स्थानीय समुदायसँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यसहित बज्जिकाञ्चल एफएम ८९.२ मेगाहर्जले सञ्चालन गर्दै आएको ‘क्यूरी स्वाद संवाद’ कार्यक्रम बाराको कोल्हवी नगरपालिकाको कोल्हवी स्थित बजारमा सम्पन्न भएको छ।शुक्रवार कोल्हवीको तरकारी बजारमा भएको कार्यक्रममा स्थानीय श्रोताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कटहरियाबाट प्रसारण हुँदै आएको बज्जिकाञ्चल एफएमले आफ्नो प्रसारणलाई स्टुडियोमा मात्र सीमित नराखी गाउँ, टोल तथा बजारसम्म विस्तार गर्ने अभियानअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो।

क्यूरी मसालाको प्रायोजन र कटहरिया स्थित निराला जेनरल स्टोरको सहकार्यमा हरेक शुक्रबार दिउँसो ३ः१५ देखि ४ बजेसम्म कार्यक्रम प्रसारण हुँदै आएको छ।
कार्यक्रमका प्रस्तोता राजेश निर्माणीले स्थानीय श्रोताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै दैनिक भान्सामा प्रयोग हुने सामग्री, खाना पकाउने तरिका तथा क्यूरी मसालासम्बन्धी विभिन्न प्रश्न सोधेका थिए।

प्रश्नको सही उत्तर दिने सहभागीलाई क्यूरी मसालाका तर्फबाट तत्काल पुरस्कारसमेत प्रदान गरिएको थियो। मनोरञ्जनका माध्यमबाट उपयोगी जानकारी प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रम सञ्चालनमा बज्जिकाञ्चल एफएमका सञ्चालक आरके श्रीवास्तव, स्टेशन म्यानेजर सागर संगम ठाकुर, सम्पादक रामअधार यादव तथा प्राविधिक चन्दन यादव लगायतका टोली सदस्यले सहयोग गरेका थिए।

‘क्यूरी स्वाद संवाद’ कार्यक्रममा मुर्की पलियाका संदिप पंडित,धरिक्षण पंडित,राकेश कुमार पंडित ,कोल्हवीका धर्मेन्द्र चौधरी ,कटहरियाका मोतिलाल साह,शिवशंकर साह ,अमवाटोनवाका गुडु धनकार,राजन धनकार,रमपुर्वाका सुगान्धी चौधरी दुधिअवाका रामबाबु साह,हिमालीवासका रामसुरत कुशवाहा र सिघासनी बैरियाका बासदेव पटेल लगाएतका स्थानीय श्रोताले कार्यक्रममा सहभागिता जनाएर क्युरी मसाल पुरस्कार जितेको थियो ।

बज्जिकाञ्चल मिडिया प्रा.लि. तथा बज्जिकाञ्चल एफएमका सञ्चालक आरके श्रीवास्तवले रेडियोको भूमिका समाचार तथा मनोरञ्जन प्रसारणमा मात्र सीमित नभई जनताको आवाज सुन्ने र उनीहरूका समस्या, अनुभव तथा विचारलाई प्राथमिकता दिनेसमेत रहेको बताउनुभयो।

स्थानीय नागरिकसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले एफएमले समुदायकेन्द्रित कार्यक्रमलाई निरन्तरता दिएको उहाँको भनाइ थियो।उहाँले यसअघि प्रेमपुर गोनाही बजारमा समेत यस्तै कार्यक्रम आयोजना गरी बज्जिकाञ्चल एफएमबाट प्रत्यक्ष प्रसारण गरिएको जानकारी दिनुभयो।

एफएमकी प्रबन्ध निर्देशक सरिता कुमारी श्रीवास्तवले सञ्चारमाध्यमको वास्तविक प्रभाव जनतासँगको निकट सम्बन्धमा निर्भर रहने उल्लेख गर्दै श्रोताहरूलाई उनीहरूकै गाउँ–टोलमा पुगेर कार्यक्रमसँग जोड्ने प्रयास भइरहेको बताउनुभयो।त्यस्तै, क्यूरी मसालाका बिजनेस पार्टनर तथा निराला जेनरल स्टोर कटहरियाका सञ्चालक महाशक्ति निरालाले स्थानीय उपभोक्ता र श्रोतासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो।

क्यूरी मसालाको गुणस्तर र प्रयोगबारे उपभोक्तालाई जानकारी गराउनुका साथै मनोरञ्जनात्मक गतिविधिमार्फत स्थानीय समुदायसँग आत्मीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले एफएमसँग सहकार्य गरिएको उहाँले स्पष्ट पार्नुभयो।

स्थानीय श्रोतासँग प्रत्यक्ष संवाद, प्रश्नोत्तर र पुरस्कार वितरणलाई समेटिएको ‘क्यूरी स्वाद संवाद’ कार्यक्रमले रेडियो र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।बज्जिकाञ्चल एफएमले आगामी दिनमा पनि विभिन्न स्थानमा पुगेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।












