२०८३ बैशाख ४
२०८३ बैशाख ४

सुनसरी, कात्तिक १३ गते ।
लोकतान्त्रिक पत्रकार संघ, सुनसरी (कोशी प्रदेश) ले पत्रकार देवराजा यादवमाथि भएको आक्रमण प्रयासप्रति तीव्र निन्दा र आपत्ति जनाएको छ । संघले पत्रकारमाथि भएको आक्रमण प्रयासलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षामाथि गम्भीर चुनौतीको रूपमा व्याख्या गरेको छ ।

 

संघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, सुनसरीको कोशी गाउँपालिका–८ हरिपुर भाण्टाबारी निवासी पत्रकार देवराजा यादवमाथि बुधबार साँझ समाचार संकलनका क्रममा कोशी व्यारेजस्थित भन्सार कार्यालय अगाडि केही भन्सार एजेन्ट तथा व्यापारीहरुले आक्रमण प्रयास गरेका थिए ।

 

विज्ञप्तिमा उल्लेख गरिएको अनुसार, समिम शेख नामका व्यक्तिले पत्रकार यादवको माइक र बुम तोडफोड गर्दै शारीरिक आक्रमणको प्रयास गरेका थिए । पीडित पत्रकार यादवले घटनापछि आफ्नो सुरक्षाको माग गर्दै सम्बन्धित निकायलाई मौखिक जानकारी गराइसकेका छन् ।

 

घटनाबारे प्रतिक्रिया दिँदै सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले मौखिक जानकारी प्राप्त भएको र लिखित उजुरी आएपछि प्रहरीलाई छानबिन र कानुनी कारबाहीका लागि निर्देशन दिने बताएका छन् ।

संघका सुनसरी जिल्ला अध्यक्ष सितेश कुमार दासले पत्रकारमाथिको यस्तो आक्रमण प्रयास प्रेस स्वतन्त्रतामाथिको अतिक्रमण भएको बताउँदै दोषीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेका छन् । उनले राज्यका सुरक्षा निकाय र प्रशासनलाई घटनाप्रति गम्भीर ध्यान दिन आग्रह गर्दै, पत्रकार देवराजा यादवको सुरक्षाको पूर्ण जिम्मेवारी राज्यले लिनु पर्ने बताएका छन् ।

संघले विज्ञप्तिमार्फत पत्रकार यादवप्रति ऐक्यबद्धता जनाउँदै भविष्यमा यस्ता घटनाहरू नदोहर्याउन आवश्यक कानूनी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेको छ ।

 

 

काठमाडौं। सुनसरीस्थित काब्रा समूहले उत्पादन गरेको टप बिस्कुट कुहिएको अवस्थामा बजारमा बिक्री भइरहेको खुलासा भएपछि उपभोक्ता अधिकार र खाद्य सुरक्षाको गम्भीर प्रश्न उठेको छ। बजारमा सहज रूपमा उपलब्ध यो बिस्कुट खान खोज्दा कुहिएको भेटिएपछि उपभोक्ताहरू आक्रोशित बनेका छन्।

राम निवास काब्राको नेतृत्वमा सञ्चालित यस समूहले उत्पादन गरेको बिस्कुट अहिले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको पाइएको छ। तर काब्रालाई कहाँबाट फाइदा हुन्छ, कसरी फाइदा निकाल्न सकिन्छ भन्ने बाहेक अन्य चिन्ता उनलाई हुने अवस्था देखिँदैन। सामान्य जीवन स्तर भएका उपभोक्ताको स्वास्थ्यमाथि कस्तो असर पर्छ भन्ने विषयमा उनको चासो रहेको भए बजारमा कतिको निम्न गुणस्तरको उपभोग्य सामान गइरहेको छ भन्ने कुरामा पनि ध्यान पुग्ने थियो। तर यहाँ उनलाई पैसा कसरी बढी कमाउन सकिन्छ भन्ने मात्र चिन्ता छ, यसैले सायद यस्तो कुहिएको बिस्कुट बजारमा पठाउने गरिएको होला।

उपभोक्ता विकास श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै भने, पसलबाट किनेको बिस्कुटको प्याकेट खोल्दा पहिलो पिस नै गनाएको महसुस भयो। पूरा प्याकेट खोलेर हेर्दा बीचको भागमा रहेको बिस्कुट कुहिएको थियो। उनले थपे, पहिले सुनेको थिएँ, आज आफैंले भोगेँ। खान खोजेको बिस्कुट कुहिएको रहेछ, यो उपभोक्ताको स्वास्थ्यमाथि ठूलो खेलवाड हो।

भोक लागेको कारणले बिस्कुट खान खोज्दा यस्तो अवस्था देखेपछि श्रेष्ठले तत्काल फोटो खिची प्रमाणका रूपमा सुरक्षित राखेको बताए। उनको यो अनुभव एकल घटना मात्र होइन। स्थानीयहरूले यसअघि पनि काब्रा समूहका बिस्कुटमा यस्ता समस्या देखिएको बताउँदै आएका छन्। कुहिएको वा गुणस्तरहीन टप बिस्कुट बारम्बार बजारमा भेटिनु कम्पनीको उत्पादन प्रक्रिया र गुणस्तर नियन्त्रण व्यवस्थामा गम्भीर लापरबाही रहेको संकेत हो।

नेपालको सुनसरीस्थित कारखानाबाट उत्पादन हुने टप बिस्कुटको मूल्य दस रुपैयाँ तोकिएको छ। यसको सम्पर्क कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा रहे पनि उपभोक्ताको गुनासो सुन्ने र समाधान गर्ने कुनै प्रभावकारी संयन्त्र रहेको छैन। अझ भन्नुपर्दा, काब्रा समूहले राखेको टोल फ्री नम्बर समेत लाग्दैन। यसले मात्र पनि काब्राको लापरवाही कतिको रहेछ भन्ने कुरा बुझ्न धेरै गाह्रो छैन।

उपभोक्ताहरूले सो कम्पनीमाथि कडा कारबाहीको माग गरेका छन्। कुहिएको बिस्कुट बेचेर जनताको स्वास्थ्यसँग खेलवाड गर्ने कम्पनीलाई किन जोगाइन्छ? एक उपभोक्ताले प्रश्न गरे। उपभोक्ता संरक्षण ऐनअनुसार यस्तो कार्य सीधै दण्डनीय अपराध हो।

उपभोक्ता संरक्षण ऐन, २०७५ ले यस्ता अपराधमाथि कडा कानुनी सजायको व्यवस्था गरेको छ। ऐनको धारा ११ अनुसार गुणस्तरहीन, अमानक, म्याद गुज्रिएको वा स्वास्थ्यका लागि हानिकारक वस्तु उत्पादन, बिक्री वा वितरण गर्न पाइँदैन। यस्तो कार्य गर्ने व्यक्ति वा संस्थालाई उपभोक्ताको स्वास्थ्यमा हानि पुर्‍याएको ठहर गरिन्छ। त्यस्तै, धारा १२ मा यस्ता अपराधमा संलग्न व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने स्पष्ट उल्लेख छ। दोहोर्याएर यस्ता कार्य गर्ने व्यक्तिमाथि अझ कडा सजाय लागू गरिने व्यवस्था ऐनले गरेको छ।

उपभोक्ताको स्वास्थ्यमा असर पुगेको अवस्थामा धारा १३ बमोजिम सम्बन्धित कम्पनीले पीडित उपभोक्तालाई क्षतिपूर्ति तिर्ने कानुनी दायित्व राखिएको छ। तर कानुनी प्रावधान कागजमा मात्र सीमित देखिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि यस्ता घटनापछि सामान्य अनुगमन गर्ने परम्परा दोहोर्याउँदै आएको छ, तर कारबाही भने दुर्लभ हुने गरेको छ। चाडपर्वको मुखमा मात्रै सीमित अनुगमन र प्रेस नोट प्रकाशन गरेर जिम्मेवारी टार्ने प्रवृत्तिले बजारमा कुहिएका र म्याद गुज्रिएका वस्तु बिक्री खुलमखुला भइरहेका छन्। नियमित अनुगमन र गुण परीक्षणको अभावले यस्तो अवस्था बारम्बार दोहोरिँदै आएको छ।

यस्तो गम्भीर अवस्थामा नियमनकारी निकायको तत्काल र प्रभावकारी हस्तक्षेप आवश्यक देखिएको छ। केवल घटना भएपछि मात्र होइन, निवारक उपायहरू अपनाएर यस्ता घटना हुन नै नदिने प्रणाली विकास गर्नुपर्ने विज्ञहरू बताउँछन्। उत्पादन कम्पनीहरूमाथि कडा निगरानी, गुणस्तर परीक्षण अनिवार्य बनाउने र नियम उलङ्घन गर्नेहरूमाथि कडा कारबाही गर्ने व्यवस्था हुनुपर्छ।

उपभोक्ता अधिकारकर्मीहरूले उपभोक्ताहरूलाई पनि आफ्नो अधिकारप्रति सचेत हुन र यस्ता घटना भएमा सम्बन्धित निकायमा तुरुन्तै उजुरी गर्न आग्रह गरेका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सकिने उनीहरू बताउँछन्।

काब्रा समूहले आफ्नो उत्पादनको गुणस्तर सुधार गर्न तत्काल पहल गर्नुपर्छ। उत्पादन प्रक्रियामा कडाइ, गुणस्तर नियन्त्रण परीक्षण र उचित भण्डारण व्यवस्था सुनिश्चित गर्नुपर्छ। यदि कम्पनीले यी कुराहरूमा ध्यान नदिएमा यसले आफ्नो ब्राण्ड छवि मात्र नभई उपभोक्ताको विश्वास पनि गुमाउनेछ। अन्ततः व्यापार समाप्त हुने खतरा पनि रहन्छ।

यो घटनाले खाद्य सुरक्षा प्रणालीमा कत्तिको ठूलो खाडल रहेको देखाएको छ। सरकार, निजी क्षेत्र र उपभोक्ता सबैको जिम्मेवारीपूर्ण भूमिका बिना यो समस्याको समाधान सम्भव छैन। उपभोक्ताको स्वास्थ्य सुरक्षा सर्वोपरि हुनुपर्छ र यसमा कुनै सम्झौता हुनुहुँदैन भन्ने कुरा सबैले बुझ्नुपर्छ।

कम्पनीले उपभोक्तालाइ सहज सम्पर्क गर्ने व्यवस्था नगर्दा ऐनले के भन्छ  ?

उपभोक्ताको हित र अधिकार सुनिश्चित गर्न सरकारले लागू गरेको ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ ले प्रत्येक उत्पादन तथा सेवा प्रदायकलाई सम्पर्क नम्बर, ठेगाना वा गुनासो सुन्ने माध्यम अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ।

तर केही कम्पनीले आजसम्म पनि आफ्नो उत्पादनमा यस्तो विवरण समावेश नगरी उपभोक्तालाई सम्पर्कविहीन अवस्थामा छाड्ने गरेको पाइएको छ। यस्तो कार्य ऐन विपरीत मानिन्छ र त्यसमा कानुनी कारबाहीको व्यवस्था रहेको छ।

उपभोक्ता संरक्षण ऐनको धारा ३० र ३१ मा उल्लेख छ— वस्तु वा सेवा बिक्री वितरण गर्दा त्यससँग सम्बन्धित सम्पूर्ण विवरण स्पष्ट रूपमा जनाउनुपर्ने र उपभोक्तासँग सम्पर्क गर्न सक्ने माध्यम राख्नुपर्ने। यसलाई बेवास्ता गरेमा धारा ५३ अनुसार ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ।

यस्तै उपभोक्ताको स्वास्थ्य, सुरक्षा वा हितमा हानि पुर्‍याउने कार्य भएको ठहर भएमा सम्बन्धित कम्पनी वा व्यापारीलाई एक वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्था छ।

सरकारले उपभोक्ताको स्वास्थ्य,सुरक्षा र आर्थिक हितलाई केन्द्रमा राख्दै बजारमा पारदर्शिता कायम गर्नु जरूरी देखिएकाे छ।

जनकपुरधाम, कात्तिक १३ गते 

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलसँग नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पाैलिन सिनन नेतृत्वको टोलीले विहीवार जनकपुरधाममा शिष्टाचार भेटघाट गरेको छ ।

 


भेटका क्रममा मुख्यमन्त्री सोनलले प्रदेश सरकारको प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र रहेको उल्लेख गर्दै ती क्षेत्रको समृद्धिका लागि विकास साझेदारहरूको सहयोग अपरिहार्य हुनेमा जोड दिनुभयो । उहाँले प्रदेशको समग्र विकासका लागि बेलायती दूतावासजस्ता अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि बताउनुभयो ।

 


यस अवसरमा बेलायती टोलीकी प्रमुख सिननले प्रदेश सरकारका विकास प्रयासहरूमा सहकार्य र समर्थनका लागि दूतावास प्रतिबद्ध रहेको बताउँदै सम्भावित सहकार्यका क्षेत्रमा छलफल गर्न इच्छा व्यक्त गर्नुभयो ।
भेटघाटमा प्रदेश सरकारका उच्च अधिकारीहरू र बेलायती दूतावासका प्रतिनिधिहरूको समेत उपस्थिती रहेको थियो ।

राैतहट,कार्तिक १२ गते ।

रौतहटको कटहरिया नगरपालिकामा आजदेखि करार र ज्यालादारीका कर्मचारीहरूले तालाबन्दी गरेका छन् । नगरपालिका मातहतका वडा नं. १ देखि वडा नं. ९ सम्मका वडा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो तलबभत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्टि जनाउँदै सबै वडा कार्यालयमा तालाबन्दी गर्दै नगरपालिका कार्यालय समेत बन्द गरेका हुन् ।

कर्मचारीहरूले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले विगत असोज २१ गतेदेखि २७ गतेसम्मको आन्दोलनका क्रममा दिपावली र छठ पर्व अगावै बाँकी तलबभत्ता भुक्तानी गर्ने लिखित आश्वासन दिएको भए पनि त्यो कार्यान्वयन नहुँदा पुनः आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

कर्मचारीहरूले २०८२ कार्तिक १२ गते बसेको बैठकले शान्तिपूर्ण रूपमा तालाबन्दी गर्दै “धारणा कार्यक्रम” अगाडि बढाउने निर्णय गरेको हो । उनीहरूले ज्ञापनपत्र मार्फत कटहरिया नगरपालिकाका कार्यालय प्रमुखलाई यो बारे औपचारिक जानकारी दिएका छन् ।

उनीहरूले बोधार्थका लागि जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला समन्वय समिति रौतहट, र वडा नं. १ देखि ९ का वडा कार्यालयहरूमा पनि ज्ञापनपत्र पठाएका छन् ।

कर्मचारीहरूले भनेका छन्, “हामीले लामो समयदेखि नगरपालिकाको सेवा सुम्पिँदै आएका छौं, तर तलबभत्ता नपाउँदा दैनिक जीवन प्रभावित भएको छ। जबसम्म बक्यौता रकम भुक्तानी हुँदैन, हामी शान्तिपूर्ण आन्दोलन जारी राख्नेछौं।”

यसबारे नगरपालिकाका जिम्मेवार अधिकारीहरूले भने औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

आरके श्रीवास्तव,राैतहट,असाेज २१ गते ।
अबिरल वर्षाका कारण रौतहट जिल्लाका विभिन्न स्थानहरूमा नदी, खोला र नालाहरूमा पानीको प्रवाह कायमै छ । डुबानका कारण जनधनको क्षति समेत भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय, रौतहटले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रहरी कार्यालयको सूचना सम्प्रेषण शाखाले असोज २० गते एक सार्वजनिक अनुरोध जारी गर्दै आम जनसमुदायलाई नदि, खोला तथा डुबान सम्भावित स्थानहरूमा जानबाट रोक्न आग्रह गरेको छ । बालबालिका, वृद्धवृद्धा लगायत जोकोही व्यक्तिलाई माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्यका लागि पानीको छेउमा जान दिनु घातक हुनसक्ने भन्दै विशेष सतर्कता अपनाउन भनिएको छ ।
प्रहरीको सूचनामा भनिएको छ, “अबिरल वर्षाको कारणले खानेपानीको मुहान समेत दुषित हुनसक्ने देखिन्छ। सरसफाइको उचित ध्यान नदिए हैजा, झाडापखाला लगायतका रोगहरू फैलिन सक्ने सम्भावना उच्च छ।”
प्रहरी कार्यालयले देवाही गोनाही, राजपुर लगायतका क्षेत्रमा दुर्घटना भइसकेको समेत जनाउँदै जनस्वास्थ्य र सुरक्षाका लागि सजग रहन आह्वान गरेको छ । साथै, यस संकटको बेला धैर्यता र संयमता अपनाउन सम्पूर्ण जनसमुदायमा अपिल गरिएको छ ।
यसबाहेक, जिल्लाबासीलाई यथासक्य घरमै बस्न र सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिएको छ। संचारकर्मीहरूलाई यस जानकारीलाई विभिन्न माध्यमबाट प्रचार-प्रसार गरी आमजनसमुदायमा सूचना पुर्याउन समेत विशेष अनुरोध गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,असाेज २१ गते । 

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूले लामो समयदेखि तलब भत्ता नपाएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।

 

नगरपालिकाको वडा नं. १ देखि ९ सम्म कार्यरत करार र ज्यालादारी कर्मचारीहरूले कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बक्यौता तलब तथा सेवा सुविधा तुरुन्त भुक्तानी गर्न माग गरेका छन् ।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार कर्मचारीहरूले पटक–पटक मौखिक रूपमा तलब भुक्तानीको माग गरे तापनि नगरपालिकाले आश्वासन मात्र दिँदै आएको र समस्याको समाधान नभएको गुनासो गरेका छन् ।

 

उनीहरूले मिति २०८२ असोज २० गते बसेको बैठकको निर्णय पनि पेश गर्दै अब आफूहरू बाध्य भएर आन्दोलनमा जानु परेको बताएका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत शान्तिपूर्ण धारणा र वडा तथा नगरपालिका कार्यालय बन्द गरिने उल्लेख गरिएको छ ।

 

यसैबीच, कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनरेश यादवले कार्यालय प्रमुख गणेश नेपाली विदामा रहेकोले आगामी आइतबार कार्यालय खुलेपछि यस विषयमा निर्णय लिने प्रतिक्रिया दिएका छन् । यादवले आफू तलब भुक्तानीको पक्षमा रहेको स्पष्ट पार्दै, करार तथा ज्यालादारी कर्मचारीहरूको समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन् ।

 

ज्ञापनपत्र बुझाउनेहरूमा करार कर्मचारी मुकेश कुशवाहा,मुकुन्द यादव सहित तीन दर्जनभन्दा बढी कर्मचारीहरू सहभागी थिए ।

 

तलब भत्ता बक्यौताको विषयले स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको ध्यान खिच्ने अपेक्षा गरिएको छ । यदि शीघ्र समाधान नभए थप आन्दोलन चर्किने संकेत कर्मचारीहरूले दिएका छन् ।

आरके श्रीवास्तव,राैतहट,असाेज २० गते । 

अविरल वर्षाका कारण मौलापुर, सोनारनिया हुँदै हरनहिया–कलैया जोड्ने प्रमुख सडक खण्ड बगिएको छ । भारी वर्षासँगै आएको बाढीले कालोपत्रे सडक पूर्ण रूपमा बगाएपछि सो सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

 

स्थानीय बासिन्दा रूपेश श्रीवास्तवका अनुसार, जयनगरदेखि मौलापुर हुँदै कलैयासम्मको यात्रा गर्ने यो सडक खण्ड अत्यधिक व्यस्त मानिन्छ । तर सडक बगिएपछि यात्रु र सवारी चालकहरू विचलित भएका छन् । सडक बग्ने क्रममा कालोपत्रे भाग च्यातिएर बगिरहेको दृश्य स्थानीयहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन् ।

सडक अवरुद्ध भएपछि यात्रुहरूलाई वैकल्पिक मार्गको खोजीमा पर्नु परेको छ । यसै सन्दर्भमा, बानका मधेस प्रदेश संयोजक तथा स्थानीय पत्रकार आर.सी. यादवले जनतालाई सोनारनिया हुँदै सागैया–पिपरिया मार्ग भएर हुलाकी सडक प्रयोग गर्न सुझाव दिएका छन् ।

 

प्राकृतिक विपत्तिका कारण यातायात प्रभावित हुँदा स्थानीय जनजीवन प्रभावित भएको छ । सम्बन्धित निकायले यथाशीघ्र सडक मर्मत तथा वैकल्पिक व्यवस्थाको पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।

ओम प्रकाश यादव,राैतहट,असाेज १९ गते । 

सधै जनताको बीचमा रहने पूर्व राज्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले आज दिनभरी बाढीको चपेटामा परेका जनताको उद्धार कार्यदेखी लिएर अन्य सहयोग गरेका छन् ।
अविरल वर्षापछि बागमति नदीमा आएको बाढीको पानी गाउँबस्तीमा पसेर क्षति पुरयाउन थालेपछि नेता यादव तत्काल आफना दर्जनौ कार्यकर्ता लिएर रौतहटको बाढी प्रभावित विभिन्न गाउँबस्तीहरुमा पुगेका थिए ।
वर्षापछि आएको बाढीमा स्थानीयहरु फसेको, बाढीले स्थानीहरुलाई बिजोग बनाएको र बागमति बाँध कटानको उच्च जोखिखमा परेको खबर पाउनासाथ नेता योगेन्द्र यादवले रौतहटका सुरक्षा निकायका प्रमुखहरुको टोली लिएर आज विहानै बाढी प्रभावित क्षेत्रमा पुगेका थिए ।
पूर्व मन्त्री योगेन्द्र यादव सहित रौतहटका प्रमुख जिल्ला अधिकारी सिडिओ विनोद कुमार खड्का, नेपाल प्रहरी उपरीक्षक एसपी नेत्रमणी गिरी, सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी सहितका सुरक्षा निकायका टोली बाढी प्रभावित जिल्लाको दुर्गाभगवती गाउँपालिकाको बडहर्वा, राजदेवी नगरपालिकाको चण्डिया, बसतपुर लगाएतका गाउँमा स्थलगत निरीक्षण गरेका थिए ।

 


नेता यादव र सुरक्षा निकायका टोलीहरु पुग्दा तत्काल भत्किने अवस्थामा पुगेको बागमति नदीको बाँध मर्मत सम्भारदेखी लिएर बाढीमा फसेर उद्धारको पर्खाइमा रहेका नागरिकको उद्धार कार्य भएको थियो ।
बाँध नियन्त्रणको काम भएपछि तत्काल बाँध कटानको समस्या टरेको बुझिएको छ । समयमै बाँध मर्मत कार्य नहुँदा बाँध भत्केर बागमतिको बाढी गाउँबस्तीमा पसेर ठुलो जनधनको क्षति पुरयाउन सक्थ्यो तर जसपा नेपालका नेता योगेन्द्र यादवको पहलमा समयमै सुरक्षा निकायका प्रमुखहरु घटनास्थल पुगेर निरीक्षण गर्दा ठुलो मानवीय र भौतिक क्षति हुनबाट जोगिएको छ ।
पूर्व मन्त्री समेत रहेका नेता यादवले बागमति नदीको छेउमा रहेको बडहर्वा, चण्डिया, बसतपुर लगाएतका गाउँमा बाढीको चपेटामा फसेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम गरेका थिए । त्यस्तै उक्त ठाउँहरुमा हुँदै गरेको बाँध कटानलाई रोक्ने प्रयास समेत उनले गरे जसका कारण जनधनको क्षति हुन पाएन ।
विपद्का बेला समस्यामा परेका नागरिकलाई सहयोग गर्नु नै ठुलो मानवता र धर्म रहेको भन्दै उनले आफुले जहिले पनि जनतालाई कुनै किसिमको आपद विपद् परेका बेला तृरुन्त पुग्ने गरेको तथा सहयोग गर्ने गरेको बताए ।
योगेन्द्र राय यादव जनताको बीचमा सबभन्दा बढी रहने र जनतालाई हरेक प्रकारको सहयोग गर्नेदेखी लिएर जनताको काम लगनशील भएर गर्ने नेताको रुपमा चिनिन्छ । त्यस कारण जनतामा उनी निकै लोकप्रिय र चर्चित छन ।
अरु नेताहरु बाढीको रमिता हेर्न आज दिनभरी व्यस्त रहेका थिए तर योगेन्द्र राय यादव बाढीको चपेटामा परेका नागरिकको उद्धारमा आफै खटेको देखिएको थियो ।

आरके श्रीवास्तव,राैतहट,असाेज १८ गते । 

रौतहटको कटहरिया र सन्तपुरलाई जोड्ने मुख्य सडक खण्ड पुनः एकपटक अवरुद्ध बनेको छ । लाल बकैया पुलभन्दा अगाडि बाँधको छेउमा निर्माण गरिएको कजवे भएर बाढीको पानी बग्न थालेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।

 

सडक डिभिजन चन्द्रनिगाहपुरले पुलको सट्टा कजवे निर्माण गर्दै आएको छ । स्थानीयवासीका अनुसार हरेक वर्ष बर्खायाममा बाढी आउँदा यो कजवे भएर पानी बग्ने समस्या दोहोरिरहन्छ । गत वर्ष पनि सोही स्थानमा निर्माण कजवे निर्माण गरिएको थियो । यद्यपि सम्बन्धित निकायले स्थायी समाधानका लागि कुनै पहल नगरेको स्थानीयको गुनासो छ ।

 

“हामीले वर्षौंदेखि पुल निर्माणको माग गर्दै आएका छौं,” कटहरियाका एक स्थानीय बासिन्दाले भने, “तर सधैं कजवे बनाएर समय कटाइन्छ । हरेक बर्खामा बाटो अबरुद्ध हुँदा विद्यालय, अस्पताल र बजार जानै समस्या हुन्छ।”

 

बाढीका कारण सवारीसाधन आवतजावत ठप्प भएको छ भने सर्वसाधारणलाई हिडेर यात्रा गर्नसमेत मुस्किल परेको छ । विद्यालय जाने विद्यार्थी, बिरामी बोकेका एम्बुलेन्स तथा दैनिक उपभोग्य सामान बोकेका सवारी साधन बाटैमा रोकिएका छन् । लामाेदूरीकाे अर्काे बाटाे प्रयाेग गर्न बाध्य छन् ।

 

यस सडक खण्डको महत्वपूर्णताका बावजुद हरेक वर्ष यस्ताे संरचनामा मात्र भर पर्ने सरकारी नीति प्रति स्थानीय आक्रोशित छन् । उनीहरूले स्थायी पुल निर्माणको माग गर्दै चाँडै समाधान नभए विरोध कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन् ।

काठमाण्डाै, १८ असोज — देशभर विभिन्न स्थानहरूमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित बनिरहेका बेला लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले संगठनका सबै सदस्यहरूलाई जहाँ भए पनि सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ ।

 

अध्यक्ष वर्माले यो घडीलाई “आफतको समय” भन्दै सबै पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई मानवीय भावनाका साथ पीडितहरूलाई सहयोग गर्न अनुरोध गर्नुभएको हो । उहाँले भन्नुभयो, “यस्तो संकटमा सबैले जहाँबाट जसरी सकिन्छ, त्यहीँबाट सहयोग गर्नुपर्छ।”

 

देशका विभिन्न भागहरूमा पहिरो जाँदा घर, बाटो क्षतिग्रस्त भएका छन् भने केही स्थानमा बाढी पस्दा मानिसहरू विस्थापित भएका छन् । कतिपय क्षेत्र डुबानमा परेका छन् जसका कारण जनजीवन अस्तव्यस्त भएको छ । नेपाल सरकारले आईतवार र साेमवार सार्वजनिक विदा समेत दिएको छ ।

 

संघले आपतकालीन सूचना संकलन, सत्य तथ्यमा आधारित समाचार प्रकाशन, र पीडित क्षेत्रमा आवश्यक जानकारी प्रवाहमा पत्रकारहरूलाई सक्रिय रहन आग्रह गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।