२०८३ कार्तिक ७
२०८३ कार्तिक ७

हेटौंडा, २४ साउन। वीरगञ्जको घण्टाघरमा हेटौँडाका एक तीर्थयात्रीमाथि प्रहरीद्वारा कुटपिट भएको छ ।

 

बैकुण्ठधाम तीर्थयात्राबाट फर्किँदै गरेका यात्रीले घण्टाघरको तस्बिर र भिडियो खिच्दा प्रहरीले उनलाई समातेर मोबाइल खोसेको र पछि कुटपिट गरेको आरोप लागेको छ।

गत सोमबार साँझ तीर्थयात्राबाट फर्किँदै गरेको बससँग घण्टाघर चोकमा स्कुटर ठोक्किएको थियो । स्कुटर चालकले आफूलाई र स्कुटरलाई केही नभएको बताउँदै गएपछि बसका चालक र यात्रुसँग घण्टाघरस्थित प्रहरीले सोधपुछ गरेको थियो ।

 

सोही क्रममा बसबाट झरेका हेटौँडा-१८ का गणेशकुमार बरालले घण्टाघरको तस्बिर तथा भिडियो बनाउँदै गर्दा प्रहरीले टी-सर्टमा समातेर मोबाइल खोसेको बराल बताउँछन् ।

त्यसपछि, घण्टाघरस्थित प्रहरी बिटको कार्यालयभित्र लगेर बिना कारण कुटपिट गरेको गणेशसँगै बसमा रहेकी मैयाँ श्रेष्ठले बताइन् ।

 

उनका अनुसार गणेशलाई कुटपिट गरेर फिर्ता पठाएपछि यात्रुहरूले उपचार नगरेसम्म नजाने अडान राखेका थिए । पछि प्रहरीले नै नारायणी अस्पताल लगेर चेकजाँच गराएपछि अवस्था सामान्य रहेको भनेर कागजपत्र बनाएपछि उनीहरू फर्किएका थिए ।

बरालका अनुसार प्रहरी आई साह लगायत ४ जना प्रहरीले उनीमाथि हातपात गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले कुटपिट गर्ने प्रहरीलाई जिल्लामा फिर्ता बोलाइएको र विभागीय कारबाही स्वरूप स्पष्टीकरण सोधिएको जानकारी दिएका छन्।न्युज कारखाना

बाग्लुङ । गत मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ ।

पहिरोमा अझै दुई जना बेपत्ता रहेका छन्। पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको जानकारी दिएको छ । पहिरोले घर पुरिँदा बेपत्ता भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको उनको भनाइ छ ।

पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलबारनै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको थियो ।

पहिरोमा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ ।

न्युज कारखाना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको वरियता हेरफेर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्‍मा वरियता हेरफेर गरेका हुन् ।

उपप्रधानमन्त्री र अन्यमन्त्रीहरुको स्थान यथावत रहेपनि कांग्रेसबाट प्रतिनिधित्व गर्ने दुई मन्त्रीको वरीयाता भने हेरफेर भएको छ । कांग्रेस सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको १४औं स्थानमा बढुवा भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल १६औं स्थानमा पुगेका छन् ।न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरले सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ ।

बिहिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित महानगरका पदाधिकारीले भलिबल खेलाडीलाई जनही एक लाख नगदसहित सम्मान गरेको हो ।

विहिबार उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै नगर प्रमुख बालेनले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए । त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्मान प्राप्त गर्ने खेलाडीहरुमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ रहेका छन् । त्यस्तै खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव र थेरापिष्ट लोकेन्द्रबहादुर कुँवर रहेका छन् ।

खेलको प्राविधिक पक्षमा चर्चा गर्दै उपप्रमुख सुनिता डगोलले, उत्साह र जोश लिएर खेल मैदानमा जानु नै जित भएको उल्लेख गरेकी थिइन् । उनले भनिन्, ‘पदक प्राप्त गर्नु प्राविधिक कुरा हो । खेलमा जित र हार हुन्छ नै । सबैभन्दा महत्वपूर्ण कुरा त खेलाडीको उर्जा हो । महिला भलिवल टोलीमा हामीले त्यो उर्जा पायौँ ।’

सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले, महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख गरे ।

काठमाडौँको दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा ३-२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका हुन् । राउन्ड रोबिन लिगमा नेपालले भारतमाथि विजय गरेको थियो । न्युज कारखाना

काठमाडौँ । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।

बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

भूकम्पको क्षति बारे विवरण आउन बाँकी छ । न्युज कारखाना

काठमाडौँ । श्रीलंकाका स्पिनर प्रवीन जयाविक्रमालाई म्याच फिक्सिङको आरोप लागेको छ ।

आइसीसीले अन्तर्राष्ट्रिय खेल र २०२१ मा श्रीलंका प्रिमियर लिगका क्रममा म्याच फिक्सिङको छानबिनको क्रममा सहयोग नगरेको भन्दै कारवाही गर्ने जनाएको छ ।

उनले म्याच फिक्सिङसँग छानबिनका क्रममा उनले म्यासेज डिलेट गरेको पाइएको र आइसीसीको एन्टी करप्सन युनिटसँग रिपोर्ट नगरेको बताइएको छ ।

आइसीसीले अगस्त ६, २०२४ देखि १४ दिनको समय दिएर प्रवीनलाई आइसीसीको एन्टी करप्सन युनिटमा रिपोर्ट गर्न र आफूमाथि लागेका आरोपको जवाफ दिन समय दिएको उल्लेख गरेको छ ।

२५ बर्षिय स्पिनरले श्रीलंकाका लागि १५ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आइसीसी, श्रीलंका क्रिकेट बोर्ड र श्रीलंका प्रिमियर लिग प्रवीनलाई यस प्रकरणमा एक्सन लिन सहमत भएको बताइएको छ ।

उनले श्रीलंकाका लागि पछिल्लो खेल २०२२ मा अस्ट्रेलियाविरुद्ध टी-२० खेल खेलेका थिए ।     न्युज कारखाना

काठमाडौं । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ घर भएका ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालिका-१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका-१४ घर भएका ३० वर्षीय दिपेश भुषाल रहेका छन् ।

थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्दा विभिन्न विदेशी मुद्रा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूमध्ये महेश मानको साथबाट  युरो १६ हजार ५ सय ५० र क्यानेडियन डलर १० हजार ९ सय, मानव आचार्यको साथबाट युरो ८ हजार ९ सय ५० र थाई भाट ३ हजार ६ सय ६० तथा दिपेश भुषालको साथबाट युरो १३ हजार ४ सय, स्विस फ्रान्क २ हजार ४ सय, क्यानेडियन डलर ४ हजार ५ सय, साउदी रियाल १९ हजार, थाई भाट २ हजार र जापनिज येन ४ लाख ९० हजार बरामद भएको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने छ । न्युज कारखाना

काठमाडौं । अवैध लागूऔषध कोकिन ६ किलो २४ ग्राम सहित लात्भिजास नागरिक आइभार्स भल्टर्सलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

कतार एयरवेजको उडानद्वारा नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षको वाक थ्रु गेटमा तलासी गर्दा निजको साथमा रहेको सुटकेशभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको कोकिन फेला पारी पक्राउ गरेको हो ।

उनी उपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । न्युज कारखाना

काठमाडौँ । पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ ।

बुद्धदेव भट्टाचार्यको ८० वर्षको उमेरमा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनी केही दिनदेखि बिरामी थिए । बुद्धदेव भट्टाचार्य सन् २००० देखि २०११ सम्म लगातार ११ वर्ष पश्चिम बङ्गालको मुख्यमन्त्री बनेका थिए ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधनले दुःखी भएको उल्लेख गरेकी छन् ।

ममता बनर्जीले भनिन्, ‘म उहाँलाई धेरै दशकदेखि चिन्छु र पछिल्ला केही वर्षहरूमा उहाँ बिरामी हुँदा म उहाँको घरमा धेरै पटक गएकी थिएँ । उहाँको निधनले म दुखी छु ।’

उनी पश्चिम बंगालमा ३४ बर्ष कम्युनिष्टको सरकार रहदाका आखिरी मुख्यमन्त्री हुन् । न्युज कारखाना

 

काठमाडौँ । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरीले देशमा चर्को उथलपुथलका बीच पदबाट हटाइएपछि आफ्नी आमालाई भेट्न नपाएको पीडा व्यक्त गरेकी छिन् ।

हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा पोष्ट गर्दै यस दुःखद घडीमा आफ्नी आमालाई अँगालो हाल्न पनि नसकेको उल्लेख गरेकी हुन् । शेख हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै यसप्रति दुःख व्यक्त गरेकी छन् ।

साइमा वाजेदले लेखेकी छिन्- ‘मैले माया गर्ने मेरो देशमा मानिहरुले ज्यान गुमाउनु पर्दा म दुखी छु । यो कठिन समयमा आमालाई भेट्न र अँगालो हाल्न नसक्दा म अत्यन्तै दुखी छु । म विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकको रूपमा मेरो जिम्मेवारीप्रति प्रतिबद्ध छु ।’

बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक प्रदर्शनका कारण शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेकी छन् र उनी अहिले भारतमा छिन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।