काठमाडौं, १२ भदौ ।
मन्त्रिपरिषदको बैठक जारी रहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो।
बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ। हरेक मंगलबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ।
सिन्धुली, १२ भदौ ।
बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाँखर्कबाट मगंलवार २० किलोग्राम अवैध चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी गढीबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको कारकोमा लुकाई छिपाई राखेको २० किलोग्राम अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको हो।
बरामद गरिएको चाँदीको हालको मूल्य २४ लाख ६१ हजार ७६० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका– ५ बस्ने रोहीत कुमार यादव र सप्तरीको राजविराज नगरपालिका –८ घरभई विराटनगर महानगरपालिका– ४ बस्ने ३७ बर्षका शेचन मानन्धर रहेका छन्।
नियन्त्रणमा लिएको चाँदी थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए।
झापा, १२ भदौ ।
बिर्तामोडमा माछा मार्नेक्रममा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर नजिकैको पानी जमेको पैनीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए।
मंगलबार बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्न गएका थिए। माछा मार्ने क्रममा पैनीमा डुबेर घाइते भएका उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो।
हस्दाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दार्चुला, १२ भदौ ।
भिरबाट खसेको ढुंगा लागेर दार्चुलामा एक महिला गम्भीर घाइते भएकी छन्।
जिल्लाको नौगाड गाउँपालिका–५ भीडकी ३५ बर्षीया पुतली धामी ढुंगा लागेर घाइते भएकी हुन्। मंगलबार बिहान घाँस काटेर घर फर्कने समयमा भिरबाट खसेको ढुंगा लागेर उनी घाइते भएकी हुन्।
गम्भिर घाइते धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुगाइको स्थानीय श्याम धामीले बताए।
पोखरा, १२ भदौ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले तीजलाई लक्ष्य गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न आग्रह गरेको छ। मंगलबार सूचना जारी गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले तीजमा परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्वर्द्धन गर्ने बाहेकका कार्यक्रम नगर्न आग्रह गरेका हुन्।
हिन्दू महिलाको पर्व हरितालिका तीज यो वर्ष असोज १ गते परेको छ। तीज आउनु एक, डेढ महिनाअघि नै दरका नाममा भोजभतेर हुने गरेका छन्।
सूचना विपरीत गरे-गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
काठमाडौं, १२ भदौ ।
कोशी प्रदेश सभाका पूर्व सदस्य मोहम्मद ताहिर हुसेनको निधन भएको छ।
२०७४ देखि ७९ सम्मको प्रदेशसभाको पहिलो कार्यकालमा हुसेन प्रदेशसभा सदस्य थिए।
गुल्मी, १२ भदौ ।
बालिकाको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट भएपछि गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ।

मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि एक समूहले अस्पताल प्रमुख डा. राजेन्द्र जिसीमाथि कुटपिट गरेको थियो। बिरामीका आफन्तले उपचारमा लापरबाही भएको प्रदर्शन गर्दै चिकित्सकमाथि कुटपिट गरेका हुन्।
बिरामीको जीवनरक्षाका लागि २४सै घण्टा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्नुको साटो अपमानजनक व्यवहार स्वासथ्यकर्मीको आरोप छ।
‘यस्ता किसिमका गतिविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी असुरक्षित भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण नभएकाले दोषीलाई कारबाही तथा सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मको लागि अति आवश्यक (आकस्मिक) बाहेकका अन्य सेवा बन्द गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदै यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अस्पतालका सम्पूर्ण कर्मचारी क्षमाप्रार्थी छौं,’ अस्पतालका कर्मचारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
काठमाडौं, १२ भदौ ।
अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेतृत्वको टोली काठमाडौंमा आइपुगेको छ।
नेपालले एमसीसी कार्यान्वयनको थालनी गर्ने तयारी गरेसँगै अमेरिकाबाट उच्चस्तरीय टोली नेपाल आएको हो। एमसीसी यही महिनाबाट कार्यान्वयन गर्ने तयारी सुरु भएसँगै कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ।
त्यसका लागि अमेरिकी उच्च अधिकारी नेपाल भ्रमणमा आएका हुन्। एमसीसी प्रमुख अलफोर्डको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।
नेपाल र अमेरिकाबीच पाँच वर्षअघि एमसीसी कम्प्याक्टको एमओयू हस्ताक्षर भएको थियो। एमसीसी नेपाली संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जान लागेको छ।
धनगढी, १२ भदौ ।
कैलालीकी एक महिलामा हैजाको संक्रमण फेला परेको छ।
भदौ १० गते सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा परीक्षण गर्दा एक महिलामा हैजाको संक्रमण देखा परेको हो।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजविक्रम शाहीका अनुसार गौरीगङ्गा नगरपालिका–११ मसुरियाकी ३३ वर्षीया महिलामा हैजाको संक्रमण देखिएको हो। ती महिला भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी बताइएको छ।
काठमाडौ, १२ भदौ ।
सन नेपाल लाइफ इन्स्याेरेन्सको आईपीओ भदौ १५ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङका अनुसार १५ भदौ शुक्रबार बिहान ८ बजे आईपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । यता, सन नेपाल लाइफको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २.३२ गुणा बढी आवेदन परेको छ ।
यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १५ लाख ७७ हजार ७४४ जनाले कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ७ लाख ६८ हजार जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ८ लाख ९ हजार ७४४ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म ७६ लाख ८० हजार कित्ता आइपीओ सर्वसाधारणलाई प्रिमियम भाउमा बिक्री खुला गरेको हो । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो ।
यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मचेन्ट बैंकिङले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्याेरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७९ मंसिर ६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर ५ गतेसम्म बाहल रहनेछ ।