काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को ६० औँ वार्षिकोत्सव समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग गर्ने बताए ।
“यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढीकरण, कूटनीतिक सन्तुलन र सहकार्य एवं देशको बहुआयमिक विकासका निम्ति यस क्षेत्रको भूमिका निर्णायक देखिँदै आएको छ ।”
आफूले आफ्नो कार्यकालमा खेलकुद, साहित्य–कला र प्रविधिको क्षेत्रलाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, “खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।”
यसपटक राष्ट्रिय खेलकुद परिषद्का निम्ति राम्रो संयोग जुरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले परिषद्को संरक्षकका हैसियतले आफूले परिषद्लाई दर्बिलो साथ र सहयोग विश्वास दिलाए । “नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्ने मेरो विश्वास छ,” प्रधानमन्त्री प्रचण्डले भने, “परिषद्लाई नयाँ उचाइँमा उठाउँदै खेल क्षेत्रको विकास र खेलाडीहरूको वृत्तिविकासमा समर्पित हुन थप प्रेरणा मिलोस् ।” न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश सरकार गठनमा नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गर्दै आवश्यक परेमा कांग्रेसको नेतृत्वमा हुने विपक्षी गठबन्धनलाई समर्थन गर्न सक्ने निर्णय गरेको हो ।
त्यस्तै प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देललाई दिएको छ । प्रदेश सरकारका निर्माणका लागि राप्रपा गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा महत्वपूर्ण अवस्थामा छ । राप्रपाले समर्थन गर्ने अवस्थामा सत्ता गठबन्धनलाई लुम्बिनी, गण्डकी र सुदूरपश्चिममा सजिलो हुने अवस्था रहेको छ ।
राप्रपाले चैत अन्तिम सातादेखि सुरु गर्ने आन्दोलनको तयारीबारे पनि छलफल गरेको छ । न्युज कारखाना
काठमाडौं ।
सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ ।
बुधबार न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
यस अघि गिरीलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएका थिए ।
न्यायाधीश गिरीकी पत्नीले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । त्यसपछि गिरीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको थियो ।
बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको न्यायाधिश गिरीकी श्रीमती आरतीले शंकास्पद वस्तु सेवन गरेकी थिइन् । त्यसपछि उनलाई तुरुन्तै उपचारका लागि वीर अस्पताल लागिएको थियो । अहिले उनको अवस्था भने समान्य रहेको बताइएको छ ।न्युज कारखाना
काठमाडौँ ।
सर्वोच्च अदालतको इजलासमा न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले शंकास्पद वस्तु सेवन गरेकी छन् । बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको आरतीले शंकास्पद वस्तु सेवन गरेकी हुन् ।
त्यसपछि उनलाई तुरुन्तै उपचारका लागि वीर अस्पताल लागिएको छ । अहिले उनको अवस्था भने समान्य रहेको बताइएको छ ।
आरतीले श्रीमानले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला, उच्च हुदै सर्वोच्चमा पुगेकी हुन् । गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए । उनले आफूमाथि बलात्कार भएको दाबी गर्दै उनले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् ।न्युज कारखाना
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।
बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।
आज उनले विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।
केन्द्रको नयाँ सत्ता समीकरण दलहरुमा भएको सहमति अनुसार कर्णाली प्रदेशको नेतृत्व एमालेले पाउने भएको छ ।न्युज कारखाना
काठमाडौँ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले तोयम रायालाई महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गरेकोप्रति आपत्ति जनाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बुधबार विज्ञप्ति जारी गर्दै रायालाई महालेखापरीक्षकमा नियुक्त गर्दा स्वार्थ बाझिने तथा सुशासनमा समेत गम्भीर खलल पुग्ने दाबी गर्दै आपत्ति जनाएकी हुन् ।
संबैधानिक परिषदबाट महालेखापरिक्षकमा सिफारिस गरिएका राया २०८० वैशाख २१ गतेसम्म अर्थसचिव रही तत्पश्चात उपराष्ट्रपतिको कार्यालयमा सचिव र त्यसपछि राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रुपमा काम गरेका थिए ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महालेखापरीक्षक नेपालको संविधानको धारा २४१ मा भएको व्यवस्था अनुरुप नेपाल सरकारका सबै निकायको लेखापरीक्षण गर्ने सर्वोच्च पद भएकाले रायालाई लेखापरीक्षकको रुपमा तोक्दा र लेखापरीक्षककले जिम्मेवारी स्वीकार गर्दा लेखापरीक्षण गराउने निकाय र कार्यसँग लेखापरीक्षकको नैतिक आचरणमा आँच आउने अवस्थाहरू विचार गर्नुपर्ने अभ्यास रहेको पनि अध्यक्ष प्रधानाङ्गले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ-
संवैधानिक परिषदको यस सिफारिसबाट श्री तोयम रायाले आफू अर्थसचिव, उपराष्ट्रपतिको कार्यालयमा सचिव र राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रूपमा कार्यरत रहेको (जसको लेखाउत्तरदायी अधिकृत उहाँ स्वयं नै हो) आर्थिक वर्ष २०७९/÷८० र २०८०/८१ को समेत महालेखा परीक्षण सम्पन्न गर्दै सोको प्रतिवेदनमा अन्तिम हस्ताक्षर गरी सम्माननीय राष्ट्रपति समक्ष बुझाउनुपर्ने हुन्छ ।
यसप्रकार, आफ्नै काम कार्बाही र आफ्नै जिम्मेवारीमा रहेको आर्थिक कारोबारको लेखापरीक्षण आफैँले गर्नु लेखापरीक्षण सम्बन्धी स्वतन्त्रताको सिद्धान्तले नमिल्ने र सोझै स्वार्थको द्वन्द्व हुने मात्र नभइ यसबाट सुशासनमा गम्भीर खलल पर्ने समेत स्पष्टै छ ।’
साथै संसदीय सुनुवाइ समितिसमक्ष स्वार्थको द्वन्द्व नहुने, लेखापरीक्षणको स्वतन्त्रता कायम रहने र सुशासनमा सघाउ पुग्ने अवस्था सुनिश्चित गर्न माग समेत गरिएको छ । न्युज कारखाना
काठमाडौँ ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले चैत्र २२ गते प्रदेश सभाको बैठक बोलाएका छन् ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शेरचनले चैत्र २२ गते अपराहन्न ४ बजे बैठक बोलाएका हुन् । यस बैठकमा मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकहरूको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सुशासनका कैयौँ मानकहरू स्थापित गर्न सरकार सफल भएको बताए । उनले भने, “नागरिकता, राहदानी, लाइसेन्स, विदेशमा अध्ययनका लागि लागि ‘नो अब्जेक्सन लेटर’ लगायतका सेवाहरूका लागि घण्टौंसम्म लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिएको छ ।”
राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवाप्रवाह थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाई राज्यबाट प्रवाह हुने सेवामाथि सबैको पहुँच पुर्याउन आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे ।
गत शैक्षिक सत्रदेखि विद्यालयमा भर्नासँगै विद्यार्थीहरूका हातमा पाठ्यपुस्तक पुग्ने अवस्था सुनिश्चित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बाली लगाउने समयमा किसानलाई मल अभाव हुने विगतको अवस्था समेत अन्त्य गरिएको बताए । उनले भने, “मल खरिद एवं आपूर्ति व्यवस्थापनमा बजेटको अभाव हुन नदिनेगरी चालु आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरिएको छ ।”
संविधानले व्यवस्था गरेका मौलिक हकहरूको कार्यान्वयन तथा सङ्घीयता संस्थागत गर्न आवश्यक पर्ने कानुन तर्जुमाको प्रक्रियालाई तीब्ररूपमा अगाडि बढाइएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय स्थापना गर्न संविधानले निर्दिष्ट गरेका सिद्धान्त कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
“यस अवधिमा सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलाई थप सबल बनाउन प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने राजनीतिक सङ्कल्पअनुसार वित्तीय प्रबन्ध एवं शासकीय अधिकारलाई तीनवटै तहहरूमा न्यायपूर्णरूपमा हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको छ ।”
वित्तीय सङ्घीयता कार्यान्वयनका लागि सरकारले पारदर्शी र वस्तुनिष्ठ आधारमा अध्ययन, अनुसन्धान र विश्लेषण गरी वित्तीय हस्तान्तरण गर्ने व्यवस्था गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले तीनै तहको कार्यविस्तृतीकरण परिमार्जन गरी स्पष्ट बनाउने विषयलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराए ।
देशको समग्र विकासमा निर्णायक महत्त्व राख्ने जलविद्युत् क्षेत्रको विकासमा उल्लेखनीय सुधार भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस अवधिमा विद्युत् उत्पादन र प्रशारण लाइन विस्तारसँगै अन्तरदेशीय विद्युत् व्यापारका लागि बलियो आधार तयार गर्न सरकार सफल भएको स्पष्ट पारे ।
सरकारले गरेका घनिभूत प्रयासका कारण देशको आर्थिक अवस्था लयमा फर्किएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक बन्दै गएको बताए । “देशभित्र लगानी वृद्धि गर्न, उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्न र समृद्धि, सुशासन र सामाजिक न्ययको लक्ष्य पूरा गर्न थप मेहनत गर्नुपर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसका लागि सरकार सचेत र प्रतिबद्ध छ ।”
आम नागरिकको विकास र समृद्धिको आकांक्षालाई यथाशीघ्र पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सिमित स्रोतसाधनको अधिकतम उपयोग गरेर संविधानले परिलक्षित गरेका नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने स्पष्ट पारे ।
“जनतामा राजनीतिक परिवर्तनको अनुभूति हुनेगरी राज्यका कामकारवाही सञ्चालन भएमा मात्र संविधानको वास्तविक कार्यान्वयन हुनेमा सरकार दृढ छ,” प्रधानमन्त्री प्रचण्डले भने, “संविधानको मर्मलाई ध्यानमा राखेर सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मूल मार्गचित्रका रूपमा लिई अगाडि बढको छ ।”न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ ।
संघीय संसद सचिवालयले चैत्र २८ गते अपरान्ह १: १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्बजनिक गरेको हो ।
यसअघि यहि चैत्र १५ गते तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि खालिरहेको छ । न्युज कारखाना
काठमाडौं ।
गृहमन्त्रालयले ९ उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले बुधबार ९ उपसचिवको सरुवा गरेको हो ।
जसमा कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमन्त्रालयमा उपसचिव मोहनप्रसाद न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय अछाम, झंकनाथ ढकाललाई गृहमन्त्रालय, पुष्कर रानालाई विमानस्थलस्थित अध्यागमन कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरीका रेवतीरमण शर्मालाई तातोपानीस्थित अध्यागमन कार्यालय, सीता परियारलाई इलाका प्रशासन कार्यालय साँखुबाट त्रिअवि अध्यागमन कार्यालयमा पठाइएको छ ।
त्यसैगरी मनिता श्रेष्ठलाई जिल्ला प्रशासन भोजपुरबाट त्रिअवि अध्यागमन कार्यालय, शिवराज सेढाइलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग र विजया कुमारी प्रसाईंलाई इलाका प्रशासन कार्यालय साँखु सरुवा गरेको छ ।न्युज कारखाना