आरके श्रीवास्तव,राैतहट,२६ गते साउन ।
लोकतान्त्रिक पत्रकार संघको संशोधित विधान अनुसार धनुषाका वरिष्ठ सञ्चारकर्मी धिरेश कुमार दत्तलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको छ । संघको तर्फबाट जारी मनोनयन पत्रमा दत्तलाई पदभार ग्रहण गरेको जानकारी दिइएको छ र उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गरिएको छ ।
संघका अध्यक्ष कामरेन्द्र वर्माले दत्तलाई मनोनयन गरिएको सहर्ष जानकारी गराउँदै देश, मधेश, पत्रकारिता क्षेत्र र पार्टीको हितमा उल्लेखनीय योगदान रहने विश्वास व्यक्त गरेका छन् ।

धिरेश कुमार दत्त हाल दत्त आरके मिडिया नेटवर्क, कलर्स एफएम १०२.४ मेगाहर्ज, अनलाइन टिभी र कलर्स खबरमा आबद्ध भई सञ्चार क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।
उनको मनोनयनसँगै धनुषा लगायत मधेश क्षेत्रका पत्रकारिता क्षेत्रमा थप ऊर्जा र सकारात्मक सन्देश प्रवाहित भएको स्थानीय सञ्चारकर्मीहरूले जनाएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसको बोलबम संस्कृतिले मधेस र काठमाडौंलाई जोडन सफल भएको बताएका छन् ।
ओम बोलबम काँवरिया संघ काठमाडौंले आज काठमाडौंको जोरपाटीमा आयोजित ११औँ सत्यनारायण भगवानको पूजामा सहभागि आजपा अध्यक्ष साहले मधेसको बोलबम संस्कृती काठमाडौंमा स्थापित भएको बताए ।

‘शिवको पवित्र धर्ती काठमाडौंमा बोलबम संस्कृति स्थापित भएको छ । तपाईहरु निजि सम्पती खर्च गरेर शिवभक्ती, समाज एवं विश्वको कल्याणमा लाग्नुभएको छ । सत्यनारायण, सरस्वती पुजा, छठ पर्व, लक्ष्मी पुजा, विश्वकर्मा पुजा, ब्रह्मबाबाको पुजा तपाई हामीले निजि सम्पती खर्च गरेर पनि धर्मसंस्कृती जोगाउन सफल भएका छौं,’ आजपा अध्यक्ष साहले भने, ‘तर सरकार र राज्य यस बारेमा मौन छ । सरकारी मान्छेहरु चाडपर्वको नाममा १३ महिनाको तलबभत्ता खाएर पनि उनीहरुले संरक्षण गर्न सकेका छैनन् ।’
मधेसमा धुमधामसंग मनाउने बिभिन्न चाडपर्व अहिले काठमाडौंको पवित्र धर्तीमा पनि मनाउन थालिएको बताउदै उनले अब आउने दिनमा मधेसको गाउँ गाउँमा ग्राम देवताको रुपमा पुजा गरिने ब्रह्मबाबाको मन्दिर पनि काठमाडौंमा स्थापना गर्न आवश्यक रहेको बताए ।
काठमाडौंमा ब्रह्मबाबाको मन्दिर नभएको बताउदै मौलापुर नगरपालिकाले काठमाडौंमा ब्रह्मबाबाको मन्दिर स्थापना गर्न खोजेको उनले बताए । ‘हामी सबैको ग्राम देवता, हामीले ग्राम देवताको रुपमा पुजा गर्दै आएको ब्रह्मबाबाको मन्दिर छिटै नै तपाईहरुको साथ सहयोगले काठमाडौं स्थापना हुने विश्वास मलाई छ,’ आजपा अध्यक्ष साहले भने ।

मुलुकमा भ्रष्टाचार, अनियमितता, कर आतंक, लुट बढदै गइरहेको बताउदै उनले भगवान शिवले ति लुटेरा, भ्रष्टाचारीहरुलाई नास गर्ने विश्वास हुने व्यक्त गरे । असत्यमाथि सत्यको सधै बिजयी हुने बताउदै समाजमा बिकृती, विसंगती, आपराध बढदै गए भगवानले उनीहरुको नास गर्दै आएको इतिहास रहेको भन्दै उनले रामायण, महाभारतको स्मरण गरे ।
ओम बोलबम काँवरिया संघ काठमाडौंका अध्यक्ष रामऔतार पंडितको अध्यक्षतामा भएको कार्यक्रममा नारायण सुवेदी, सुभाष साह, विर्सेनप्रसाद कुशवाहा, सुनिल ठाकुर, रन्जु साह, बालकृष्ण सापकोटा, वीरेन्द्र ठाकुर, अर्चना झा, गौरिशंकर साह, रामायण गुप्ता, सुजल लामा लगायतको विशेष सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,२६ गते साउन ।
राैतहटकाे फतुवा विजयपुर नगरपालिकाले हालसालै केहि स्थानीय सञ्चारमाध्यमहरुमा कार्यवाहक नगरप्रमुख अमवेया खातुन, प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव र अन्य कर्मचारीहरूलाई लक्षित गरी प्रकाशित समाचारप्रति खण्डन जारी गरेको छ । नगरपालिका कार्यालयले २०८२ साल साउन २६ गते पत्रकार सम्मेलन गर्दै सार्वजनिक रूपमा उक्त समाचारहरू भ्रामक, अपुष्ट र तथ्यहीन रहेको स्पष्ट पारेको छ ।
नगरपालिकाका अनुसार, प्रशासकीय प्रमुख भरत प्रसाद यादव दैनिक रूपमा कार्यालयमा उपस्थित भई नियमित रूपमा कामकाज गर्दै आएका छन् र कार्यशैलीमा पारदर्शिता तथा जवाफदेहिता अपनाइएको छ । सार्वजनिक खरिद प्रक्रिया, कर्मचारीको हाजिरी, र कार्यक्रम सञ्चालन सम्बन्धी कार्यहरू सबै सम्बन्धित कानुन र नगरसभाको निर्णयअनुसार नै गरिएको व्यहोरा खण्डनपत्रमा उल्लेख छ।
योजना शाखामा रामाशंकर यादवलाई अस्थायी रूपमा जिम्मेवारी दिनु परेको विषयमा पनि प्रष्ट पार्दै भनिएको छ । पूर्व योजना प्रमुख विल्टु राय यादव कार्यालयमा नियमित रूपमा नआएको र निजमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोले वैकल्पिक व्यवस्था गर्नुपरेको हो ।
त्यस्तै, सरकारी गाडीको दुरुपयोग, अनावश्यक पेट्रोल वितरण र बजेटको अपचलनका आरोपहरू समेत अस्वीकार गर्दै खण्डनमा भनिएको छ कि प्रमुख प्रशासकीय अधिकृतले कानुनअनुसार प्राप्त सेवा सुविधा मात्र प्रयोग गरेका छन्, अनावश्यक खर्च नभएको र कुनै अतिरिक्त चालक पनि नराखिएको स्पष्ट पारिएको छ ।
सबैभन्दा भ्रष्ट भन्ने आरोपप्रति कडा आपत्ति जनाउँदै फतुवा विजयपुर नगरपालिकाले हालै वार्ड नं.११ को सार्वजनिक कार्यक्रममा भरत यादवको इमान्दारी र आर्थिक अनुशासनको प्रशंसा सार्वजनिकरूपमै गरिएको उदाहरण दिँदै उक्त आरोप आधारहीन भएको स्पष्ट गरेको छ ।
नगरपालिकाले स्थानीय सञ्चारमाध्यमहरूलाई सत्य, तथ्य र प्रमाणमा आधारित समाचार प्रकाशन गर्न अनुरोध गर्दै अपुष्ट सूचना सार्वजनिक नगरिदिन आग्रह समेत गरेको छ ।
काठमाडौं ।
महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो ।
कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हव रहेको छ । गीतको भिडियो संगीतकार एवं गायक सन्तोषको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
मिलाप मासिकको आयोजना र चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रममा कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले कीर्तिमानी संगीतकार श्रेष्ठले साहित्यलाई संगीतसँग जोडर पृथक काम गर्दै आएको चर्चा गर्दै त्यसको पछिल्लो कडिका रूपमा श्वेतपत्र महाकाव्यको यो गीत रहेको बताउनुभयो । श्वेतपत्र महाकाव्यमा भएका श्लोकलाई गीतका रूपमा प्रस्तुत गर्नका लागि आफूले धेरै मिहिनेत गरेको सुनाउँदै संगीतकार तथा गायक श्रेष्ठले आफ्नो पृथक कार्य गर्ने शैलीलाई पछ्याउँदै जाँदा यो गीत तयार भएको जिकिर गर्नुभयो । उहाँले गजलकार घनेन्द्र ओझासँगको सहकार्यमा गजलको स्वर्ण दशक कार्यक्रम गरिरहेको जानकारी गराउँदै श्वेतपत्रबाट अन्य केही गीत पनि श्रोता/दर्शकमाझ ल्याउने तयारीमा रहेको बताउनुभयो ।
महाकाव्यकार दाहालले श्वेतपत्र महाकाव्यको चर्चा गर्दै आफूले विभिन्न ठाउँ र परिवेशमा कतै वाही-वाही पाएको र कतै गाली खाएको बताउनुभयो । उहाँले भारतका केही ठाउँमा जाँदा यो कृतिका विषयमा अनावश्यक झण्झट बेहोर्नु परेको पनि सुनाउनुभयो । वरिष्ठ संगीतकार राजु सिंहले साहित्यलाई संगीतसँग जोडनु एकदमै राम्रो काम भएको भन्दा स्रष्टा सर्जकलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले नेपाली संगीत इतिहासको चर्चा गर्दा नयाँ–नयाँ प्रयोगले यस क्षेत्रलाई अझ समृद्ध तुल्याएको बताउनुभयो ।
श्वेतपत्रको परिचर्चा गर्दै साहित्यकार तथा पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा.अम्बिका अर्यालले कृतिले नेपाल, सिक्किम र भुटानलाई तीन दिदी बहिनीको संवादलाई प्रस्तुत गरेको बताउँदै यसको अझै चर्चा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महाकाव्यले व्यक्त गर्न खोजेको सन्देश राम्रो रहेको बताउँदै केही सुझावसमेत प्रस्तुत गर्नुभएको थियो ।
यस्तै, साहित्यकार प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले आफूले धेरै पल्ट श्वेतपत्र महाकाव्य पढेको बताउँदै लेखक दाहालका अन्य धेरै कृति भए पनि यो अब्बल रहेको चर्चा गर्नुभयो । गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले वरिष्ठ साहित्यकारका रूपमा आफूले दाहाललाई चिन्दै जान्दै आएको भए पनि आजदेखि गीतकारका रूपमा उहाँको परिचय थपिएकोमा बधाई दिनुभयो । गजलकार घनेन्द्र ओझाले नेपाली साहित्यमा गजलको चर्चा गर्दै गजल स्वर्णदशकका बारेमा आफ्ना भनाइ राख्नुभएको थियो ।
डा.यज्ञेश्वर निरौलाले महाकाव्यकार दाहालका कवितासंग्रह ‘श्रद्धाञ्जलि’, खण्डकाव्य ‘रश्मी’, काव्य ‘योद्धा’, कवितासंग्रह ‘हावर्डको चौतारीमा’, महाकाव्य ‘स्वेतपत्र’, कविता संग्रह ‘म त बन्दी भएको छु’, नियात्रा ‘यात्राको सिकिर्नी’, उपन्यास ‘अहोरात्र’ र भूमिकासंग्रह ‘सिर्जनामा दृष्टि’ जस्ता कृतिका बारेमा आफू परिचित रहेको बताउँदै ‘स्वेतपत्र’का बारेमा आफ्ना धारणा राख्नुभएको थियो । डा.निरौलाले ‘स्वेतपत्र’ महाकाव्यबाट लिइएको गीत ह्रस्व दीर्घका नियमलाई ख्यालगर्दै एकदमै राम्रोसँग गायन भएको बताउनुभयो ।
प्रमुख अतिथि प्राडा.कोइरालाले उहाँका अन्य कृतिभन्दा महाकाव्य ‘स्वेतपत्र’ र उपन्यास ‘अहोरात्र’ विशेष भएको चर्चा गर्दै विद्रोही चेतनाको नवीन महाकाव्य कृतिका लागि साहित्यकार दाहाललाई शुभकामना दिनुभयो । उहाँले महाकाव्य लेखनको नियमको चर्चा गर्दै ‘स्वेतपत्र’ उत्कृष्ट भएको जिकिर गर्नुभयो ।
कार्यक्रमका सभापति प्रा.पुरुषोत्तम दाहालले महाकाव्यकार खेमनाथसँग आफ्नो पुरानो सम्बन्ध रहेको चर्चा गर्दै नेपाली साहित्यमा उहाँको योगदानको प्रशंसा गर्नुभयो । ‘स्वेतपत्र’ महाकाव्यबाट लिइएको गीत र यसको भिडियो राम्रो बनेको बताउँदै उहाँले सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो । ‘स्वेतपत्र’ महाकाव्यमा ४५ भन्दा बढी प्रज्ञाहरूले समालोचना गरेको कृति पाठकमाझ पनि आएको छ ।
कार्यक्रममा साहित्यकार लेखनाथ पोख्रेल, डा.बुनु दाहाल, वरिष्ठ कलाकार उत्तम केसी, धरान २०२५ प्रवेशिका समूहका नेतृत्वकर्ता समाजसेवी भुपेन्द्र कार्की, डा.अंकुर दाहाल, उषा दाहाल, साहित्यकार रमेश दाहाल, चलचित्र जाचपास समितिका सदस्य कुवेर गिरी, मिलाप फाउण्डेशनकी अध्यक्ष एवं गीतकार गीता अधिकारी, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, कृष्णराज गौतम, विनोद देवकोटा, भरत दाहाल, राजु दाहाल, घनश्याम दाहाललगायत विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
काठमाडौं:
प्रेमको यात्रा कहिलेकाहीँ फूलजस्तै सुगन्धित लाग्छ तर अन्त्यमा त्यहि प्रेमले काँडाले जस्तै पिडादायी घाउ दिन्छ । प्रेमको यात्रामा प्रेम थोरै, निराशा, विरह, बेदना, आँसु, वियोग धेरै सहन पर्छ । माया, प्रेममा मिलन भन्दा पनि निराशाको खेल हुन्छ भन्ने भावको गीत “भो यो माया, ले व्यक्त गरेको छ । गीतले प्रेममा टुटेका आशा र एक्लोपनको बन्धन बोलेको छ । नारायण सुवेदी ‘आभास’को स्वर तथा समीप आचार्यको शब्द र संगीतमा सार्वजनिक भएको गीत “भो यो माया” ले यही यथार्थलाई हृदयस्पर्शी ढंगले प्रस्तुत गरेको अनुभूति गीत हेर्दा तथा सुन्दा महशुष हुन्छ । उदयराज पौडेलको एरेञ्जमेन्ट, किशोर थापाको मिक्सिङ,मास्टरिङ र मोनीश चाम्लिङको रेकर्डिङले गीतलाई पूर्णता दिएको छ । साथै, सरंगीमा हेमन्त रसाइली र बाँसुरीमा रत्न बीकेको बेजोड वाद्य संयोजनले गीतमा मौलिकता थपेको छ ।
भिडियो तर्फ कलाकारहरु किरण तामाङ र ललिता थापाले प्रेम र पीडाको मार्मिक कथा प्रस्तुत गरेका छन् । कर्ण बहादुर खड्काको छायाँकन, सुन्दर क्षेत्रीको सम्पादन र मिना बुढाथोकी सावित्रीको निर्देशनले यो भिडियोलाई उत्कृष्ट कलाकृति बनाएको छ ।
गीतकार आचार्यले गीतमा कहिले मायालुको छायाँमा नै हराउने, कहिले त्यहि मायामा छलकपट भेटिने, कहिले बाटो विराएर भौतारिने त कहिले मायामा गरिएका बाचा बन्धनमा दरार आउने जस्ता अवस्थाहरूलाई बिम्ब र प्रतीकमार्फत उजागर गरेका छन् । गीतमा प्रेममा धोका पाएको पात्रको पीडालाई भावनात्मक रूपमा व्यक्त गरिएको छ जसले श्रोतालाई प्रेमको मीठाससँगै त्यसले ल्याउने पीडा र बिछोडको गहिरो यथार्थमा डुबाउँछ।
गीत ‘भो यो माया’ मा प्रेमको बाटोमा आएको भ्रम र दिशाहीनतालाई प्रष्टाइएको छ । प्रेमको यात्रा सधै एकनासको हुदैन, विभिन्न आरोह अवरोहहरु आउँछन् तर सहजतामा रमाउने र असहजतामा साथ छोड्ने गर्दा प्रेमिल मनमा पिडावोध हुन्छ, प्रेममा उकालो जस्तो कठिन र ओरालो जस्तो सहज परिस्थिति दुवै हुन सक्छ तर बाटो हराउँदा त्यसले पीडा मात्र दिन्छ । सहज, असहज दुवै परिस्थितिमा प्रेमिल रहन सके मात्र प्रेम सफल हुन्छ भन्ने सन्देश पनि गीतमा रहेको छ ।
मंसिरमा बिहे गर्ने कुरा, चाडै फर्कि आउने कुराले मनमा एउटा दरिलो विस्वास दिलाएको थियो तर दिएको वाचा र त्यसको टुटाईले सम्वन्धमा ठुलो खाडल परेको छ जुन भावलाई गीतमा अत्यन्त मार्मिक रूपमा व्यक्त गरिएको छ । प्रेमको यात्रा यति कठिन भइसकेको छ कि अब सहन सक्ने शक्ति सकिएको अनुभूति भएको छ । मायामा ‘आफै रुनु पर्ने’ अवस्था ले मायामा साथको अपेक्षा भए पनि अन्ततः एक्लै पीडा भोग्नुपर्ने बास्तविकता र विडम्बना दर्शाइएको छ । माया निस्वार्थ हुनु पर्छ, समर्पित भाव हुनु पर्छ, मायामा छलकपट हुनु हुदैन मायामा हुने ‘छल’ ‘जालझेल’ ले मायामा धोका भएको जनाउँछ भने मायामा आउने ‘भल’ ले अप्रत्याशित घटना, बिपरीत परिणाम वा नसोचेको चोटको अर्थ दिन्छ। गीतले यी भावहरुलाई प्रष्ट गरेको छ । ‘छल’ र’ भल’ दुवै मायामा दरार ल्याउने विम्व हुन् ।
गीतले प्रेमको आकर्षण र विछोडको अप्रिय सत्य दुबैलाई प्रस्तुत गरेको छ । माया सुरुवातमा मीठो खेल जस्तो लागे पनि अन्त्यमा यसले जेलझैँ बाँध्छ, पिर र आँसु मात्र दिन्छ । सत्य यहि हो कि माया सजिलो हुँदैन र यसबाट टाढा हुनु नै मुक्ति हो । गीतका हरफहरूले प्रेमको मीठासभन्दा बढी प्रेमले दिने पीडा, धोका र निराशाको गहिरो अनुभूतिको चित्रण गरेको छ । गीतकारले प्रेमलाई अनेकौं रूपमा सम्बोधन गर्दै यसको असली अनुहार उघारेका छन् ।
गीत सुन्दै जाँदा, श्रोता स्वयं प्रेमको मीठो सुरुवातबाट तीतो अन्त्यसम्मको यात्रामा सहभागी भएको अनुभूति हुन्छ ।’भो यो माया’ केवल एउटा गीत मात्र होइन, धेरैले भोग्ने अधूरा प्रेमकथाको सामूहिक स्वर हो जहाँ मायाले सुरुवातमा सपनाको संसार सजाउँछ तर अन्त्यमा आँसु, विरह, बेदना र सम्झनाको बन्धन बाँधेर हृदयलाई कैदी बनाइदिन्छ । गीतको सम्पूर्ण संरचना प्रेमको एउटा चक्र आशा, विश्वास, धोका र पीडालाई गहिरो भावमा खिचेको छ। समीप आचार्यको शब्द र संगीतमा नारायण सुवेदी आभासको स्वर मिसिँदा ‘भो यो माया’ श्रोताको मनमा लामो समयसम्म गुञ्जिरहने गीत बनेको छ।
गीत
भो यो माया,
पुग्योहो यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया।
कहिले नदेखु, तिम्रो छायाँ पनि,
खेल रहेछ, तिम्रो माया पनि,
जेल यो माया,
झेलहो यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया॥
उकाली बिर्सियेउ, ओराली झरेसी
गोरेटो भुलीछेउ, दोबाटो भेटेसी
तिर यो माया,
पिरहो यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया॥।
यो आउने मंसिरमा, बिहे गर्छु भन्थेउ
दुई–चार दिनैमा, फर्की आउछु भन्थेउ
छल यो माया,
भल यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया॥॥
भो यो माया,
पुग्यो हो यो माया
जेल यो माया,
झेल हो यो माया,
तिर यो माया,
पिर हो यो माया
छल यो माया,
भल यो माया
पचरौता, बारा –
सुरक्षा जोखिम नभएको अवस्थामा समेत पचरौता नगरपालिकाका मेयर जलन्धर सिंहलाई व्यक्तिगत सुरक्षा अधिकारी (PSO) उपलब्ध गराइएको तथ्य सार्वजनिक भएपछि स्थानीयवासीदेखि कानुनविदसम्म चासो बढेको छ। बारा जिल्ला सुरक्षा समितिलाई समेत यसबारे औपचारिक जानकारी नहुँदा, सुरक्षा निकायको परिचालनमा पारदर्शिता र प्रक्रियामाथि प्रश्न उठेको छ ।
स्थानीयवासीका अनुसार मेयर सिंहमाथि कुनै पनि प्रकारको प्रत्यक्ष सुरक्षा खतरा छैन । बरु उनी “बाराको सबैभन्दा बढी विवाद र झगडा गर्ने नगरप्रमुख” को रूपमा चर्चित छन्। पचरौतामा विवाद उत्पन्न हुँदा आफ्नो प्रभुत्व जमाउन र सामाजिक हैसियत प्रदर्शन गर्न राज्यको स्रोत प्रयोग गरेको आरोप छ ।एक स्थानीय बासिन्दाले भने—“यो केवल प्रभाव देखाउने खेल हो । जनता त झन् असुरक्षित महसुस गरिरहेका छन् ।”
स्थानीयले आरोप लगाएअनुसार, मेयर सिंहले राज्य शक्तिको निजी प्रयोग गर्दै सुरक्षा कर्मीलाई ‘राजनीतिक आडम्बर’ का रूपमा प्रयोग गरेका छन्।
नेपालमा व्यक्तिगत सुरक्षा अधिकारी ( PSO) उपलब्ध गराउने प्रक्रिया कानुन र सुरक्षा निकायको आन्तरिक नियमावलीअनुसार कडाइका साथ लागु हुनुपर्ने प्रावधान छ ।
यो सुविधा प्रायः प्रधानमन्त्री, मन्त्री, संवैधानिक पदाधिकारी वा वास्तविक सुरक्षा जोखिममा रहेका व्यक्तिहरूलाई मात्र दिने चलन छ ।
कुनै पनि स्थानीय तहको जनप्रतिनिधिले ( PSO) पाउन, जिल्ला सुरक्षा समितिको सिफारिस र गृह मन्त्रालयको अनुमोदन आवश्यक हुन्छ ।
तर, बारा जिल्ला सुरक्षा समितिका अधिकारीहरूले “हामीलाई कुनै जानकारी छैन” भनेर स्पष्ट गरेपछि, प्रक्रिया उल्लंघन भएको आशंका बलियो बनेको छ ।
नेपालमा यसअघि पनि सांसद, पूर्वमन्त्री, र पहुँच भएका व्यापारीसम्मलाई आवश्यकताभन्दा बढी सुरक्षाकर्मी दिने विवाद चलेको छ। संसदमै “अत्यधिक सुरक्षा फिर्ता गर्न” माग उठिसकेको छ । यो प्रवृत्ति रोक्ने प्रतिवद्धता राजनीतिक घोषणामा भए पनि व्यवहारमा भने कमी देखिएको छ ।
बार एसोसिएसन नेपाल बाराका एक कानुन ब्यवसाहि अनुसार यदि ( PSO) उपलब्ध गराउने निर्णय बिना प्रक्रिया र गलत विवरणका आधारमा भएको हो भने, यो निम्न कानुनी दायरामा पर्न सक्छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार गैर–आवश्यक रूपमा सरकारी स्रोत व्यक्तिगत प्रयोजनमा प्रयोग गरे आरोप लाग्न सक्छ ।
अर्कोतर्फ मुलुकी अपराध संहिता, दफा २५४ अन्तर्गत, पदको पहुँच र प्रभाव प्रयोग गरी अनुचित लाभ लिनु आपराधिक कृत्य पनि आरोप लाग्न सक्छ ।
त्यसतै सुरक्षा निकायको कार्यविधि उल्लंघन गरे आन्तरिक विभागीय कारबाहीको दायरामा पर्छ ।
जिल्ला प्रशासन कार्यालय बाराका एक कम्रचारी भन्छन–यो प्रकरणमा गृह मन्त्रालय र बारा जिल्ला सुरक्षा समितिबाट तत्काल छानबिन आवश्यक छ । यस्ता समस्या आए पछि पिएसओ उपलब्ध गराउने आदेश कसको आदेशमा जारी भयो रु सुरक्षा मूल्यांकन प्रतिवेदन तयार भएको थियो कि थिएन रु निर्णय राजनीतिक दबाबमा भयो कि प्रशासनिक मूल्यांकनमारु
मेयर सिंहसँग सम्पर्क गर्ने प्रयास असफल भएपछि, घटनाको वास्तविकता अझै रहस्यमय बनेको छ । तर स्थानीयस्तरमा यो विषय ‘पहुंचको दुरुपयोग र जनताको पैसाको दुरुपयोग’ को रूपमा चर्चित छ ।
काठमाडौं –
“राजनीतिक सहभागिता हाम्रो अधिकार” भन्ने नारासहित आइतबार दिउँसो १२ः३० बजे काठमाडौँको सञ्चयकोष भवन, ठमेलबाट इन्द्रेणी गाईजात्रा र्याली सुरु हुँदैछ। र्यालीमा सहभागी हुन आयोजकहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सबैलाई आह्वान गरेका छन्।
यस वर्षको इन्द्रेणी गाईजात्रा उत्सव एसियाकै पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तको नेतृत्वमा, दक्षिण एसियामा पहिलो पटक कानुनी रूपमा विवाह दर्ता गरेका समलिङ्गी जोडीको उपस्थिति र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारका लागि सक्रिय विभिन्न संस्थाहरूको सामूहिक सहभागितामा आयोजना हुन लागेको हो।
ब्लु डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष पन्तको नेतृत्वमा २०५९ सालदेखि गाईजात्रा उत्सवलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले स्वतःस्फूर्त रूपमा मनाउँदै आएका छन्।
काठमाडौँको ठमेलस्थित सञ्चयकोष अगाडिबाट हरेक वर्ष सुरु हुने यो परम्पराको थालनी पनि पन्तकै नेतृत्वमा भएको हो। उनले यसअघि चितवन र पोखरामा पनि समुदायसहित गाईजात्रा उत्सव आयोजना गरेका थिए।
यस वर्ष भने समुदायका सदस्यहरूले सरकारी वा संस्थागत सहयोगबिनै, व्यक्तिगत तथा सामूहिक योगदानमा आधारित स्वतःस्फूर्त सहभागितासहित पर्व मनाउने भएका छन्। र्याली काठमाडौँको सञ्चयकोष भवनबाट सुरु भई वसन्तपुर दरबार स्क्वायरमा समापन हुनेछ।
कार्यक्रममा सांस्कृतिक तथा कलात्मक प्रस्तुतिहरू समावेश हुनेछन्। वसन्तपुरमा पुगेर दिवङ्गत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सदस्यहरूको सम्झनामा दियो बालेर समापन गरिनेछ।
पन्तका अनुसार, गाईजात्रा केवल शोक वा मृत स्मृतिको दिन मात्र नभई अस्तित्व र स्वतन्त्रताको उत्सव हो। आयोजकहरूको भनाइमा, आफ्नै परिवारले नसम्झे पनि जीवित समुदायले भने दिवङ्गत सदस्यहरूलाई सधैँ सम्झिरहन्छ। गाईजात्रा उनीहरूका लागि स्वतन्त्रतापूर्वक आफ्नो पहिचान प्रकट गर्ने अवसर हो, जसमा नाचगान, हाँसो, व्यङ्ग्य र रङ्गिनता समेटिएको हुन्छ।
मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसिभ फोरम, इन्क्लुसिभ ग्यालेक्सी रेस्टुरेन्ट, समर्पण सभ्य समाजलगायतका सङ्घसंस्थाले यस वर्षको कार्यक्रम विदेशी सहायता वा कुनै अनुदानबिनै, समुदायकै आर्थिक तथा श्रम योगदानमा सम्पन्न गर्न लागिएको जनाएका छन्।
समुदायका अगुवा तथा आयोजकहरूका अनुसार, राज्यका सबै तहमा राजनीतिक प्रतिनिधित्व र समावेशिताको सुनिश्चितताको माग अब मुखर रूपमा अघि सार्ने समय आएको छ।
काठमाडौं, २५ साउन ।
‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को उत्कृष्ट ७ भित्र जुनु प्रसाईं पुगेकी छिन् । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी गायिका जुनुले तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी हुन्।
बाल्यकालदेखि नै गायनमा रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र होइन, परिश्रम र प्रतिभाको मिठास पनि झल्किन्छ।
हाल झापालाई स्थायी ठेगाना बनाएकी उनी रोजगारीको कारणले कतारबाट आफ्नो सांगीतिक यात्रा जारी राख्दै अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा सहभागिता जनाएकी छिन्।
विद्यालयदेखि सुरु भएको यात्रा
गायिका जुनु विद्यालयका विभिन्न कार्यक्रमहरूमा गीत गाउने गर्थिन् र स्थानीय गायन प्रतियोगिताहरूमा सक्रिय रूपमा सहभागी हुन्थिन्। त्यही अनुभव र लगावले आज उनी अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान बनाउँदै ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को उत्कृष्ट ७ भित्र आइपुगेकी छिन्
विश्वभरका नेपाली प्रतिभालाई एकै मंचमा जोड्ने अभियान नेपाल टेलिभिजनबाट प्रसारित ‘मेरो भ्वाइस युनिभर्स’ इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा २३ देशका नेपाली मूलका प्रतिभाशाली गायक–गायिकाहरूले सहभागिता जनाएका छन्। अडिसन राउण्ड विश्वका १३ मुलुकमा सम्पन्न भएको थियो। कतार अडिसनमार्फत गायिका जुनु छनोट भई अहिले फाइनल राउण्डसम्म आइपुगेकी छन्।
जुनु प्रसाईको अपिल
नमस्कार, सेवा/ सेवारो,
म हजुरहरुकै छोरी/चेली जुनु प्रसाई !
तपाईंहरूको माया, साथ, सहयोग र हौसलाले “मेरो भ्वाईस युनिभर्स सिजन-२” को टप ७ मा परेको छु । यहाँसम्मको यात्रमा सहयोग गर्नुहुने सबैजना प्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु । प्रतिस्पर्धाको सिढीहरू अझै बाँकी नै छन् । मिहिनेत र संघर्ष पछि बल्ल मेरा सपना हरुले उडान भर्न लाग्दैछन । फाइनलसम्मको यात्रामा हजुरहरुको अझै धेरै साथ, सहयोग, माया र हौसलाको आशा राखेकी छु ।”
भोट गर्ने तरिका
गायिका जुनु प्रसाईलाई भोट गर्नका लागि:
मोबाइलको म्यासेज बक्समा गएर MVU 06 टाइप गरी 37000 मा पठाउनुहोस्, वा
My Intra एप डाउनलोड गरी उनीको प्रोफाइलमा क्लिक गरेर भोट गर्न सकिन्छ।
बज्जिकाञ्चल संवाददाता,सर्लाही,२५ गते साउन ।
नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं पूर्वमन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको विशेष पहलमा
सर्लाही जिल्लाको वसवरीया गाउँपालिका वार्ड वार्ड नं ४ र ५ मा जसपा नेपाल परित्याग गरी वार्ड नं.४ का पुर्व वार्ड अध्यक्ष कमल चौधरी तथा वर्तमान वार्ड अध्यक्ष युवानेता सुरेश साहको नेतृत्वमा १०० जना सम्मानित व्यक्तित्व नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
एक विशेष कार्यक्रममा पूर्वमन्त्री सिंहले नवप्रवेशीहरूलाई माला र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा स्थानीय नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाली कांग्रेस सर्लाही जिल्लामा सशक्त रुपमा स्थापित हुँदै गएको प्रदेश सांसद सिंहले बताए। उनले कांग्रेसले सर्लाहीमा १२ स्थानीय तहमा जित दर्ता गराइसकेको र आगामी निर्वाचनहरूमा प्रदेशसभा तथा प्रतिनिधिसभामा पनि विजयी हुनेगरी संगठन बलियो बनिरहेको दाबी गरे।
“जनताको दुःखसुखमा निरन्तर साथ दिइरहेका छौं, विकास–निर्माण र जनसेवामा कांग्रेसको उपस्थिति बढ्दो छ,” सिंहले कार्यक्रममा बताएका थिए।
पूर्वमन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीका अनुसार केही दिन अगाडि मात्र हरकठवामा पार्टी प्रवेश भएका थिए।
पछिल्लो समय कांग्रेसप्रति आकर्षण बढिरहेको र विभिन्न पार्टी परित्याग गरेर नेता–कार्यकर्ताहरू प्रवेश गरिरहेको क्रम जारी छ।