आरके श्रीवास्तव,राैतहट,०९ गते साउन ।
रौतहटकाे गरुडा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सञ्चालन गरेको कृषि, पशु तथा डेरी यान्त्रीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममार्फत वडा नं. १ देखि ९ सम्मका किसानहरूलाई ५० प्रतिशत अनुदानमा १४० वटा भैँसी, विद्युत मोटर, पम्पसेट, मिल्क्यान, चिलिङ भ्याट, डिफ्रिज, मिल्क पम्प, मिल सेपरेटर लगायतका सामग्री वितरण गरिएको हो ।

साथै, कुखुराको खोर, पोखरी, कोल्ड स्टोर, एग्रोमार्ट र बजार सेड निर्माण कार्य पनि अगाडि बढाइएको नगरप्रमुख कन्थमनी जयसवालले जानकारी दिए । कार्यक्रमले कृषकहरूको आय वृद्धि, आत्मनिर्भरता र व्यावसायिकता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०९ गते साउन ।
लोकतान्त्रिक पत्रकार संघको संशोधित विधानअनुसार प्रीति कुमारी झालाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको छ । संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले एक विज्ञप्ति जारी गर्दै झालाई मनोनयन गरिएको जानकारी दिँदै बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
संघका अध्यक्ष वर्माले प्रीति झाको कार्यकाल देश, मधेश, पत्रकारिता र पार्टीको हितमा उल्लेखनीय रहने विश्वास व्यक्त गर्दै भने, “पार्टी र पत्रकारिता क्षेत्रमा उहाँको योगदान सराहनीय रहनेछ।”

प्रीति कुमारी झा हाल रेडियो स्वागतम महेन्द्रनगर, धनुषा र नवसोच मिडिया प्रोडक्सन हाउस, जनकपुरमा आबद्ध छन् ।
यो मनोनयनसँगै लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय समिति २९ सदस्यीय बनेको छ। अध्यक्ष वर्माका अनुसार आगामी दिनमा समितिलाई ५१ सदस्यीय बनाउने लक्ष्य रहेको छ ।
ठोरी (पर्सा), ९ साउन :
खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताउनु भएको छ ।
आज पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको “निर्मल बस्ती खानेपानी आयोजना” उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जलसङ्कटको सामना गरिरहेका बताउनुभयो ।

“तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ । अब सहानुभूति हैन, साझा जिम्मेवारी आवश्यक छ,” उहाँले भन्नुभयो, “खानेपानी सङ्कट मधेश प्रदेशको मात्रै समस्या हैन, यो हाम्रो साझा चुनौती हो । सङ्कट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।”
त्यसैगरी मन्त्री यादवले तराई–मधेशमा विकराल समयमा पनि आफु सहित सिङ्गो मन्त्रालय नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिएको जानकारी गराउनुभयो ।
“विपद्को यस घडिमा हामी नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न खटिएका छौँ । यहाँको खानेपानी समस्या चाडै समाधान गरिने म आम नागरिकहरुमा बिश्वास दिलाउन चाहन्छु,” उहाँले भन्नुभयो ।
मन्त्री यादवले आफुले नेतृत्व गरेको खानेपानी मन्त्रालयको विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्बाट मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो सङ्कटलाई केवल सहानुभूतिका रूपमा होइन, साझा जिम्मेवारीका रूपमा हेर्ने र समाधानका लागि हातेमालो गर्ने बेला आएको छ । दातृ निकाय, संघसंस्था र नागरिक समाजलाई आवश्यक सहयोग गर्न म हार्दिक आग्रह गर्दछु ।”
मन्त्री यादवले ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजना ठोरी क्षेत्रको दीर्घकालीन खानेपानीको सङ्कट अन्त्यको लागि मन्त्रालयले दिगो र रणनीतिक समाधानतर्फ गरेको प्रयासको प्रतिबद्धताको मुल प्रतिविम्ब भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “यो आयोजना केवल पाइपलाइन, पम्प हाउस वा ट्याङ्कीको संरचना निर्माण मात्रै होइन, नागरिकलाई नियमित, सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति गर्ने आयोजना हो ।”
यस आयोजना मार्फत ठोरीका कम्तिमा पनि दुई हजार १६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार ओभरहेड ट्याङ्की, डीप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस र पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) लगायतका संरचना निर्माण गरिएकाले यहाँका नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।
आजको उक्त कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, जिल्ला भूमी आयोग पर्साका अध्यक्ष तवेरेजअहमद, आयोजना प्रमुख विपुलकुमार लाल दास, निर्माण व्यवसायी लगायतको सहभागीता रहेको थियो ।
चन्दन यादव, राैतहट ०९ गते साउन ।
मधेश प्रदेशमा बढ्दो तापक्रमले जनजीवन अत्यन्तै प्रभावित भएको छ । सोही गर्मीका कारण सर्लाही जिल्लाको बरहथवा नगरपालिका अन्तर्गत रामनगर गाउँपालिकाका एक पुरुषको ज्यान गएको छ। स्थानीय स्रोतका अनुसार ती व्यक्ति अत्यधिक गर्मीका कारण अचेत भइ ढलेका थिए र केहीबेरमै मृत्यु भएको पुष्टि गरिएको हो। घटना बिहीबार दिउँसोको हो, जब ती पुरुष सडक छेउमै लम्पसार परेको अवस्थामा फेला परेकाे थियाे । तत्काल स्थानीयवासीले उनलाई स्वास्थ्य संस्थामा पुर्याए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। प्रारम्भिक अनुमान अनुसार गर्मी, डिहाइड्रेसन र शारीरिक कमजोरीका कारण उनको मृत्यु भएको हो। सर्लाहीमा मात्र नभई मधेश प्रदेशका अधिकांश जिल्लामा हाल तापक्रम ४० डिग्री सेल्सियस नाघिरहेको छ। यसले गर्दा विद्यालयहरू बन्द गरिएका छन् भने वृद्धवृद्धा, बालबालिका र बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीय प्रशासनले अत्यधिक गर्मीबाट जोगिन निम्न सावधानी अपनाउन आग्रह गरेको छ: बिहान वा साँझबाहेक अन्य समय अनावश्यक रूपमा घरबाहिर ननिस्कनु प्रशस्त पानी पिउनु हाइटेम्प्रेचरमा शारीरिक श्रम नगर्नु टाउको छोप्ने र हलुका कपडा लगाउनु मधेश प्रदेशको स्वास्थ्य सेवा कार्यालयले अत्यधिक गर्मीको असर न्यूनीकरण गर्न समुदायमा जनचेतना फैलाउने र आपतकालीन स्वास्थ्य सहायता सहज बनाउने तयारी गरिरहेको जनाएको छ।
चन्दन यादव, राैतहट ०९ गते साउन ।
पत्रकार राजकुमार यादवलाई विवेक साहलगायत केही व्यक्तिहरूले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ। गत साउन ८ गते समाचार संकलनको क्रममा पत्रकार यादवमाथि विवेक साह सहित रञ्जित साह, अनिल साह तथा अन्य अज्ञात व्यक्तिहरूले सामूहिक रूपमा कुटपिट गरी घाइते बनाएको महासंघको एसाेसिएट प्रदेश समितिले जनाएको छ। नेपाल पत्रकार महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचार संकलनका क्रममा पत्रकारमाथि आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथि अतिक्रमण भएको स्पष्ट गरिएको छ। महासंघले पीडित पत्रकारको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।
सागर संगम ठाकुर, रौतहट,०८ गते साउन ।
रौतहटकाे देवाही गोनाही नगरपालिकामा बालविवाह अन्त्य गर्नका लागि २१ सदस्यीय युवा संजाल समिति गठन गरिएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महिला र पुरुषहरूको नेतृत्वमा रहेका संस्था संग अावद्व किशोर किशोरी तथा युवाहरुकाे संजाललाई हानिकारक लैङ्गिक समाजिक मान्यताहरुकाे चुनौती दिन युवा संजाल गठन तथा परिचालन गर्ने उदेश्यका साथ आशमान नेपालको आयोजना र संयुक्त राष्ट्र जनसंख्या कोष (UNFPA) को आर्थिक सहयोगमा गठन गरिएको सो समिति बिहीबार नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा घोषणा गरिएको हो।

कार्यक्रममा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र प्रसाद चन्द्रवंशीको अध्यक्षतामा युवाहरूको सक्रिय सहभागितासहित प्रत्येक वडामा युवा संजाल गठन गर्ने निर्णय पनि गरिएको छ। कार्यक्रमका प्रमुख प्रशिक्षकका रूपमा आशमान नेपाल रौतहटका प्रोग्राम म्यानेजर उर्वशी साहले बालविवाहको प्रभाव, रोकथामका उपाय र युवाहरूको भूमिका विषयमा प्रशिक्षण दिइन्। महिला तथा बालबालिका शाखाका प्रमुख रामनारायण पण्डितले कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा नगरपालिकाका सबै वडाबाट महिला र पुरुष युवाहरूको सहभागिता रहेको थियो। आयोजक संस्थाका अनुसार, संजालले समुदायस्तरमै सचेतना अभिवृद्धि गर्ने, बालविवाहको जोखिम रहेका केसहरू पहिचान गर्ने र पालिकासँग समन्वयमा समस्या समाधान गर्ने कार्यमा सहयोग पुर्याउनेछ। साे प्रशिक्षणबाट गौतम पासवानकाे अध्यक्षतामा २१ सदस्य प्रगतिशील युवा संजाल समिति गठन गरिएको प्रशिक्षक साहले जानकारी दिईन । समितिका उपाध्यक्ष शनि कुमारी यादव काेषाअध्यक्ष मनिषा राम सचिव महम्द नजिम र सदस्यहरुमा सिमा यादव,धिरज पासवान,शान्ताेष साह,प्रिति पटेल, सुरज पटेल,उषा कुमारी लगाएत अन्य महिला तथा पुरुष सदस्यहरु रहेकाे छ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते साउन ।
रौतहटकाे गरुडा नगरपालिकामा आज “बाल श्रम मुक्त स्थानीय तह घोषणा तथा कार्यान्वयन कार्यविधि २०८२” को प्रमाणिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नगर प्रमुख कन्थमनी जयसवालले कार्यक्रमको अध्यक्षता गर्दै बाल अधिकारको संरक्षण तथा प्रवर्द्धनमा नगरपालिकाको प्रतिबद्धता दोहोर्याउनुभयो ।
कार्यक्रमको मूल उद्देश्य बालबालिकालाई कुनै पनि खालको श्रमबाट मुक्त राखी उनीहरूलाई शिक्षा, स्वास्थ्य, सुरक्षा र सम्मान सहितको जीवन सुनिश्चित गर्नु रहेको बताइएको छ ।
नगर प्रमुख जयसवालले भन्नुभयो, “यस कार्यविधिले बाल अधिकार संरक्षणमा सहजीकरण गर्नेछ र बालमैत्री समाज निर्माणमा टेवा पुर्याउनेछ। यस्ता पहलहरूले हाम्रो नगरलाई न्यायपूर्ण, समावेशी र समृद्ध भविष्यतर्फ अघि बढाउने आधार तयार पार्नेछन् ।”
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, सामाजिक संघसंस्था, बाल क्लबका प्रतिनिधिहरू, विद्यालयका शिक्षक, अभिभावकहरूको उपस्थिति रहेको थियो।
गरुडा नगरपालिका विगतदेखि नै बाल अधिकारका पक्षमा सक्रिय रहँदै आएको छ र भविष्यमा पनि बालमैत्री नीतिहरू कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते साउन ।
खानेपानी अभावका कारण जीवन संकटमा परेको रौतहट जिल्लाका विभिन्न बस्तीमा समाधानको पहल सांसद किरण साहले सुरु गरेका छन् । जनप्रतिनिधिको हैसियतले पानीलाई पहिलो प्राथमिकता बनाउँदै सांसद साहले खानेपानी मन्त्री प्रदीप यादवसँग विशेष भेटवार्ता गरी ६ करोड रुपैयाँ बराबरको खानेपानी योजना अघि बढाएका छन् ।
मन्त्री यादवले सो योजना प्रभावित वडाहरूमा समानुपातिक रूपमा वितरण गर्ने सहमति जनाउनुका साथै २–४ दिनभित्र स्थलगत अवलोकन गर्ने र तत्काल कार्यान्वयन सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रमुख प्रभावित क्षेत्रहरूमा मौलापुर–६, ७,देवाही गोनाही–१, २, ३, ४,बौधिमाईका सबै वडाहरू; परोहाका अधिकांश बस्तीहरू; राजपुर र इशनाथ नगरपालिकाका पानी अभावग्रस्त वडाहरू पर्छन् ।
सांसद साहले समरसिबल बोरिङमार्फत शीघ्र र दीगो समाधानका लागि प्राविधिक अध्ययनको तयारी गरिरहेको र स्थान छनोट तथा प्राथमिकता सूची संकलनमा स्थानीयको सक्रिय सहभागिता आह्वान गरेका छन् ।
“पानी अब सपना होइन, हक हो” भन्ने नाराका साथ यो अभियानलाई सबै तहका सरकार र जनप्रतिनिधिसँग समन्वय गर्दै जन–जनको घरदैलोमा पुर्याइने जनाइएको छ ।
श्रीकान्त यादव,रौतहट, ८ गते साउन ।
गौर पिपरा सडक खण्डको बडहर्वा चौक नजिकै आज एक सवारी दुर्घटना हुँदा एक जना मोटरसाइकल चालक घाइते भएका छन् ।
बिहान करिब १० बजे बिएई ५२९३ नम्बरको स्कार्पियोले बिआर ३० क्यू ५१८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्गा भगवती गाउँपालिका–३ निवासी रणधीर झा घाइते भएका हुन् ।
घाइते झालाई तत्काल उद्धार गरी गौर अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको र आवश्यक उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनामा संलग्न स्कार्पियो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।