बन गर्न आग्रह गरेको छ । अध्यक्ष रोशन कुमार मिश्रद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “अबको राजनीति भावना होइन, परिणाममा

आधारित हुनुपर्छ।” पत्रमा लेखिएको छ, “हामी दृढ विश्वास गर्छौं अबको राजनीति भावना होइन, काम र परिणाममा आधारित हुनेछ। स्वच्छ राजनीति र युवा नेतृत्वको सहकार्यबाट समृद्ध मधेश र समृद्ध नेपाल निर्माण हुनेछ।” युवा नेताको सचिवालयमा अनिवार्य नियुक्ति माग

अत्यन्त महत्त्वपूर्ण रूपमा, लोवि संघले लोसपाको सरकारमा सहभागिता भएमा विद्यार्थी संगठनबाट कम्तीमा १ जना युवालाई सचिवालयमा नियुक्त गर्न माग गरेको छ, जसले नीतिगत निर्णयमा योगदान दिन र निगरानी गर्न सकोस् ।

 काठमाण्डौ,०८ गते असोज । 

सरकारले अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ । सरकारले खर्च घटाउने योजना बनाउँदै मन्त्रिपरिषद् बैठकबाटै यो निर्णय गरेको हो । अर्थ मन्त्रालयका अनुसार तीन तहका सरकार, संस्थान, प्रतिष्ठान र निकायको खर्चमा अत्यावश्यक अवस्थामाबाहेक विदेश भ्रमणमा रोक लगाइएको छ ।

त्यस्तै, सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्रप्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा तीन जना मात्र सदस्य रहने भएका छन् । अत्यावश्यकबाहेकका तालिम, गोष्ठी तथा सेमिनार सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

त्यस्तै सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज भएको छ । मन्त्रीस्तरीय निर्णयमा यस्ता सुविधा खारेज गरेको अर्थ मन्त्रालयले जनाएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले भने स्वकीय सचिव राख्न पाउनेछन् ।

सभार उज्यालो अभियान

काठमाण्डौ,०८ गते असोज । 

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार दिउँसो अध्यादेश जारी गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले राष्ट्रपतिबाट मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए।

सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकेको छ। निर्वाचन तोकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था थियो त्यसैले अध्यादेश ल्याएर उक्त कानुन संशोधन गरिएको हो।

अध्यादेश जारी गर्नुअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग कुराकानी गरेकी थिइन्।

सभार सेतोपाटी

काठमाडौँ,०८ गते असोज । 

 

नेपाली कांग्रेसले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । यसका लागि वर्तमान मुख्यमन्त्री सतिश सिंहलाई दिएको समर्थन पार्टीले फिर्ता लिएको हाे ।

मधेश प्रदेश पार्टी संसदीय दलका नेता कृष्ण प्रसाद यादवले आजै समर्थन फिर्ता लिइएको जानकारी दिए। उनले अब कसरी अघी बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए।

“अहिले हामी छलफलमै छौँ । सरकारलाइ दिएको समर्थन फिर्ता लिएर सत्ताबाट बाहिरिएका छौँ‚” उनले भने।

सभार नेपालन्यूज

काठमाडौँ,०७ गते असोज ।

तुइन खोलामा ठूलो पहिरो खसेपछि नारायणघाट-मुग्लिन सडक आवागमन पूर्ण रूपमा बन्द भएको छ। सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार मंगलबार खसेको पहिरो शुक्रबारको भन्दा ठूलो छ। उक्त पहिरो पन्छाउन बुधबारसम्म लाग्ने अनुमान गरिएको छ।

‘आजैबाट पन्छाउने काम सुरु हुन्छ तर अँध्यारो भएपछि रोक्नुपर्छ। बुधबार बिहानैदेखि फेरि काम सुरु गरिन्छ,’ उनले भने।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी रवीन्द्र खनालका अनुसार सडक अवरुद्ध भएपछि दुबै तर्फका सवारीसाधन रोकिएका छन्। लगातार पहिरो खस्ने क्रम जारी भएकाले उनले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे।

सभार हिमाल प्रेस

७ असोज, काठमाडौं।

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन् ।

 

उक्त छलफलमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनको तयारीका सम्बन्धमा आयोगसँग परामर्श गरेकी हुन् ।

निर्वाचन आयोगले निकालेको विज्ञप्ति अनुसार छलफलमा प्रधानमन्त्री कार्कीले ‘प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको’ बताएकी छन् ।

साथै निर्वाचन सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने प्रतिवद्धता प्रधानमन्त्री कार्कीको छ ।

आयोगका अनुसार प्रधानमन्त्री कार्कीले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाउने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गर्ने भन्दै निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गरेकी छन् ।

छलफलमा निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू मौज्दातमा रहेको बताए। मौज्दातमा नभएका अन्य सामग्री समेत स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने उनको प्रतिवद्धता छ ।

सभार ओनलाईन खबर

काठमाण्डौ,०७ गते आसोज ।

जेन–जी आन्दोलनको क्रममा अराजक समूहले गरेको आगजनी र तोडफोडले क्षतिग्रस्त अवस्थामा रहेको भवनबाटै मधेशको प्रदेशसभा बैठक सुरु भएको छ । जेन–जीको आन्दोलनपछि पहिलोपटक मंगलबार प्रदेशसभाको बैठक बसेको हो ।

बैठकमा मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका सांसदहरू दुई कित्तामा बसेका छन् ।

 

पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई फिर्ता बोलाए पनि  उनले राजीनामा नदिने अडान लिएपछि केही सांसद सत्तापक्षमा बसेका छन् भने केही सांसद प्रतिपक्षमा बसेका छन् ।

जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो दलका मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाउने पत्र प्रदेश प्रमुखको कार्यालय तथा प्रदेशसभा सचिवालयमा दिएका थिए । तर मुख्यमन्त्री सिंहले राजीनामा दिन नमानेपछि जनमतका बाँकी प्रदेशसभा सदस्य प्रतिपक्षमा बसेका हुन् ।

बैठकमा मुख्यमन्त्री सिंहले वर्तमान अवस्थामा संविधान र संघीयताको रक्षाका लागि आफूले राजीनामा नदिएको बताए । पार्टीले राजीनामा मागे पनि  आफूले प्रदेशसभाबाट विश्वासको मतको सामना गर्ने उनले बताए ।

सभार शिलापत्र

काठमाडौं, ७ असाेज । 
आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । प्रभु साहको अध्यक्षतामा पुनर्गठन गरिएको केन्द्रीय कमिटीमा ३ सय ४८ सदस्यीय रहेको छ ।

१४ सदस्यीय केन्द्रीय कार्यालय, केन्द्रीय कार्यालय सदस्य सहित ८७ सदस्यीय केन्द्रीय सचिवालय सदस्य र २ सय ४७ सदस्यीय केन्द्रीय सदस्य रहेको छ । यस्तै बैकल्पिक १ सय १ जनालाई बैकल्पिक केन्द्रीय सदस्य राखिएको छ ।

प्रभु साह अध्यक्ष, तिलक थापामगर सहअध्यक्ष सहित कार्यालय सदस्यहरुमा रितादेवी साह, समिना हुसेन, बिल्टु यादव, अशोक कुमार लामा, त्रिभुवन साह, चन्द्रभुषण साह, धनकुमारी मगर, सुधिर यादव, सियाराम कुशवाहा, श्रीचन्द मुखिया, उमेश कुशवाहा, देवी पण्डित रेग्मी रहेका छन् ।

यसैगरी सचिवालय सदस्यहरुमा श्रीलाल महासेठ, रबिन्द्र प्रसाद सिंह, जुरीलाल मोची, धर्मेन्द्र पटेल, भोजराज त्रिपाठी, लालबाबु मन्सुरी, लखिन्द्र साह, उदयचन्द्र प्रसाद, नरेश तुरहा, श्रीभगवान पटेल, राधेश्याम साह, बिजय यादव, सुभाषप्रसाद साह, रामकेशव गुप्ता, ओमप्रकाश सिंह, ममता शर्मा, भोला पाण्डे, कुमारी बबिता, रञ्जुकुमारी साह, सञ्जय यादव, बबिता यादव, गितादेवी साह, ठागा दास, बालकृष्ण सापकोटा, उमाशंकर साह, उपेन्द्र साह, पासाङ तामाङ, सराज बछार, अञ्जित कुशवाहा, शिव थापा, शुभद्रा गुप्ता, अनिल झा, राजेश साह, सुरेश चौधरी रहेका छन् ।

यसैगरी सचिवालय सदस्यहरुमा मिन बहादुर खत्री, किशोरी साह, देवेन्द्र ठाकुर, रामनाथ माझी, रामबाबु कुशवाहा, राजकिशोर साह, विवेक साह, हेमप्रसाद साह, तेजनारायण चौधरी, बालाशंकर कुशवाहा, जयलाल महतो, विश्वराज पटेल, रविन्द्र यादव, भानु कोइराला, सुरेश साह, डा. नवलकिशोर साह, सिमा जैसवाल, बिजय साह, देवकुमारी साह, पप्पु साह, ब्रम्हा यादव, रामशरण यादव, रामकृत साह, अरबिन्द साह, गोपाल साह, बिरबल महतो, आर्या पाण्डे, हरि थापा, मिनादेवी साह, सन्तोष साह, प्रहलाद पौडेल, खगेन्द्र भण्डारी, कालबहादुर विक, राम बिष्ट, अमर योन्जन, एमडी सतार, शम्भु जयसवाल, बद्रि पासवान र चन्दन साह रहेका छन् ।

काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा भवनमा ४ असोजमा केन्द्रीय कमिटी र ५ असोजमा बसेको पदाधिकारी बैठकले गरेको केन्द्रीय कमिटी पुनर्गठन गर्ने निर्णय गरेको हो ।

 

काठमाडौं, ६ असोज । 
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले प्रदेशको नेतृत्व हेरफेर गर्दै व्यवस्था परिवर्तनका लागि जनदवाव सहित निर्वाचनमा सहभागि हुने निर्णय गरेको छ ।

काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा भवनमा ४ असोजमा केन्द्रीय कमिटी र ५ असोजमा बसेको पदाधिकारी बैठकले गरेको निर्णय आज (सोमबार) सार्वजनिक गर्दै आजपा प्रवक्ता चन्द्रभुषण साहले प्रदेशको नेतृत्व हेरफेर सहित व्यवस्था परिवर्तका लागि जनदवाद सहित निर्वाचनमा सहभागि हुने जनाएका छन् ।

बैठकले प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज एवं अध्यक्षको जिम्मेवारी हेरफेर गरेको छ । कोशी प्रदेशको इन्चार्जमा तिलक थापा मगर, सहइन्चार्जमा जुरीलाल मोची, अध्यक्षमा खगेन्द्र भण्डारी, मधेस प्रदेशको इन्चार्जमा त्रिभुवन साह, सहइन्चार्जमा श्रीचन मुखिया, अध्यक्षमा उमेश कुशवाहा, उपत्यका विशेष कमिटीको इन्चार्जमा चन्द्रभुषण साह, अध्यक्षमा देवी पण्डित रेग्मी रहेका छन् ।

यसैगरी, सुदुरपश्चिम प्रदेशको इन्चार्जमा सुमिना हुसेन, अध्यक्षमा राम विष्ट, बागमती प्रदेशको इन्चार्जमा धनकुमारी मगर, सहइन्चार्जमा देवी पण्डित रेग्मी र अध्यक्षमा पासाङ तामाङ, गण्डकी प्रदेशको इन्चार्जमा तिलक थापा मगर र अध्यक्षमा भोजराज त्रिपाठी, लुम्बिनी प्रदेशको इन्चार्जमा त्रिभुवन साह र अध्यक्ष बिजय यादव र कर्णाली प्रदेशको इन्चार्जमा समिना हुसेन तथा अध्यक्ष आशा संजेल रहेका छन् ।

आजपा प्रवक्ता साहले व्यवस्था परिवर्तनका लागि पार्टी छठपछि आन्दोलनमा उत्रिने निर्णय भएको जनाएका छन् । छठपछि व्यवस्था परिवर्तनका लागि आन्दोलनमा जाने निष्कर्ष बैठकले निकालेको छ । दशैं, दिपावली, छठ पर्वसम्म पार्टीको प्रदेश, जिल्ला, पालिका कमिटीको बैठक, भेला, कमिटी गठन, पुनर्गठन, शुभकामना अदानप्रदान लगायतका गतिविधि गर्ने र चाडपर्व सकिएपछि आन्दोलनमा उत्रिने निर्णय आजपाले गरेको हो ।

‘दशैं, दिपावली, छठपर्वसम्म हामीले शुभकामना कार्यक्रम सहित बिभिन्न कमिटीको बैठक, भेला, कमिटी गठन, पुनर्गठन गर्दै अगाडी बढनेछौं । केन्द्रीय कमिटी पुनर्गठन गरेका छौं, अब प्रदेश, जिल्ला कमिटीहरु पुनर्गठन गर्दै छठपर्वपछि हामी व्यवस्था परिवर्तनका लागि आन्दोलन सहित निर्वाचनमा सहभागि हुने निर्णय गरेका छौं,’ प्रवक्ता साहले जनाएका छन् ।

‘पार्टी केन्द्र, प्रदेश तथा जिल्ला कमिटीहरुलाई पूर्नगठन गर्दै सिस्टम सुधारका लागि जनदवाव अभियान सहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ,’ आजपाले निर्णय गरेको छ ।

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं, राष्ट्रिय स्वाधिनता बचाउन संघर्ष गरौं’ भन्ने मुल नारासहित बैठकमा अध्यक्ष प्रभु साहले पेश गरेका समसामयिक एवं राजनीतिक प्रतिवेदन बैठकले सर्वसम्मतीले पारित गरेको छ ।

‘हाम्रो आजपाद्वारा झण्डै दुइ वर्ष अगाड़ी दलाल दलतन्त्र विरुद्ध जारी तेस्रो जनआन्दोलनको जगमा हालै भएको जेन जी युवा पुस्ताको अगुवाईमा भएको जनविद्रोहले देशको संसद, सरकार र संविधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा फेरी उहीं तिरस्कृत नेताहरुको संयोजन एवं सहमतिमा केवल नेतृत्वको मुखौटा परिवर्तनमा सिमित गरिनु जेन जी आन्दोलनप्रतिको धोका एवं सडकमार्फत मुखारित ताजा जनादेश समेतको अपमान भएको ठहर सहित सिस्टम सुधारका लागि जनदबाब सहितको संघर्ष र बाँकी कार्यभार पुरा गर्न थप शशक्त रूपमा अघि बढ्ने निर्णय गरिएको छ,’ आजपाले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

यस्तै, संविधानमा तत्काल सुधार गर्नुपर्ने महत्वपूर्ण विषयवस्तुलाई समेटेर आजपाद्वारा तयार पारिएको १६ बुँदे प्रस्ताव जनताका बीचमा लैजाने निर्णय समेत बैठकले गरेको छ । आम जनताद्धारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था संविधानमा तत्काल सुधार गर्नुपर्ने लगायतका १६ मुद्धा आजपाले सार्वजनिक गरेको छ ।

‘गलत व्यवस्थाका कारण राष्ट्रिय स्वाधिनता, अर्थतन्त्र एवं जनताको वास्तविक लोकतन्त्र संकटमा पर्दै गएको सन्दर्भमा पार्टीद्वारा जारी जनसंघर्ष एवं तेस्रो जनआन्दोलनको मुद्दाहरुलाई थप शशक्त, प्रभावकारी बनाउने निर्णय समेत गरिएको छ,’ बैठक पश्चात जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैगरी बैठकले जेन–जी आन्दोलनको क्रममा भएको अबोध युवा विद्यार्थीको हत्या, ऐतिहासिक धरोहर, सम्पदा र सम्पतिहरूको तेडफोड, आगजनी एवं विध्वंशप्रति दुःख व्यक्त गर्दै यस अपराधमा संलग्न निवर्तमान सरकार, जिम्मेवार सुरक्षा निकाय र घटनामा प्रत्यक्ष संलग्न अपराधीहरुलाई तथ्य र प्रमाणका आधारमा दण्डित गर्नपर्ने माग गरेको छ ।

विचार र सिद्धान्त मिल्नेसंग एकताका लागि वार्ता समिति गठन
यसैगरी, आजपाले विचार र सिद्धान्त मिल्ने विभिन्न लोकप्रिय व्यक्ति, समुह, संगठन एवं पार्टीसंग एकता र सहकार्य गर्ने निर्णय गरेको छ । त्यसका लागि बैठकले सहअध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगरको नेतृत्वमा चन्द्रभुषण साह, सुभाष साह, बिजय यादव, राम विष्ट सदस्य रहने गरी वार्ता समिति गठन गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।