२०८३ कार्तिक ८
२०८३ कार्तिक ८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ ।

सो रिट सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेशी तोकिएको छ ।

प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै गत असार ३१ गते अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा संविधानको धारा ७६ को उपधारा २ को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ उपधारा ३ को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ ।

नेपाली कांग्रेस र एमालेको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।न्युज कारखाना

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेको बस तथा यात्रुको अवस्था पत्ता लगाउन भारतबाट आएको टिमले खोजी कार्य शुरु गरेको छ ।

शनिबार नेपाल आएका भारतीय टोलीले आइतबार बिहानदेखि त्रिशुली नदीमा बसको खोजी शुरु गरेका हुन् ।  भारत सरकारको सहयोगमा त्यहाँस्थित नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली शनिबार नेपाल आइपुगेको हो ।

भारतबाट कुनाल तिवारीको नेतृत्वमा खोजी दलको १२ सदस्यीय टोली नेपाल आएर शनिबार घटनाको पूर्ण विवरण बुझेको छ । टोलीले धमिलो पानीमा समेत खोजी गर्न सक्ने प्राविधिक उपकरण ल्याएको बताइएको छ । भारतीय टोलीले नेपालको गोताखोर टोलीसँग मिलेर खोजी गर्दाका जोखिम क्षेत्र पहिचान योजना बनाई घटनास्थलको अवस्थिति बुझेको छ ।

गत असार २८ गते त्रिशूली नदीा खसेका दुई बस अझै भेटिएका छैनन् भने कम्तिमा ३७ यात्रु अझै बेपत्ता छन् । हालसम्म २५ जनाको शव फेला परेकामा १८ जनाको सनाखत भएको छ ।न्युज कारखाना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए ।

उनले भने, ‘सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ ।’

एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद रहेका छन् ।

आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।न्युज कारखाना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन गरेको नपाइएको बताएको छ ।

पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार नभेटिएको दाबी गरेका हुन् ।

विज्ञप्तिमा यस प्रकरणमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गरेको अडियो रेकर्डिङ आफूहरूसँग सुरक्षित रहेको पनि झाले उल्लेख गरेका छन् ।

रास्वपाले आफ्ना सारा आम्दानी र सम्पत्ति निस्वार्थ समाजसेवामा लगाएकी उपसभामुख रानामगर निष्कलंक रहेको पनि दाबी गरेको छ ।

रास्वपाबाट उपसभामुख बनेकी रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा मुछिएकी छन् । यस प्रकरणमा उनी विरुद्ध संसदको राज्य व्यवस्था समितिमा उजुरी समेत परिसकेको छ ।न्युज कारखाना

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री जम्मकट्टेलले चौंथो पटक विश्वासको मत लिन लागेका हुन् ।

असार २४ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिनेपर्ने भएको हो ।

यसअघि तीन पटक सम्म विश्वासको मत पाएर पद जोगाएका जमकट्टेलले यस पटक विश्वासको मत नपाउने निश्चित रहेको छ ।

११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत रहेको छ र जुन बहुमतका लागि पर्याप्त रहेको छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ ।न्युज कारखाना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् ।

प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्- ‘बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई आइतबार बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।’

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् ।

यसैबीच परराष्ट्र मन्त्रालयले बंगलादेशमा प्रदर्शन शुरु भएदेखि अहिलेसम्म ८ सयभन्दा बढी बिद्यार्थी नेपाल फर्किसकेको जानकारी दिएको छ । मन्त्रालयले उनीहरु सडक र हवाई माध्यमबाट स्वदेश फर्किएको जनाएको छ ।

बङ्गलादेशमा पछिल्ला दिनमा आरक्षणको विरोधमा आन्दोलन चर्केपछि हिंसात्मक घटना हुन थालेका छन् । ढाकास्थित नेपाली राजदूतावासका अनुसार हाल बंगलादेशमा करिब तीन हजार नेपाली विद्यार्थी रहेका छन् ।न्युज कारखाना

बुटवल । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिदै छन् ।

प्रदेश सभाको आज अपराहन्न १ बजे बस्ने बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।

केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनेपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेले सर्मथन फिर्ता लिदै पाँच मन्त्रीले गत असार २० गते नै  राजीनामा दिएका थिए ।

गत चैत्र २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महरालाई त्यति बेला एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाले समर्थन गरेका थिए ।

एमालेले समर्थन फिर्ता लिना साथ अहिले महरा अल्पमतमा परेका छन् । कांग्रेस-एमालेबीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने भएको छ ।

८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद रहेका छन् भने दुई दलका कुल ५६ सांसद रहेकाले स्पष्ट बहुमत रहेको छ ।न्युज कारखाना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्बाट विश्वासको मत लिँदैछन् । आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका हुन् ।

संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिदा दुई तिहाई पुर्याउने रहेको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाई मत पुर्याउन ओलीले कम्तिमा १८४ मत आवश्यक पर्दछ । ओली कांग्रेसको ८८ र एमालेको ७८ सांसद गरी कुल १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । अहिले कांग्रेस र एमाले बाहेक ७ सांसद रहेको जसपा र ४ सांसद रहेको लोसपा सरकारमा गइसकेको छ । यसरी अहिले ओलीसँग १७७ मत सुरक्षित रहेको छ ।

अब दुई तिहाई मत पुर्याउन ओलीलाई थप ७ सिट आवश्यक पर्दछ । अहिले ओलीलाई सरकारमा गएका बाहेक उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले विश्वासको मत दिने सम्भावना रहेको छ । उपेन्द्र यादवले समाजवादी मोर्चाबाट दूरी बढाएर सरकारलाई समर्थन गर्ने र सत्तामा जाने संकेत गरेका छन् । तर उपेन्द्र यादवको सरकारलाई सर्मथन गर्ने प्रमुख शर्त मधेश प्रदेशको सरकार हुने देखिएको छ ।

मधेशमा अहिले जनमत नेतृत्वको सरकार छ जसलाई कांग्रेस-एमालेले समर्थन गरिरहेका छन् । तर मधेश सरकारको नेतृत्वसँग खासगरी धेरै सिट भएको कांग्रेस खुशी देखिएको छैन । यसको फाइदा उठाएर उपेन्द्र यादवले केन्द्रमा सरकारलाई समर्थन गर्ने विषयमा छलफल गरिरहेका छन् । जसपा नेपालका ५ सांसद रहेका छन् ।

त्यस्तै जनमत पार्टीले पनि मधेशमा आफ्नो नेतृत्वको सरकार जोगिने शर्तमा केन्द्रमा सरकारलाई विश्वासको मत दिने गरि छलफल अगाडी बढाएको छ । जनमतको प्रतिनिधि सभामा ६ सांसद रहेका छन् ।

त्यस्तै ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा मुछिएको अवस्थामा ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने तयारीमा रहेको छ तर नाउपाको विवादले यसको स्पष्ट निर्णय भने अहिलेसम्म बाहिर आएको छैन । नाउपाले पनि विश्वासको मत दिएमा ओलीको पक्षमा दुई तिहाई भन्दा बढी १९२ मत हुन जान्छ ।

यी बाहेक दुई स्वतन्त्र सांसद योगेन्द्र मण्डल र डा अमरेशकुमार सिंहले पनि ओलीलाई विश्वासको मत दिने सम्भावना रहेको छ । मण्डल एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका एमालेकै नेता हुन् । दुई स्वन्तन्त्र सांसदले मत दिएमा ओलीको पक्षमा १९४ मत हुन जान्छ ।

अर्को तर्फ १४ सिट रहेको राप्रपाले भने ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताएको छ । राप्रपाले संबिधान संशोधनको खाका स्पष्ट रुपमा आएपछि मात्र सरकारलाई समर्थन गर्ने बताएको छ ।

त्यस्तै संसदमा रहेका माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले भने सरकारलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय गरिसकेका छन् । तीन दलको गरि प्रतिनिधिसभामा ६३ मत रहेको छ । त्यसैगरी एक एक सांसद रहेका नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले ओलीको विपक्षमा मतदान गर्ने सम्भावना छ ।न्युज कारखाना

गाैर, ५ गते साउन । रौतहट जिल्ला अदालत बार एशोसिएसनको निर्वाचन संपन्न भएको छ । अध्यक्ष तथा सचिव पदको लागि शनिवार भएको निर्वाचनमा अध्यक्ष पदमा सोनेलाल प्रसाद पटेल ३१ मत तथा सचिवमा सोनेलाल पासवानले ३४ मत ल्याएर बिजयी भएका छन ।

अध्यक्षमा प्रतिद्वन्दी उम्मेदवार हेमचन्द्र लाल कर्णको पक्षमा २७ मत खसेको हुदा ४ मतले अध्यक्ष पदमा पटेल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मोहम्मद मजरुल हक़ले जानकारी दिएका छन । सचिवमा प्रतिद्वन्दी उम्मेदवार हरिश्चन्द्र पंडितको पक्षमा २३ मत खसेकोले सचिव पदमा सोनेलाल पासवान ११ मतले निर्वाचित भएका हुन ।

राैतहट,०५ गते साउन । रौतहटकाे देवाही गाेनाही नगरपालिकाले बजेट ल्याएको छ । शनिबार देवाही गाेनाही नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएकाे छ । देवाहीगाेनाही स्थित नगरपालिकाकाे प्रांगणमा बजेट अधिवेशन बाेलाईएकाे थियाे । नगर प्रमुख प्रेमलाल साहकाे अध्यक्षतामा साे नगरसभा सम्पन्न भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा मधेस प्रदेश सरकारका नव नियुक्त अर्थमन्त्री सुनिल कुमार यादव रहनु भएको थियोे । नगरसभाकाे ८ अाैं अधिवेशन बाट जनमुखी नीती र कार्यक्रम ल्याएकाे छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेकाे निती तथा कार्यक्रम कार्यान्यवन गर्न ५६ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे । हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेकाे छ । तर आन्तरिक कुराहरू मिलन नसक्दा समयमा बजेट आउन सकेको थिएन । आज भएको नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । धेरै उत्साहका साथ सम्पन्न भएकाे नगरसभा बाट देवाहीगाेनाही नगरपालिकाकाे जनताकाे मन जितने किसिमकाे निती तथा कार्यक्रम पारित गरेको हाे । नगर प्रमुख साह र प्रमुख प्रशाकिय अधिकृत संदेश कुमार यादवले निति तथा कार्यक्रम वाचन गरेर सुनाएका थिए । नगरकाे चौतर्फि विकासकाे लागि यसै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ५६ करोड २४ लाख २५ हजार ८ सय ८७ रुपैयाँ ५९ पैसाकाे बजेट पारित गरिएकाे लेखाप्रमुख प्रदिप यादवले जानकारी गराउनु भयाे । यस वर्ष आर्थिक विकास तर्फ कृषि, पशुपंक्षी र मत्सय र शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक पुर्वाधार निर्माण कार्य लगायतकाे विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको यादवले बताए । साे नगरपालिकाकाे संघिय वितिय समानीकरण अनुदान १० कराेड २१ लाख,संघिय राजश्व बाँडफाँड ९ कराेड ११ लाख ,संघिय सशर्त अनुदान चालु १६ कराेड ९० लाख ७० हजार,संघिय सरकार सशर्त पुँजिगत १३ कराेड ११ लाख ७२ हजार,संघिय सरकार समपुरकमा अनुमानित ५५ लाख,वित्तीय समानिकरण प्रदेश सरकार ९० लाख,विशेष अनुदान प्रदेश सरकार ७२ लाख २३ हजार लगायत अन्य शिर्षकमा पनि बजेटकाे आयकाे प्रक्षेपण गरिएको छ । कार्यक्रम सञ्चालन शिक्षा संयाेजक अरविन्द यादवले गर्नु भएको थियाे । साे अवसरमा वडा अध्यक्षहरू जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।