आरके श्रीवास्तव,राैतहट,भदौ २१ गते ।
नेपाली कांग्रेस कटहरिया नगर समितिको आयोजनामा नगरस्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति तथा मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र) हुनुहुन्थ्यो ।
कार्यक्रममा मन्त्री यादवले कार्यकर्ताहरूसँग खुला संवाद गर्दै पार्टीभित्रको आन्तरिक एकता, संगठनात्मक सुदृढीकरण, तथा स्थानीय सरकारको उत्तरदायित्वबारे महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “पार्टी बलियो भए मात्र सरकार बलियो हुन्छ । संगठन सशक्त नभएसम्म जनताका मुद्दा उठाउन सकिँदैन। अहिलेको आवश्यकता भनेको कार्यकर्ता र नेतृत्वबीचको विश्वासको सेतु निर्माण गर्नु हो।”

अर्थमन्त्री यादवले कार्यकर्ताको गुनासो सुन्ने र समाधान गर्ने जिम्मेवारी नेताहरूको भएको उल्लेख गर्दै, पार्टीले सबैलाई समेट्ने नीति अवलम्बन गरिरहेको स्पष्ट पार्नुभयो । साथै, उहाँले पार्टीले आगामी निर्वाचनलाई लक्ष्य गरी नीति, संगठन र सञ्जाल तीनवटै क्षेत्रमा तयारी तीव्र पारिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा कार्यकर्ताहरूले स्थानिय तहमा देखिएका समस्या, नेतृत्वप्रतिको असन्तुष्टि, तथा कार्यसम्पादनमा पारदर्शिता लगायतका विषयमा गुनासाहरू राखेका थिए । मन्त्री यादवले सबै कुरा ध्यानपूर्वक सुन्दै आवश्यक कदम चालिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस कटहरिया नगर समितिका अध्यक्ष शम्भुकान्त यादवले गर्नुभएको थियो । उहाँले सबै कार्यकर्तालाई संगठन बलियो बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरका विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै दर्जनौं कार्यकर्ताको उपस्थिति रहेको थियो । छलफलात्मक वातावरणमा सम्पन्न भएको यस कार्यक्रममा सहभागीहरूले भविष्यमा यस्ता कार्यक्रमलाई अझ नियमित गर्नुपर्ने सुझाव पनि दिएका छन् ।
आरके श्रीवास्तव,राैतहट,भदौ २१ गते ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता ज्ञानेन्द्र प्रसाद यादवले फतुवा विजयपुर नगरपालिका वडा नं ३ मेवामा जनतासँग भेटघाट तथा जनसंवाद कार्यक्रम सम्पन्न गरेका छन् ।
उक्त कार्यक्रममा नेता यादवले आफ्नो पार्टी नेपाली कांग्रेसको वडा नम्बर ३ का वर्तमान वडाध्यक्ष रामईश्वर राय यादवले गरेका कार्यहरूको मूल्यांकन गर्न स्थानीय जनताको राय लिएका थिए । उहाँले जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास निर्माण, स्वास्थ्य, शिक्षा तथा स्थानीय स्तरका सेवा सुविधाको अभावबारे गहिरो चासो व्यक्त गर्नुभयो ।

“पार्टीले जनता प्रतिको उत्तरदायित्व पूरा गर्न सक्नुपर्छ,” यादवले भने, “हामी नेताहरू जनताको सेवक हौं, त्यसैले जनताको आवाज सुन्नु र बुझ्नु हाम्रो पहिलो कर्तव्य हो।”
स्थानीय बासिन्दाहरूले पनि वडामा भइरहेका कार्यहरूको बारेमा खुलेर प्रतिक्रिया दिएका थिए । कतिपयले विकास निर्माणमा सुधारको माग गरेका थिए भने केहीले वर्तमान नेतृत्वको प्रयासको सराहना समेत गरेका थिए ।

कार्यक्रममा पार्टीका स्थानीय कार्यकर्ता, युवाहरु, महिलाहरू तथा बृद्धबृद्धाहरूको समेत उत्साहजनक उपस्थिति रहेको थियो ।
नेता यादवले आगामी दिनहरूमा थप पारदर्शिता, जवाफदेहिता र जनतामुखी नीति मार्फत नेपाली कांग्रेसलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ओम प्रकाश यादव,राैतहट,भदौ २१ गते ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले मधेश प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आउँदो यही भदौ ३१ गतेदेखि असोज १ गतेसम्म हुने जसपा नेपालको मधेश प्रदेश अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने नेता यादवले घोषणा गरेका हुन् ।
देशमै सबभन्दा ठूलो जनाधार रहेको जसपा नेपालको मधेश प्रदेशको अधिवेशन यही भदौ ३१ गतेदेखि सुरु हुन लागेको छ।
नयाँ नेतृत्व चयनका लागि जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको हुन् लागेको अधिवेशनमा जसपा नेपालका चर्चित प्रभावशाली नेता मानिने पूर्व राज्य मन्त्री योगेन्द्र राय यादवले प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि निर्वाचन निकै रोचक र प्रतिस्पर्धात्मक हुने भएको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको लामोसमय सहयात्री र सहयोगी भएर विगतमा काम गरिसकेका, मधेश प्रदेश सरकारमा लगातार पाँच वर्ष राज्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका, पार्टीको मधेश प्रदेशको राजनीतिमा बलियो पकड बनाउन सफल, प्रदेशको राजनीतिमा ठूलो योगदान दिएका र विद्यार्थी जीवनदेखि नै मधेशलाई आधार बनाएर राजनीति गर्दै आएका योगेन्द्र राय यादव जसपा नेपालको मधेश प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि पार्टीमा नयाँ तरंग पैदा गरेको छ।
निकै संघर्षशील र मेहनती भएका योगेन्द्र यादवको उम्मेदवारी घोषणाले चुनाव निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ भने उनको जीत लगभग सुनिश्चित जस्तै नै रहेको पार्टीका नेताहरु बताउँछन् ।
नेता योगेन्द्र यादवले चुनाव लड्ने लक्ष्यका साथ नै विगत केही महिनादेखि मधेस प्रदेशका आठवटै जिल्लामा नेता कार्यकर्तासँग भेटघाट गर्दै आएका थिए ।
मधेशको सबै जिल्लामा जसपा नेपालका शीर्ष नेता देखि लिएर प्रदेश र जिल्लाका अधिकांश नेता कार्यकर्ताहरु भित्री रूपमा प्रदेश अध्यक्षमा योगेन्द्र राय यादवलाई नै सघाउने रणनीति बनाइसकेका छन्।
त्यस कारण प्रदेश अध्यक्षमा योगेन्द्र यादवको जीत सुनिश्चित नै रहेको नेताहरुको दावी छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य तथा पार्टीका अन्य शीर्ष नेताहरूको उपस्थितिमा जनकपुरधाममा भव्य समारोहकाबीच जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश अधिवेशनको उद्घाटन यही भदौ ३१ गते हुँदैछ।
भदौ ३१ गते अधिवेशनको उद्घटानसत्र हुने र असोज १ गते देखि बन्दसत्र सुरु हुने कार्यक्रम रहेको छ।
प्रदेश अध्यक्षका आकांक्षी अहिलेसम्म दुईजना योगेन्द्र यादव र हालका प्रदेश अध्यक्ष बालकिशोर यादव मात्र देखिएका छन्।
वर्तमान प्रदेश अध्यक्ष बालकिशोर यादव पुनः प्रदेश अध्यक्षमा उम्मेदवारी दिने बताइएको छ।
आरके श्रीवास्तव,राैतहट,भदौ २० गते ।
राैतहट- आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणमा उल्लेखनीय सफलता हासिल गर्दै ईशनाथ नगरपालिका, रौतहटले महालेखापरीक्षकको कार्यालयबाट आज प्रशंसा-पत्र प्राप्त गरेको छ । सम्पूर्ण मधेश प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्ने एक मात्र स्थानीय तहको रूपमा ईशनाथ नगरपालिका चयन भएको हो ।
ईशनाथ नगरपालिकामा आयोजित विशेष कार्यक्रममा नायब महालेखापरीक्षक इन्द्रप्रसाद आचार्य, उपमहालेखापरीक्षक पदमराज पौडेल तथा महालेखापरीक्षक तोयम रायाको संयुक्त हस्ताक्षरित उक्त प्रशंसा–पत्र नगरपालिकाकाे कार्यालयमा प्रदान गरिएको हो ।

लेखापरीक्षणका क्रममा ईशनाथ नगरपालिकाको कुल बेरुजु रु.७६,३८,३०७।– मात्र देखिएको थियो । जुन लेखापरीक्षण गरिएको कुल रकमको केवल ०.६१ प्रतिशत हो । साथै, यस नगरपालिकाले रु.७,६६,२०,०८५।– बराबरको बेरुजु फर्स्यौट तथा सम्परीक्षणसमेत गराएको छ । जुन यसअघि कायम बेरुजुहरूको तुलनामा उल्लेखनीय प्रगति हो ।
नगरप्रमुख कौशल्या देवीको नेतृत्व र प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताको प्रशासनिक व्यवस्थापनमा नगरपालिकाले वित्तीय अनुशासन, उत्तरदायित्व र पारदर्शिता कायम राख्न सफल भएको हो। दुवै जनाको सक्रिय पहल, निगरानी र समन्वयकारी भूमिकाको प्रशंसा गरिएको छ ।
नगरप्रमुख कौशल्या देवीले कार्यक्रमपश्चात् प्रतिक्रिया दिँदै भनिन्, “यो पुरस्कार सम्पूर्ण नगरवासी र कर्मचारीहरूको साझा उपलब्धि हो । हामी अझ पारदर्शी, उत्तरदायी र सेवामुखी नगरपालिका निर्माणमा प्रतिबद्ध छौं।”
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले भने, “वित्तीय अनुशासन कायम गर्न र लेखापरीक्षणको सन्तोषजनक नतिजा ल्याउन कर्मचारीहरूको निरन्तर प्रयास, विभागीय समन्वय र समयमै तथ्यांक अद्यावधिक गर्ने संस्कार मुख्य कारण हुन्।”
कार्यक्रममा सहभागी विभिन्न सरोकारवालाहरूले आर्थिक पारदर्शिता र स्थानीय तहको सुशासन प्रवर्धनमा ईशनाथ नगरपालिकाको उदाहरणीय कार्यशैलीको प्रशंसा गरेका थिए ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २० गते ।
रौतहट –”तीनै तहका सरकार मिली गरौं हातेमालो : मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो” भन्ने मूल नाराका साथ १९ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस रौतहट जिल्लामा विशेष कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटको आयाेजनामा प्रभातफेरी कार्यक्रम बिहानैदेखि सुरु भई सदरमुकाम गाैरकाे प्रमुख सडक हुँदै परिक्रमा गरियो । कार्यक्रममा सरकारी निकाय, स्थानीय तहका प्रतिनिधि, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, विद्यालयका विद्यार्थी, युवा क्लबहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले मानव बेचबिखनजस्तो जघन्य अपराधको अन्त्यका लागि सबै तहका सरकार र समुदायबीच समन्वय आवश्यक रहेको बताए । उहाँले मानव बेचबिखनविरुद्ध जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमको महत्व अत्यधिक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागिता जनाएकाहरूले विभिन्न सचेतनामूलक प्लेकार्ड, नाराबाजी तथा सांस्कृतिक प्रस्तुतीमार्फत जनचेतना अभिवृद्धिमा योगदान पुर्याएका थिए ।
मानव बेचबिखनको रोकथाम, पीडितको संरक्षण तथा पुनःएकीकरणको प्रयासमा सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने सन्देश दिँदै कार्यक्रम समापन गरिएको थियो ।
कार्यक्रममा शिक्षा, समाज र शिक्षक सरोकारवालाहरू सहभागी हुनेछन् । प्यानलमा नगर प्रमुख सुरत केसी, सामाजिक विकास समिति प्रमुख चक्र केसी, म्याग्दी बहुमुखी क्याम्पसका सहप्रध्यापक रेखाकौशल रेग्मी, र जमुनाखर्क नमूना माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गाना र शिक्षक महासङ्घ म्याग्दीका निवर्तमान अध्यक्ष जयराम सुवेदी सहभागी हुनेछन्। कार्यक्रमको मोडेरेटरको भूमिका प्रकाश अधिकारीले सम्हाल्नेछन्।
प्यानल डिस्कसनले सामुदायिक शिक्षा खस्किनुको कारण पहिचान, समाधानका सम्भावित उपायहरू, र शिक्षक, अभिभावक र समुदायसँग साझा कार्ययोजना तयार गर्ने उद्देश्य राखेको छ।
बाल दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले सामुदायिक शिक्षाको वर्तमान अवस्था उजागर गर्नेछ र सुधारका ठोस सुझाव प्रस्तुत गर्ने विद्यालयका सूचना अधिकारी अमृता जिसी रोकाले जानकारी दिनुुभयो ।
साथै बेनी नगरपालिकाको आयोजना तथा विद्यालयको व्यवस्थापनमा नगरपालिका स्तरीय ‘बालविवाह न्यूूनिकरणमा स्थानीय सरकारको भूुमीका’ विषयक वक्तृत्वकला प्रतियोगिता पनि सन्चालन हुने विद्यालय इन्चार्ज शोभाकान्त लामिछानेले जानकारी दिनुुभयो । लामिछानेका अनुुसार वक्तृत्वकला प्रतियोगितामा बेनी नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन।
त्यस्तैगरि यही भाद्र २७, २८ र २९ गते तीनदिन सम्म विद्यार्थीको चौतर्फी विकासको लागि वृहत् खेलकुद सप्ताह पनि आयोजना गर्न लागिएको अतिरिक्त विभाग प्रमुुख सुुजन पुुनले जानकारी दिनुुभयो । २९ गते प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा विष्लेश्ण समेत गरिने विद्यालयले जनाएको छ । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूलाई सक्रिय सहभागिता जनाउन आमन्त्रण गरिएको छ।
काठमाडौँ । फेसबुकको माउ कम्पनी मेटा सरकारको सम्पर्कमा आएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नभएका २६ ओटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएसँगै मेटा सम्पर्कमा आएको हो ।
मेटाले सञ्चारमन्त्री गुरुङका आईटी सल्लाहकार डा. शालिग्राम पराजुलीलाई सम्पर्क गरेर सूचीकरणका लागि आवश्यक डकुमेन्ट माग गरेको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले टेकपानासँग मेटाले डकुमेन्ट माग गरेको पुष्टि गरे ।
“हो, मेटाको सिंगापुरस्थित कार्यालयका प्रतिनिधिले मन्त्रीज्यूका आईटी सल्लाहकारलाई सम्पर्क गरेर आवश्यक कागजात माग गरेको छ । त्यसपछि हामीले आधिकारिक रूपमा आवश्यक डकुमेन्टसहितको विवरण मेटाको सिंगापुरका प्रतिनिधिलाई पठाइसकेका छौँ,” ठाकुरले भने ।
मेटाले विवरण तथा कागजात माग गरेपनि उसका प्लेटफर्ममाथि लगाइएको प्रतिबन्ध तत्काल खुल्ने छैन । प्रवक्ता ठाकुरका अनुसार मेटाले आवश्यक डकुमेन्टसहित मन्त्रालयलाई निवेदन पठाएको खण्डमा सूचीकरण प्रक्रिया अघि बढ्नेछ ।
“हामीले पठाएका डकुमेन्ट र काजगाज मेटाले निवेदनसहित दर्ता गरे तुरुन्तै प्रतिबन्ध फुकुवा हुनेछ । त्यो त हामीले भन्दै आएका छौँ,” ठाकुरले भने । सभार टेकपाना
जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत “अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति, जनकपुरधाम” को नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ ।
हालसम्मको कार्यकाल सम्पन्न भई श्रम विभागमा दर्ता भइसकेको यस युनियनले विधानअनुसार निवर्तमान कार्यसमितिलाई धन्यवादसहित बिदाई गर्दै नयाँ कार्यकालका लागि कार्यसमिति गठन गरेको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा डा.अनिल कुमार ठाकुर, उपाध्यक्षमा डा. राजेश कुमार शाह, सचिवमा अजित कुमार तिवारी, सह–सचिवमा ई. पवन कुमार महतो र कोषाध्यक्षमा किरण यादव रहेका छन् ।
यसैगरी, सदस्यहरू डा. रमेश यादव, डा. कुन्दन मिश्र, रुबी साह, विभा कर्ण, पुनम ठाकुर, कौसिल्या तिमिसिना, विना साह, अशोक कुमार यादव, श्रीचन मण्डल र बंकर मेस्तर चयन भएका छन् ।
त्यस्तै, सल्लाहकार समितिमा पूर्व अध्यक्ष डा. रबिन्द्र कुमार सिंह र कानूनी सल्लाहकार श्री एम. के. झा रहने निर्णय गरिएको छ ।
यसैगरी, निजामती कर्मचारी बाहेक मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीलाई बिधान अनुसार सदस्यता शुल्क लिएर सदस्यता वितरण गर्ने निर्णय समेत सर्वसम्मतिले गरिएको छ।
बैठकले प्रादेशिक अस्पताल जनकपुरधामका स्वीपर पदमा कार्यरत दिवंगत कर्मचारी भोला कुमार राउत (मेस्तर) को असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै एक मिनेट मौनधारणसहित श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ।
कर्मचारीहरुको हक–अधिकार र कर्तव्यबारे बैठकले आगामी दिनमा युनियनले कर्मचारीहरुको हक, अधिकार र कर्तव्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ ।
कर्मचारीलाई सुरक्षित, सम्मानजनक र भेदभावमुक्त वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्ने, तलब, भत्ता, सुविधा तथा पेशागत हकहितका विषयमा प्रबन्धकीय निकायसँग निरन्तर वार्ता–संवाद गर्ने, सेवा अवधिभर तालिम, प्राविधिक दक्षता र कार्यक्षमता अभिवृद्धिमा जोड दिने, कर्मचारीले आफ्नो कर्तव्य पालनामा इमानदारी, समयपालन र सेवाप्रति उत्तरदायित्वका साथ खटिनुपर्ने, बिरामी तथा सेवाग्राहीलाई गुणस्तरीय र मानवतापूर्ण सेवा दिनु प्रत्येक कर्मचारीको पहिलो कर्तव्य हुने, जस्ता आधारभूत बुँदामा कार्यसमितिले ऐक्यबद्धता जनाउँदै सर्वसम्मतिले पारित गरेको हो ।
काठमाडौं,१९ गते भादो ।
सरकारले दर्ता नहुने र दर्ताका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सञ्चार मन्त्रालयका अनुसार हालसम्म नेपालमा टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट दर्ता भइसकेको छन् ।
सरकारले दर्ता नभए बन्द गर्ने चेतावनी दिएपछि टेलिग्राम र ग्लोबल लिंक भने दर्ता हुन आएका छन् । तर, फेसबुक, युट्युब, इन्स्टाग्राम लगायतका सामाजिक सञ्चाल भने दर्ता हुन समेत आएका छैनन् ।
सरकारले दर्ता हुन भन्दै दिएको म्याद बिहीबार मध्यरातीदेखि सकिएको छ । सो अवधिमा पनि दर्ता हुन नआएपछि सरकारले दर्ता हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अर्थ सरोकार
चन्दन महताे,गाैर,भदौ १९ गते ।
प्रादेशिक अस्पताल गौर, रौतहटमा आज स्थापना दिवसको अवसरमा एक विशेष कार्यक्रमका बीच वृहत रक्तदान कार्यक्रम संचालन गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो । यस रक्तदान कार्यक्रमको आयोजना नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्य समिति, रौतहटको संयुक्त सहकार्य र प्रादेशिक अस्पताल गौर, रौतहटको सहयोगमा गरिएको हो ।

रक्तदान गर्दै प्रमुख अतिथि खड़काले भन्नुभयो, नियमित रक्तदानले अनगिन्ती मानिसको जीवन बचाउन मद्दत पुग्छ। यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनु हाम्रो सामूहिक दायित्व हो।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रादेशिक अस्पताल गौर, रौतहटका अध्यक्ष मो. अनवर हाशमीले भन्नुभयो, रगतको अभावका कारण कुनै पनि बिरामीले उपचार पाउन समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले यस्ता अभियानहरू समाजका लागि अत्यन्त महत्वपूर्ण छन्।
सो अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, स्वास्थ्यकर्मी, स्थानीय युवा, स्वयंसेवक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आजको रक्तदान कार्यक्रममा दर्जनौँ स्वयंसेवकहरूले स्वेच्छाले रगत दान गरेका छन्।