आरके श्रीवास्तव,राैतहट,११ गते माघ ।
रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रतिनिधिसभा क्षेत्र नं. ०३ को क्षेत्रीय भेला आज भव्य रूपमा सम्पन्न भएको छ । भेला जसपा नेपालका प्रतिनिधिसभा क्षेत्र नं. ०३ का उम्मेदवार गोविन्द चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त भेलाबाट राम प्रवेश दासको संयोजकत्वमा ४४ सदस्यीय क्षेत्रीय जननिर्वाचन परिचालन समिति गठन गरिएको छ । नवगठित समितिमा विभिन्न तहका सक्रिय नेता–कार्यकर्ताहरूलाई समेटिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गोविन्द चौधरीले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका लागि जसपा नेपालको एजेन्डा स्पष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो,
“छाता चिन्ह आम जनता, किसान, मजदुर, दलित, पिछडिएका वर्ग र उत्पीडित समुदायको आवाज हो । हामी जनताको हकअधिकार सुनिश्चित गर्न संगठित भएर अगाडि बढ्नुपर्ने बेला आएको छ।”
उहाँले आगामी निर्वाचनमा संगठनलाई अझ मजबुत बनाउँदै घर–घरमा जसपा नेपालको नीति र कार्यक्रम पुर्याउन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । साथै, गठित जननिर्वाचन परिचालन समितिले पार्टीलाई विजयतर्फ लैजानेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
आरके श्रीवास्तव,रौतहट,११ गते माघ ।
कटहरिया । जनमत पार्टीको तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि प्रवेज आलमले उम्मेदवारी दिएका छन् । उनले आफ्नो उम्मेदवारीलाई जेन–जी आन्दोलनको देन भएको बताउँदै देशमा युवामाथि भइरहेको उपेक्षाविरुद्ध चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
उम्मेदवार आलमले देशमा युवाका लागि न रोजगारीको व्यवस्था भएको न त स्पष्ट नीति नै रहेको आरोप लगाए । “युवालाई सधैं आश्वासन मात्र दिइयो, त्यसै कारण आज युवाहरू विदेश जान बाध्य छन्,” उनले भने ।
कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुर निवासी प्रवेज आलम आफू यही क्षेत्रको स्थायी बासिन्दा भएको उल्लेख गर्दै स्थानीय समस्यालाई नजिकबाट बुझेको दाबी गर्छन् । उनका अनुसार युवाको रोजगारी, शिक्षा र स्वास्थ्य उनका प्रमुख चुनावी एजेन्डा हुन् ।

“म नेता भएर भाषण गर्ने होइन, सामान्य नागरिकको छोरा बनेर काम गर्न चाहन्छु,” आलमले बताए । विगत ७ वर्षदेखि समाजसेवामा सक्रिय रहँदै आएको र कोरोना महामारीको समयमा राहत सामग्री वितरण लगायतका काम गरेको उनले जानकारी दिए ।
उनले जनतासँग जनमत पार्टीको चुनाव चिन्ह हर्न छापमा मतदान गरी सहयोग गर्न अपिल गर्दै विशेषगरी युवालाई विश्वास गर्न आग्रह गरेका छन् । “नेता बदलौँ, बदलाव ल्याऔँ । जनताले चाहे अवस्था बदलिन सक्छ,” उनको भनाइ छ ।