आरके श्रीवास्तव,राैतहट,१३ गते साउन ।
रौतहटकाे कटहरियामा वि.सं. २०४९ सालदेखि सञ्चालनमा रहेको त्रिशक्ति एकेडेमी अंग्रेजी आवासीय विद्यालयले आफ्नो शैक्षिक यात्रालाई अझ प्रभावकारी बनाउन नयाँ नेतृत्व चयन गरेको छ ।
विशेष कार्यक्रमका बीच विद्यालयका संस्थापक प्रकाशमान श्रेष्ठले नव नियुक्त प्रिन्सिपल रोहित कुमार साहलाई दोसल्ला ओढाइ सम्मान गर्दै स्वागत गरेका छन् ।

नवनियुक्त प्रिन्सिपल साहले व्यवस्थापन (MBS) र कम्प्युटर एप्लिकेसनमा डिप्लोमा अध्ययन गरेका छन् ।
शिक्षा र प्रविधिको समन्वयमार्फत विद्यालयलाई गुणस्तरीय शिक्षाको नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएका साहसँग विद्यालयप्रतिको गहिरो समर्पण र भविष्यदृष्टि रहेको संस्थापक श्रेष्ठले बताएका छन् ।
श्रेष्ठका अनुसार, “त्रिशक्ति एकेडेमी विगत ३२ वर्षदेखि शिक्षाको उत्कृष्टता कायम राख्दै आएको हो । यहाँ पढेका विद्यार्थीहरू आज उपसचिव, इन्जिनियर, डाक्टर जस्ता जिम्मेवार पदमा कार्यरत छन् । विद्यालयले अब शिक्षाको नयाँ युगमा प्रवेश गर्नुपर्ने आवश्यकता महसुस गर्दै प्रिन्सिपल परिवर्तन गरिएको हो।”
प्रिन्सिपल साहले आफ्नो मन्तव्यमा विद्यालयको पूर्व गौरवलाई अझ उच्च बनाउने प्रतिबद्धता जनाउँदै भने, “शिक्षा अब केवल किताबी ज्ञानमा सीमित हुन सक्दैन। जीवनोपयोगी, प्रविधिमैत्री र मूल्य आधारित शिक्षाको खाँचो छ । म सबै शिक्षक, अभिभावक र विद्यार्थीहरूसँग सहकार्य गर्दै त्रिशक्ति एकेडेमीलाई नयाँ ऊचाइमा पुर्याउने दृढ संकल्पका साथ जिम्मेवारी लिएको छु।”
कार्यक्रममा विद्यालय परिवार, अभिभावक प्रतिनिधि र स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
शिक्षामा फड्को मार्न एक नयाँ अध्याय
संस्थापक श्रेष्ठ र प्रिन्सिपल साहको साझा दृष्टिकोणले त्रिशक्ति एकेडेमीमा गुणस्तरीय शिक्षाको नयाँ युग सुरु हुने आशा गरिएको छ । शिक्षा क्षेत्रमा यो परिवर्तन एक सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,१२ गते साउन ।
रौतहटकाे कटहरियामा लामो समयदेखि वर्षा नहुँदा खेतिपातीमा गम्भीर असर पर्न थालेपछि पानीकाे लागि सामूहिक रूपमा नामाज अदा गरिएको छ । कटहरिया नगरपालिकास्थित क्रिकेट ग्राउन्डमा साेमबार बिहान सयौं मुस्लिम समुदायका मानिसहरूले १ घण्टा लामो विशेष नामाज पढ्दै वर्षाकाे लागि अल्लाहसँग दुआ मागेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का कटहरिया नगर अध्यक्ष तथा मेयर प्रत्यासी नसरूदिन अन्सारीले यस कार्यकाे नेतृत्व गर्दै यो धार्मिक अभ्यास वातावरणीय संकटकाे सन्देश दिनेसमेत भएको बताए । “धेरै दिनदेखि पानी नपर्दा यहाँका धान रोप्न नसकिएको अवस्था छ । वर्षाकाे आशामा हामीले सामूहिक रूपमा अल्लाहसँग प्रार्थना गरेका हाैं,” उनले भने ।

सामूहिक प्रार्थना कार्यक्रममा राजपुर मदरसाका शिक्षक मौलाना शेराजुल हकले उपस्थित मुस्लिम समुदायलाई नमाज अदा गराएका थिए । मौलाना हकले भने, “नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले पनि सुख्खा परेका बेला पानीका लागि यस्तो नमाज पढ्ने गर्नुहुन्थ्यो। हामीले पनि त्यसैको अनुकरण गरेका हौँ।”

नामाजमा कटहरिया, सन्तपुर, विजयपुर, पिप्रा, पोखरिया, बगही लगायतका गाउँबाट मुस्लिम समुदायका सयौंको संख्यामा सहभागिता जनाइएको थियो । सहभागीहरूले वर्षाकाे निम्ति एकता र आस्था देखाउँदै नमाजका माध्यमबाट संकट समाधानकाे अपिल गरेका थिए ।

जिल्लाका अन्य क्षेत्रहरूमा समेत यस्तै प्रकारका पानीका लागि विशेष नामाज पढिएको जनाइएको छ । कृषिमा भर पर्ने मधेस क्षेत्रमा वर्षा नहुँदा हजारौं किसानहरू चिन्तित छन् ।
सामुदायिक स्तरमा गरिएको यस्तो पहलले धार्मिक आस्थासँगै सामाजिक एकता र पर्यावरणप्रति चिन्ताकाे भावना झल्काउने बताइएकाे छ ।

फोटो फिचर……



काठमाडौ ।
अधिवक्ता बिष्णु गिरीले देशैभरीका स्थानीय निकायमा कानूनी साक्षरता अभियान सञ्चालन गरिनुपर्ने जोड दिएका छन् नागरिक समाजले आयोजना गरेको अन्तरकृया कार्यक्रममा यस्तो बताएका हुन् । ललितपुर बार एसोसियसनका सदस्य समेत रहेका अधिवक्ता गिरीले कानूनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान आवश्यक रहेको बताए । कुन विषय र मुद्दामा कस्तो कानून आर्कषण हुन्छ भनेर ग्रामीण क्षेत्रका बासिन्दालाई जानकारी भयो भने अपराध न्यूनीकरणमा सहयोग अधिवक्ता गिरीको भनाइ छ ।
ज्यान सम्बन्धी, करणी, विवाह, अपहरण, शरीरबन्धक, बोक्सीको आरोप, छुवाछुत र भेद्भाव सम्बन्धी कानूनी साक्षरता ज्ञान स्थानीय निकायमा आवश्यक रहेको उनले बताए । अंश, सम्बन्धविच्छेद, अपुताली, दानबकस, लिखत पारित लगायतको मुद्दाको बारेमा पनि स्थानीय निकायले कानूनी साक्षरताको माध्यमबाट जनतालाई बुझाउनको लागि पनि अभियान आवश्यक रहेको अधिवक्ता गिरीको भनाइ छ ।
अधिवत्ता गिरीले अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक जस्ता जनसरोकारका मुद्धामा सफलता प्राप्त गरेका छन् । कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने ब्यबस्था छ । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानीन भनेर क्षमा पाउँदैन त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक भईरहेकाले कानूनको जानकारी जो सुकैमा हुनुपर्नेमा अधिवत्ता गिरीको जोड छ ।
अधिवत्ता गिरीले बिभिन्न स्थानीय निकाय, बिधालय, सामुदायिक संघ संस्थाहरुमा कानून सम्बन्धी सचेतना मूलक कार्यक्रम गदै आएका छन् । बिभिन्न पत्रपत्रिका तथा संञ्चारमाध्यमबाट नियमित रुपमा कानून सम्बन्धी लेख रचना तथा अन्र्तवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा जानकारी दिदै आएका छन् । मेलमिलाप कर्ता समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय कानून सम्बन्धी बिबिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम दिदै आएका छन् ।
अधिवत्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको बिबिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव पनि छ । अधिबता बिष्णु गिरी, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कानून सम्बन्धी तालिम समेत लिएका छन् ।
राकेश यादव ,११ साउन
रौतहट जिल्लाको राजदेवी नगर पालिका वडा नम्बर ७ मुडवालबा स्थित वडा कार्यालयको सभाहलमा आइतवार महिला हिंसा बिरुद्ध कानुनी सचेतना तालिम सम्पन्न भएको छ।
टेवा फाउन्ड़ेशन फर जस्ट सोसाइटी नेपालको सहयोग तथा महिला तथा बाल बालिका उत्थान केन्द्रको आयोजनामा तालिम सम्पन्न भएको हो।
महिलाहरू माथि हुने बिभिन्न किसिमका हिंसा न्युनिकरण गर्ने उदेश्यले सहयोगी सस्थाले कार्यक्रम संचालन गरेको छ।
आयोजक सस्थाका अध्यक्ष चन्द्रकला देवी रामको अध्यक्षतामा भएको सो तालिममा राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले महिला पुरुष समान हुन हिंसा विभेद गर्नु कानुनी सामाजिक अपराध भएको बताउनु भएको छ।
महिलालाइ सरकारले सबै क्षेत्रमा सहभागिता जनाउने अधिकार प्रदान गरेकोले कुनै प्रकारले दवाव दिएर अधिकारबाट बन्चित गर्न नपाइने धारणा राखे।
कार्यक्रममा नगर उपप्रमुख राजकुमारी देवीले महिला माथि अझै समाजमा परिवारमा हिंसा हुने गरेकोले यसको प्रतिवाद गर्न सबै महिलाहरू एक जुट भएर लाग्नु पर्ने जोड दिए।
तालिममा सहभागी भएका महिलाहरुलाई अधिबक्ता सोनेलाल पासवानले महिला माथि गरिने हिंसाको बिरुद्धमा भएको कानुनी व्यवस्था, कार्यवाही गर्ने निकाय, उजुरी दिने समय, सिमा, सम्बन्धित निकायको बारेमा जानकारी गराएका छन्।
घर भित्र परिवार, लोग्ने, सासु ससुरा आफन्त बाट हुने हिंसा घरेलु हिंसा भित्र पर्ने भएकोले त्यस्तो भएमा जिल्ला प्रहरी कार्यालयमा तत्काल उजुरी दिनु पर्ने जानकारी गराए।
मानसिक, शारीरिक, आर्थिक, सामाजिक, लिङ्ग, जात, बर्णको आधारमा पनि हिंसा र विभेद हुने गरेको हुदा यस्तो हिंसा, यातना दिएमा खुलेर उजुरी गर्न महिलाहरुलाई आग्रह गरिएको छ।
सामाजिक अभियन्ता मो. मोतिउर रहमानले समाजमा महिला माथि पुरुषहरू द्वारा तथा महिलाले महिला माथि हिंसा दिने गरेको अवस्था देखिएको हुदा कुनै पनि बहानामा हिंसाजान्य गतिबिधि नगर्न नगराउन आग्रह समेत गरेका छन्।
कोलकाता । भारतमा सनातन हिन्दू धर्मका झण्डाबाहक, गौमाताको संरक्षणका लागि प्रेरणा दिने धर्म सम्राट स्वामी करपात्री जी महाराजको ११८औँ प्राकट्य दिवस कोलकातामा आस्था र भक्तिभावका साथ मनाइएको छ।
पूर्व विधायक सुरेन्द्र बहादुर सिंहले भक्तजनहरूलाई स्वामी करपात्री महाराजको सम्झना गराउँदै भारतलाई हिन्दू राष्ट्र बनाउने लक्ष्यप्रति सचेत रहँदै वैदिक सनातन हिन्दू धर्म र संस्कृतिको पालन गर्न प्रेरणा दिए।
कार्यक्रममा प्रमुख अतिथि बन्धुगौरव ब्रह्मचारी, समाजसेवी पण्डित लक्ष्मीकान्त तिवारी, डा. प्रेमशंकर त्रिपाठी, जे. पी. सिंह, आचार्य राकेश पाण्डेय, रामप्रसाद सराफ, डा. एस. के. अग्रवाल, वरिष्ठ पत्रकार सुधांशु शेखर, अशोक तिवारी, प्रयागराज बंसल लगायत अन्य अतिथिहरू र श्रद्धालु भक्तहरूको स्वागत शंकराचार्य निश्चलानंद सरस्वती महाराजका कृपापात्र शिष्य तथा संयोजक प्रेम चन्द्र झा, पोद्दार सेवा ट्रस्टका अध्यक्ष डा. अशोक पोद्दार, देवाशीष गोस्वामी, पिंकी गोस्वामी तथा अन्य कार्यकर्ताहरूले गरे।
डा. प्रेमशंकर त्रिपाठीले आयोजकलाई धन्यवाद दिँदै यस्ता धार्मिक कार्यक्रमहरूले धार्मिक निष्ठा बलियो बनाउने बताए। उनले परिवारका बालबालिका र युवापुस्तालाई सुसंस्कारित बनाउनु आवश्यक रहेको उल्लेख गरे। डा. अशोक पोद्दारले कल्याणीमा भगवान जगन्नाथको भव्य मन्दिर, गुरुकुल गौशाला र निर्माणाधीन सामाजिक सेवा योजनाहरूको जानकारी दिँदै सबैलाई सहयोग गर्न आग्रह गरे।
प्रेम चन्द्र झाले धर्म सम्राट करपात्री जी महाराजका उद्देश्यहरूलाई स्पष्ट पार्दै भने— “सनातन मान्यताको संरक्षणका लागि वैदिक गुरुकुल प्रणालीबाट शिक्षा आवश्यक छ। वेदसम्मत कर्मकाण्डबाट धर्मप्रतिको आस्था जागृत हुन्छ, भारत अखण्ड हुनेछ र पूज्य शंकराचार्य निश्चलानंद सरस्वती महाराजको राष्ट्र उत्कर्ष अभियानमार्फत हिन्दू राष्ट्र निर्माणको लागि सञ्चालित जनचेतना कार्यक्रमको जानकारी दिनुभयो।”
सभी वक्ताहरूले गौमाताको संरक्षण र संवर्द्धनको लागि गोसेवाको संकल्प लिन आह्वान गरे।
यस अवसरमा पुरुषोत्तम तिवारी, अशोक लाडसरिया, प्रकाश किल्ला, राजकुमार मूंधड़ा, गोकर्ण शोरेवाल, महेश आचार्य, अशोक कंदोई, शंकर बक्श सिंह, संजय सांगानेरिया, नीलेश झा, उषा गुप्ता, नमोनाथ झा, विकास पाठक, नीरज झा, जगदम्बा प्रसाद मिश्र, हरेंद्र राय, डा. मायाशंकर झा, डा. सत्य प्रकाश तिवारी, मिथिलेश झा, अनिल झा, वैद्य सूरज प्रकाश शर्मा, बद्री विक्रम थापा, तिलक राम शर्मा, बद्रीनाथ झा, भारत मिश्रा, प्रकाश पाण्डे, कमल मैत्रो, पवन मिश्रा, बेला बनर्जी, सरिता झा, राकेश कुमार, राजकुमार साहू, कपिल जोशी, गोपाल मिश्रा, शोभा कांत ठाकुर, चिन्तामणि पाण्डे, रामचन्द्र मिश्र, सोनु त्रिपाठी, मालती तिवारी, रमाकान्त ठाकुर, अभय उपाध्याय, रामलाल अग्रवाल लगायत पीठ परिषद्, आदित्य वाहिनी, आनन्द वाहिनी र अन्य सामाजिक संस्थाका कार्यकर्ताहरू सक्रिय सहभागी थिए।
आरके श्रीवास्तव,राैतहट,११ गते साउन ।
रौतहटकाेदुर्गा भगवती गाउँपालिका–२, पिपरा–भलोहियामा अवस्थित श्री सरस्वती बहुमुखी क्याम्पसको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ । मधेश विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसको उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष शम्भु प्रसाद सिंहको सभापतित्वमा सम्पन्न भयो ।
कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, प्रा. डा. अञ्जय मिश्र, शिक्षा आयोगका पूर्व अध्यक्ष देवेन्द्र मिश्र, साथै शिक्षा प्रेमी तथा सक्षम वार्ड अध्यक्ष धर्मेन्द्र झा, विभिन्न शिक्षक, कर्मचारी, जनप्रतिनिधि, अभिभावक एवं स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यस अवसरमा बोल्दै वक्ताहरूले श्री सरस्वती बहुमुखी क्याम्पसले शिक्षाको क्षेत्रमा आमूल परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरेका छन् । क्याम्पसले BPAM बिपिएम र बिईएम कार्यक्रम सञ्चालन गर्नेछ । शिक्षालाई रोजगारीमूलक, जीवनोपयोगी, व्यवहारिक र संस्कारयुक्त बनाउँदै स्थानीय स्तरमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने लक्ष्य लिएको क्याम्पसले धेरैका लागि आशाको किरण बन्ने विश्वास गरिएको छ ।

कार्यक्रममा शुभकामना दिँदै राष्ट्रिय शिक्षक मञ्च राैतहटका अध्यक्ष शिवशंकर झाले सरस्वती बहुमुखी क्याम्पसले शिक्षाको अर्थपूर्ण र उपलब्धिमूलक ढाँचाको उदाहरणीय संस्था बन्न सकोस् भन्ने कामना व्यक्त गरेका छन् ।
काठमाडौं,११ गते साउन ।
काठमाण्डौ – इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको ‘प्रकाश मानव अधिकार पुरस्कार’ यस वर्ष चुरे तथा वन–जङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने निर्णय इन्सेकले गरेको छ ।
पुरस्कारका लागि सार्वजनिकरूपमा आह्वान गरिएअनुसार प्राप्त ४० जनाको नाममध्येबाट वातावरण अधिकारका क्षेत्रमा सम्झौतारहित सङ्घर्ष गर्दै आएका यादवलाई छनोट गरिएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनोट समितिले निर्णय गरेको हो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा. सूर्यप्रसाद ढुङ्गेल र अधिकारकर्मी गङ्गा कसजु सदस्य हुनुहुन्थ्यो ।
बाराको सिम्रौनगढ नगरपालिका–२ मौवाहीका यादव २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ । चुरे क्षेत्रको दोहनका कारण मधेश प्रदेशमा देखा परिरहेका जलवायु तथा वातावरणीय असरबारे सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन उहाँले विभिन्न सचेतनामूलक कार्यक्रम, अभियान र पैरवी गर्दै आउनुभएको छ ।
आउँदो साउन १६ गते काठमाण्डौमा आयोजना हुने ३३ औँ प्रकाश स्मृति दिवसको अवसरमा यादवलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । सभार उज्यालो
काठमाडौं,११ गते साउन ।
आज नेपाल वार एशोसिएशन र सामाजिक सुरक्षा कोषबीच ऐतिहासिक सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार नेपालभरका सम्पूर्ण वार इकाइमा आबद्ध कानुन व्यवसायीहरू अब सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेछन् ।

यस सम्झौता मार्फत कानुन व्यवसायीहरूले अब आफ्नो योगदानको आधारमा पेन्सन सहितका विभिन्न सामाजिक सुरक्षाका सुविधा प्राप्त गर्न सक्नेछन् ।
सम्झौतापछि आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले भने,
“कानुन व्यवसायीहरू हाम्रो न्याय प्रणालीका मेरुदण्ड हुन् ।

उनीहरूको सामाजिक सुरक्षाको सुनिश्चितता गर्नु हाम्रो कर्तव्य हो । आज भएको सम्झौता कानुन व्यवसायीहरूको भविष्यलाई सुनिश्चित गर्ने दिशामा ऐतिहासिक कदम हो। यसकाे प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहनेछ।”
नेपाल वार एशोसिएशनका प्रतिनिधिहरूले पनि सम्झौताप्रति आभार व्यक्त गर्दै यसको सफल कार्यान्वयनमा सबै कानुन व्यवसायीहरूको सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले यो सहमति ऐतिहासिक कदम भएको बताउँदै भने, “कानुन व्यवसायीहरू पनि अब संगठित सामाजिक सुरक्षा प्रणालीभित्र समेटिनेछन् । उनीहरूले वृद्धावस्थामा पेन्सन, दुर्घटना, मातृत्व तथा स्वास्थ्यजस्ता सुरक्षाका लाभ पाउनेछन् । यो व्यवस्था न्यायिक क्षेत्रका श्रमजीवी पेशाकर्मीहरूको जिवस्तर उकास्न मदत पुग्ने बताएका छन् ।”

उनले थपे, “अब हामीले सहमति भएको मापदण्डअनुसार कानुन व्यवसायीहरूलाई सहज ढंगले कोषमा आबद्ध गराउने कार्यमा प्राथमिकता दिनेछौँ । सबै बार इकाइहरूसँग समन्वय गरी यो योजनाको सशक्त कार्यान्वयनमा कोष प्रतिबद्ध छ।”

यस अवसरमा महान्यायाधिवक्ता माननीय रमेश बडाल तथा नेपाल बार एशोसिएसनका अध्यक्षलगायत पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
विकास मण्डल,महाेत्तरी,०९ गते साउन ।
महोत्तरी —लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनका आन्दोलनकारीलाई राज्यले झुटा मुद्दामा फसाएर दु:ख दिएको आरोप लगाएका छन् ।
उनले देशमा भएको राजनीतिक परिवर्तन आन्दोलनहरुका उपलब्धि रहेको भन्दै मधेश आन्दोलनमा लागेका महोत्तरीका चार जना नेतालाई लगाइएको झुटा मुद्दा फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
महोत्तरीको मटिहानीमा बिग्ही पुल र प्रसूति गृह उद्घाटनपछि आयोजित समारोहमा सहभागी प्रधानमन्त्री ओलीलाई सुनाउँदै लोसपा अध्यक्ष ठाकुरले मधेश आन्दोलनका आन्दोलनकारीलाई फसाएर जन्मकैदको फैसला भएको र कतिपयलाई जेलमा बन्द गरिएकोले सरकारले उनीहरुमाथि लगाएको झुटा मुद्दा फिर्ता लिनुपर्ने बताए ।
ओली सरकारकै नेतृत्वमा ३ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना भएको मधेश आन्दोलनका आन्दोलनकारीको मुद्दा फिर्ता लिएको उल्लेख गर्दै उनले बाँकी मुद्दासमेत फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
अध्यक्ष ठाकुरले लोसपाका प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र, लोसपाका नेताहरु सुरेश पाण्डे, धर्मेन्द्र राउतलाई झुट्टा मुद्दामा षड्यन्त्रपूर्वक फसाइएको दाबी गर्दै उनीहरुको मुद्दा फिर्ता हुनु पर्ने बताए ।
मधेश आन्दोलनको बेला भीडले घटना गराउँदासमेत राज्यले आन्दोलन गर्नेहरुलाई खोजीखोजी फसाएको अध्यक्ष ठाकुरको आरोप छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१० गते साउन ।
गत साउन ८ गते समाचार संकलनको क्रममा पत्रकार राजकुमार यादवमाथि भएको आक्रमणको घटनाको छानबिन गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले दुई सदस्यीय छानबिन समिति गठन गरेको छ ।
महासंघका सहसचिव तथा सूचना अधिकारी दिनेश संगमको संयोजकत्वमा गठन गरिएको समितिमा नन्दभुषण श्रीवास्तव सदस्य रहेका छन् । समिति मार्फत घटनाको यथार्थ तथ्य बुझ्न र दोषी पहिचान गर्न छानबिन प्रक्रिया अघि बढाइएको महासंघले जानकारी दिएको छ ।

पत्रकार यादवले समाचार संकलनको क्रममा विवेक साह, रञ्जित साह, अनिल साह लगायत अन्य अज्ञात व्यक्तिहरूले सामूहिक रूपमा कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन् । घटनापछि पत्रकार यादव घाइते अवस्थामा उपचाररत रहेको जनाइएको छ ।
यस घटनाले पत्रकारहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, एसाेसिएट प्रदेश समिति तथा श्रमजीवी पत्रकार संघ रौतहटले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आक्रमणको भर्त्सना गर्दै दोषी उपर कडा कारबाहीको माग गरेका छन् ।
तर, घटनाको चार दिन बितिसक्दा पनि नेपाल पत्रकार महासंघ रौतहट शाखाले औपचारिक विज्ञप्ति ननिकालेको भन्दै केही स्थानीय पत्रकारहरूले प्रश्न उठाएका छन् । तथापि, छानबिन समिति गठन भएको जानकारी आएसँगै घटनाको निष्पक्ष छानबिन हुने विश्वास लिइएको छ ।
छानबिन समितिले संकलित तथ्य विवरण महासंघलाई बुझाएपछि घटनाबारे थप निर्णय लिइने जनाएको छ ।