काठमाडौँ । नेपाल काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ ।
नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
अब नेपालले फाइनलमा भारतको सामना गर्ने छ । भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
अब फाइनल खेल बुधबार साँझ ५ बजेदेखि हुने छ ।न्युज कारखाना
रौतहट । रौतहटस्थित लामो समयदेखि अलपत्र रहेको बागमती नदीको पुल र लालबकैया नदीको पुल निर्माणका लागि संघीय सरकारको तीनजना मन्त्रीहरुको ध्यानाकर्षण गराइएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री. बिष्णु पौडेल, भौतिक पुर्बाधार मन्त्री .देवेन्द्र दहाल तथा शिक्षा मन्त्री बिधा भट्टराई संग रौतहट जिल्लाको अधुरो पुलहरुको निर्माण तथा बजेट बिनियोजन लगायत जिल्ला का बिकास सम्बन्धि विशेष छलफल भएको हो ।
पूर्व मन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतको नेतृत्वमा मंगलवार सिंहदरवार गएका रौतहटका नेताहरु सहितको टोली पालो पालो तीनैजना मन्त्रीसंग भेटेर दुवै पुल निर्माणका लागि ध्यानाकर्षण गराएको टोलीमा सहभागी एमाले केन्द्रिय सदस्य अजय कुमार गुप्ताले बताएका छन। भेटको क्रममा अर्थ मन्त्री सहितका मन्त्रीहरु माग प्रती सकारात्मक रहेको केन्द्रिय सदस्य गुप्ताले जानकारी दिएका छन ।
लामो समयदेखि अलपत्र परेको वडहरवा घाट स्थित बागमती नदीको पुल र गौर नगरपालिका ४ टिकुलिया स्थित लाल बकैया नदीको पुल लगायत अन्य निर्माणाधीन पुलहरु र सड़क निर्माणको सन्दर्भमा विशेष छलफल भएको सहभागी अर्का नेता एमाले केन्द्रीय लेखा समिति सदस्य राजकिशोर प्रसाद यादवले बताएका छन्। टोलीमा एमाले नेता महेश बस्नेत, एमाले केन्द्रीय सदस्य तथा संघीय सांसद प्रत्याशी अजय कुमार गुप्ता, लगायतको सहभागिता रहेको थियो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको लालबकैया नदीको पुल र तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले शिलान्यास गरेको बागमती नदीको पुल ठेकदारको बदमासिको कारण एकदशक भन्दा बढी समय देखि अलपत्र परेको छ। दुवै पुल निर्माणको लागि पटकपटक बिभिन्न संघर्षको कार्यक्रम हुँदै आएपनि अधुरो पुलको अवस्था ज्युँ का त्यूँ रहेको छ ।न्युज कारखाना
रौतहट ।
रौतहटको कटहरिया नगरपालिकाका निलम्बित मेयर अजय प्रकाश जैसवालले सिंगो बर्ष बित्दा पनि दुर्गा पूजाको चन्दा दिन सकेका छैनन् ।
भ्रष्टाचार गरेको अभियोगमा केही समय अघि निलम्बित भएका मेयर जैसवाल सिंगो आर्थिक बर्ष २०८०।०८१ बित्दा पनि आफैले साकार गरेको दुर्गा पूजाको चन्दा दिन नसकेका हुन् । बरु दुर्गा पूजाको विधुत पोलमा झिलिमिली बत्ति लगाएको भन्दै लाखौं रुपैयाँ निकासा गरिएको छ, तर पूजामा भने हालसम्म एकपैसा चन्दा नदिएको पूजा समितिले गुनासो गर्दै आएको छ।
कटहरियास्थित आस्थाको केन्द्र दुर्गा मन्दिर नगरपालिकाको प्राङ्गणमै छ जहाँ दुईदशक भन्दा बढी समय देखि प्रत्येक बर्ष बडा दसैंको अवसरमा १० दिनसम्म विधिवत रूपमा पूजा हुँदै आएको छ। पूजा अवधिमा कटहरिया नगरपालिकाको प्रायः सबै वडाका सैयौं मानिस भक्तजन महिला पुरूष १० दिनसम्म रातो रंगको कपडा लगाएर पूर्ण आस्थाका साथ दुर्गा माताको पूजा आराधना गर्ने गर्दछन्।
गतबर्षको पूजामा कुल ७ लाख ८४ हजार ४१९ रुपैयाँ खर्च भएको दुर्गा पूजा समिति कटहरियाले सार्वजनिक गरेको थियो। सो मध्ये स्थानिय द्वारा कुल ५ लाख,८५ हजार ५५७ रुपैयाँ भन्दा संकलन गरिएको थियो। प्रत्येक बर्ष नगरपालिकाले पूर्गा पूजामा सहयोग गर्दै आएको परमपरा अनुसार पूजा समिती गतबर्षको दुर्गा पूजा सुरुहुनु अघिनै उनको कार्यकक्षमै पुगेर तत्कालीन मेयर जैसवाल लाई भेटेर सहयोगको लागि आग्रह गरेको थियो।
तत्कालीन मेयर जैसवालले नगरपालिकाका योजना प्रमुख रामनरेश साह लाई कार्यकक्षमा बोलाएर निर्णय पुस्तिका हेरेर दुर्गा पूजा लगायतको शीर्षकमा ७ लाख रुपैयाँ छुट्याएको बताउँदै ३ लाख रुपैयाँ भन्दा दिने प्रतिवद्धता जनाएका थिए।
हाल निलम्बित मेयर जैसवालको प्रतिवद्धता अनुसार पूजा समिती संगै कटहरियाका भद्रभलादमी पटकपटक भेट्दा पनी उनले दुर्गा पूजाको चन्दा दिन नसकेको पूजा समितिका शम्भु साहले बताउँदै आएका छन् । उनले यस बारे पटकपटक सामाजिक सञ्जाल फेसबुकमा समेत गुनासो गर्दै आउँदा पनि मेयर जैसवालले वास्ता नगरेको पूजा समितिको आरोप रहेको छ। गत आर्थिक बर्षको अन्तिम महिना अघिनै भ्रष्टाचारी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर जैसवाल, उपमेयर रिता देवी यादव, योजना प्रमुख रामनरेश यादव सहित ११ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरे संगै उनीहरू निलम्बित भएका थिए।
उनीहरू निलम्बित भएपछि कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान संग पूजाको चन्दा बारे कुरा गर्न पूजा समितिका पदाधिकारीहरु उनको कार्यकक्षमा जाँदा निलम्बित मेयर अजय प्रकाश जैसवाल पदमा रहँदा भुक्तानीको लागि कतै कुनै कागज निवेदनमा तोकादेश नगरेकाले भुक्तानी नहुने जवाफ फर्काएका थिए ।
निलम्बित मेयर जैसवालको झुठा आश्वासनको कारण कटहरिया स्थित गतबर्ष दुर्गा पूजामा खर्च भएको रकम मध्ये हालसम्म २ लाख ५९ हजार ८५० रुपैयाँ पूजा समितिको नाउँमा बक्यौता रहेको समितिका पूर्व अध्यक्ष हरिश्चन्द्र कुशवाहाले जानकारी दिएका छन ।
दुर्गा पूजा अवधीमा बजारको केही विद्युत पोलमा झिलिमिली बत्ति लगाएर तत्कालीन मेयर जैसवालले लाखौं रुपैयाँ निकासा गराएको स्थानीयहरूले दाबी गरेका छन ।
कटहरियाका पूर्व गाविस अध्यक्ष जादोलाल महतो, व्यापारीहरु बजरंगी लाल साह, अनुठा प्रसाद साह, मौजेलाल साह लगायतको सक्रियतामा
कटहरियामा २०५२ साल देखि मूर्ति बनाएर दुर्गा पूजाको आयोजना हुँदै आएको छ। पूजा अवधीमा मेला समेत लाग्ने गर्दछ। पूर्व मेयर सियाराम कुशवाहाले पनी प्रत्येक बर्ष दुर्गा पूजामा आर्थिक सहयोग गर्दैआएका थिए। तर लाखौँ लाख तेलको नाउँमा , लाखौँ करारको कर्मचारीको नाउँमा, विद्यालय र अस्पतालको नाउँमा भ्रष्टाचार गर्ने निलम्बित मेयर जैसवाल भने झुठा आश्वासनमै सीमित भएका छन ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेे जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गरेका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रतिको आफ्नो शून्य सहनशीलता दोहोर्याउँदै आफूले भ्रष्टाचार नगर्ने र अरुलाई भ्रष्टाचार गर्न पनि नदिने पुरानै प्रतिबद्धताबाट पछि नहटेको जनाए ।
‘संविधानले विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने प्रबन्ध गरेको छ । यस यात्रामा भ्रष्टाचार तगारोका रुपमा रहेको हुन्छ, त्यसैले भ्रष्टाचारप्रतिको शून्य सहनशीलता सरकारको नीति हो, समृद्धिको आकाङ्क्षा पूरा गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य छ । त्यसका कारण म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ । कसैले लाञ्छना लगाउनु बेग्लै कुरा हो तर मैले कुनै भ्रष्टाचार गरेको पाइएमा म यस धर्तीमा मात्र होइन, चित्रगुप्तसमक्ष पुगेर पनि बयान दिन तयार छु ।’, सांसदहरुको प्रश्नमा थप स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, ‘राज्यको सम्पति आफ्नो नाममा बनाउनुपर्ने मेरो सोच र आवश्यकता छैन । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न विद्यमान ऐन संशोधन विधेयक ल्याइएको हो । यस्ता विधेयक तयारी र पारितमा धेरै समय लाग्ने स्थिति नहोस् ।’
उनले देश र जनतालाई केन्द्रमा राखेर समृद्धिको बाटो अघि बढाउने लक्ष्यमा सरकार क्रियाशील रहेको तथा समान अवसर, शान्ति सुरक्षा र सामाजिक न्यायको सुनिश्चितता कायम गर्नु सरकारको पहिलो जिम्मेवारी भएकाले त्यसमा आफूहरु सजग र सचेत भएर लाग्ने स्पष्ट गरे ।
यो सरकार कसैको प्रतिशोधका लागि नभइ आर्थिक विकासको लक्ष्यका साथ गठन भएकाले यसले कसैलाई दुःख दिने मनसाय नराख्ने तर कानुनको दृष्टिमा सबै बराबर हुन भन्ने मान्यता स्थापित गर्न लागि पर्ने उनले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक भागवण्डाका आधारमा नियुक्ति नगर्न सांसदले दिएका सुझावबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले निजामति क्षेत्रमा अनुभवी र राम्रो पहिचान बनाएका व्यक्ति हाल आयोगको प्रमुख रहेको र यस्ता नियुक्तिमा संसदीय सुनुवाइका प्रक्रिया पार भएकाले भागवण्डा भन्न नमिल्ने बताए । उनले सांसदहरुलाई पनि कुनै नियुक्तिहरुमा आफ्ना मान्छे भएका आधारमा सिफारिस गरे नगरेको आत्मसमीक्षा गर्न आग्रह गरे ।न्युज कारखाना
काठमाडौं । लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा सरकारबाट सम्बोधन हुनुपर्ने, नेपाल राष्ट्र बैंकले गर्नुपर्ने, लघुवित्त वित्तीय संस्थाहरुले गर्नुपर्ने र लघुवित्तीय संस्थाका सदस्यहरुले गर्नुपर्ने कार्यहरुका बारेमा सुझाव दिइएको छ ।
सरकारले गर्नुपर्ने कार्यहरुमा बचत तथा ऋण सहकारी संस्था तथा लघुवित्त संस्थाबाट लिएको कर्जाका कारण लघुवित्त वित्तीय संस्थाका ऋणीहरुलाई कठिनाइ भएको गुनासो रहेको सन्दर्भमा बचत तथा ऋण सहकारी संस्थाहरुबाट हुने वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ । यसैगरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय संस्थाहरुबाट बाहेक लघुवित्त कार्यक्रमका नामबाट अन्य कुनै पनि संस्थाहरुले लघुवित्त सम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्ने लगायत छन् ।
नेपाल राष्ट्र बैंकहरुले गर्नुपर्ने नीतिगत व्यवस्थाहरु बारेमा सम्बन्धित लघुवित्त वित्तीय संस्थाहरुलाई हाल कर्जा नियमित नभएका तथा समस्यामा परेका भनिएका आ-आफ्ना ऋणीहरुको तथ्यांक संकलन गरी नियतवस कर्जा नतिरेका तथा वास्तविक रुपमै समस्यामा परेका ऋणीहरु यकिन गरी अधिकतम ६० दिनभित्र नेपाल राष्ट्र बैंक समक्ष पेश गर्न निर्देशन दिने लगायत छन् ।
लघुवित्त वित्तीय संस्थाहरुले गर्नु पर्ने कार्यहरुमा समयमा कर्जाको साँवा व्याज तथा नियमित बचत जम्मा नगर्ने सदस्यहरुलाई ताकेता गर्ने नाममा कार्यस्थलको वातावरण बिगार्ने गरी दबाब तथा मानसिक यातना नदिने लगायतका छन् ।
लघुवित्त वित्तीय संस्थाका सदस्यहरुले पालना गर्नुपर्ने कार्यमा एक संस्थाबाट मात्र कर्जा उपयोग गर्ने, जुन प्रयोजनका लागि कर्जा लिएको हो सोही प्रयोजनमा मात्र प्रयोग गर्ने तथा उक्त परियोजनाबाट भएको नगद प्रवाहबाट नियमित रुपमा किस्ता तिर्ने लगायत छन् ।
अर्थमन्त्री पौडेलले प्रतिवेदनमा दिइएका सुझावहरु कार्यान्वयनका लागि सबैसँग समन्वय गर्ने र सरकारले गर्नुपर्ने सुझावहरुको औचित्य हेरेर कार्ययोजना बनाएर काम गर्ने बताए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. तिम्सिनाले वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक भएको बताइन् ।
प्रतिवेदनका अनुसार २०८० साल चैत्र मसान्तसम्म ५५ वटा लघुवित्त वित्तीय संस्था छन् । त्यसमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था र बाँकी ५२ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् ।
लघुवित्त वित्तीय संस्थाहरुले ४ खर्ब ५३ अर्ब ११ करोड रुपैयाँ कुल प्रवाह गरेका छन् । कुल बचत १ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ र सापटी रकम २ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ छ ।
लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्त तथा वित्तीय संस्था पीडितका प्रतिनिधिबीच २०८० साल चैत्र २ गते अर्थमन्त्रालयमा ६ बुँदे सहमति भएको थियो । त्यसैदिन लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. तिम्सिनाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
न्युज कारखाना
काठमाडौँ । चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखक समक्ष प्रतिवेदन पेश गरेको छ ।
गृहमन्त्री लेखक पदवाहाली भएपछि पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।
सो कार्यदलले प्रतिवेदन पेश गर्दै विपद व्यवस्थापन लगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा राय समेत दिएको छ ।
कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जन र धनको क्षति भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नुका साथै अरु निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताए ।
‘यो गम्भीर र संवेदनशिल विषय छ ।’ मन्त्री लेखकले भने– ‘हवाई दुर्घटना भयो भने आयोग र समिति बनाउने, दुर्घटनाको बारेमा जानकारी लिने, छानविन हुने गरिन्थ्यो ।’ उनले भने- ‘सडक दुर्घटनाको एउटै निश्चित घटनालाई लिएर यो पहिलो समिति बनेको हो ।’
सडक दुर्घटना न्यूनीकरणका लागि सबैखाले पहल गरिने उनले बताए ।
दुर्घटनाको गम्भीरता बुझेर आफूले अध्ययन कार्यदल बनाएको उनको भनाई थियो ।
त्यस्तै सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुई वटा बस बगाएको आशय सहितको निष्कर्ष कार्यदल निकालेको छ ।
प्रतिवेदन पेश गर्दै कार्यदलका संयोजक गृहमन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग-डिजाइन बिना नै ग्रामीण सडक खनिएको बताए ।
‘दुर्घटनास्थलमा ठुलो मात्रामा ‘डेब्रिज’ (गेग्रान बहाव) भएको देखिन्छ, त्यहाँको भूगोल कम्जोर पनि छ ।’ संयोजक रिजालले भने– ‘उक्त स्थानीय सडक निर्माणमा सुरक्षाको दृष्टिकोणले टेवा-पर्खाल लगाएको पनि देखिदैन ।’
दुर्घटनामा परी नदीमा हराएका यात्रु मध्ये २४ जना शव फेला परेपनि ४० जनाको अवस्था अझै अज्ञात । दुर्घटना लगत्तै सुरक्षा निकाय खोजीकार्यमा हालसम्म पनि सक्रिय रहेको गृह मन्त्रालयले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छ्न ।
मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्ती ओलीलाई भेटेर मुख्यमन्त्री सिंहले मधेशको विकासका लागि २२ बुँदे माग पेश गरेका छन् ।
मुख्यमन्त्री सिंहले मधेशको समग्र विकासका लागि संघीय सरकारले दीर्घकालिन योजना ल्याउन आवश्यक रहेको बताएका छन् । यस्तै जनकपुरधामस्थित बाह्रबिघा रंगभूमि मैदानलाई व्यवस्थित गर्न आवश्यक पहल हुनुपर्ने, मधेश प्रदेशका आठवटा जिल्लाहरू भारतीय नाकासँग जोडिएको हुनाले पर्यटक भित्र्याउन पर्यटकीय कोरिडोरको निर्माण हुनुपर्ने माग पनि मुख्यमन्त्री सिंहले राखेका छन् ।
कमला नदीको बगरमा बगर खेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोत साधनमा सहयोग गर्नुपर्ने, भारतीय रेल नेटवर्कसँग जोडिएका दुईवटा सहर जनकपुर र वीरगञ्जमा व्यापारका लागि आवश्यक स्रोत र साधन प्रबन्ध मिलाउन माग गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । भारत काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ ।
भारतले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।
अब भारतले उपाधिका लागि नेपाल र इरानबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने भएको छ । दोस्रो सेमिफाइनल खेल आजै केहीबेरमा शुरु हुदै छ ।
त्यस्तै फाइनल खेल बुधबार अपराहन्न ५ बजेदेखि शुरु हुने छ ।न्युज कारखाना
काठमाडौँ । बंगलादेशकी विपक्षी दल बीएनपीकी नेतृ एवं पुर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई औपचारिक रुपमा रिहा गरिएको छ ।
बंगलादेशको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै खालिदा जियालाई हिरासतबाट रिहा गरिएको जानकारी दिएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।
साथै राष्ट्रपति कार्यालयले जुलाई १ देखि अगस्त ५ सम्म आन्दोलनमा सहभागी भएर हिरासतमा लिएका सबै विद्यार्थीहरुलाई समेत रिहा गरेको जनाएको छ ।
खालिदा जिया अनियमितताको आरोपमा २०१८ मा १७ बर्षको जेल सजाय काटीरहेकी थिइन् । त्यसपछि २०२० देखि भने कोरोना महामारीलाई ध्यानमा राख्दै उनलाई उनकै घरमा नजरबन्दमा राखिएको थियो । न्युज कारखाना
काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहमद शाह्बुद्दीनले संसद भंग गरेका छन् । ढाका ट्रीबुनका अनुसार राष्ट्रपति शाह्बुद्दीनले अन्तरिम सरकार गठनको मार्ग प्रशस्त गर्न संसद विघटन गरेका हुन् ।
राष्ट्रपति शाहबुद्धीनले तिनै सुरक्षा निकायका प्रमुख र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफल पछि संसद विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सोमबार आरक्षण विरोधी आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिदै देश छोडेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने प्रक्रिया अगाडी बढेको छ ।
अब अन्तरिम सरकारको प्रमुख नोबेल पुरस्कार विजेता डा. मोहमद युनुस बन्ने चर्चा रहेको छ । न्युज कारखाना