काठमाडौं, २३ भदौ – भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गरेको विरोधमा सोमबार जेनजी पुस्ता (जेनेरेसन जेड) का नाममा काठमाडौंलगायत प्रमुख शहरहरूमा भएको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको छ । भीडमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा १९ जनाको ज्यान गएको छ ।
विभिन्न अस्पतालमा भर्ना गरिएका घाइतेमध्ये एक दर्जनभन्दा बढीको अवस्था गम्भीर छ । काठमाडौंमा १७ र सुनसरीमा २ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदर्शनकारी र प्रहरीसहित ४२२ जना घाइते भएका छन् । मृत्यु र घाइते हुनेमा अधिकांश ३० वर्ष मुनि उमेरका छन् ।
देशमा संघीय गणतन्त्र घोषित भएपछि सरकारविरुद्धको प्रदर्शनको क्रममा यति धेरै संख्यामा हताहती भएको यो पहिलो घटना हो । काठमाडौंको नयाँ बानेश्वरमा भएको झडपका घाइतेहरूको सिभिल अस्पताल बानेश्वर, ट्रमा सेन्टर, टिचिङ, केएमसीलगायतका अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न अस्पतालबाट संकलित तथ्यांकअनुसार सिभिल सेवा अस्पतालमा १७० जना घाइते उपचारत छन्, तीनजनाको मृत्यु भएको छ । एभरेस्ट अस्पतालमा १०२ जना घाइते उपचारत छन् भने तीन जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा आठजनाको मृत्यु भएको छ भने ५९ जना घाइते उपचाररत छन् ।
केएमसीमा उपचाररत ३१ घाइतेमध्ये सात जना डिस्चार्ज भएका छन् भने दुईको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा १८ जना उपचाररत छन् भने एक जनाको मृत्यु भएको छ । धरानको बिपी प्रतिष्ठानमा लगिएका चार घाइतेमध्ये दुईजनाको मृत्यु भएको छ । ४२२ घाइतेमध्ये १० जनालाई डिस्चार्ज गरिएको मन्त्रालयको तथ्यांकमा छ ।
जेनजीको प्रदर्शनमा सरकारको दमनले २०६२-६३ को १९ दिने जनआन्दोलनलाई पनि छायामा पारेको छ । जनआन्दोलन–२ मा २५ जनाले ज्यान गुमाएका थिए । सोमबार काठमाडौंसहित पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका देशका विभिन्न शहरहरूमा विरोध प्रदर्शन भएका छन् ।
देशभरका प्रदर्शनमा प्रहरीले सक्दो दमन गरेको छ भने प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमाथि तोडफोड, आगजनी गरेका छन् । भीडलाई ताकेर प्रहरीले गोली चलाएपछि आक्रोसित प्रदर्शनकारीले एम्बुलेन्स, गाडी, मोटरसाइकलमा पनि आगो लगाएका छन् ।
प्रदर्शनमा झडप भएलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले हतार–हतार नयाँ बानेश्वर, शितल निवास, सिंहदरबार परिसरलगायतमा कर्फ्यु आदेश जारी गरेको थियो ।
कर्फ्यु आदेशलाई बेवास्ता गर्दै प्रदर्शनकारीले सोमबार बेलुकी पनि प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलाहुँदै संघीय संसद् भवन प्रवेश गर्न खोजेका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस, गोली प्रहार गरेको थियो । सरकारले युवाहरूलाई मारेको भन्दै गठबन्धनमध्येको कांग्रेसले सरकार छाड्नुपर्ने मागसमेत उठेको छ ।
जेनजी भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मेकाहरूको पुस्ता वर्गीकरण हो । यसभित्र २८ वर्ष उमेर समूहका युवा पर्छन् । युवाले गर्ने भनिएको विरोध प्रदर्शनमा कोही पनि नेतृत्वकर्ता घोषणा गरिएको थिएन । प्रदर्शनमा दुर्गा प्रसाईं समूह, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतको घुसपैठ भएका कारण स्थिति हिंसात्मक भएको सुरक्षा निकायले सरकारलाई ब्रिफिङ गरेको छ ।
काठमाडौंमा सोमबार ११ बजेदेखि माइतीघर मण्डलामा गर्ने भनिएको प्रदर्शन एक्कासि नयाँ बानेश्वर पुगेपछि उग्र बनेको थियो । तोकिएको समयभन्दा अगावै बिहान ९ बजेदेखि नै माइतीघरमा प्रदर्शनकारीको उपस्थिति देखिएको थियो । प्रदर्शनमा भ्रष्टाचारविरोधी, प्रधानमन्त्रीविरोधी, सामाजिक सञ्जाल बन्दबारे प्लेकार्ड बोकेर विद्यालय–कलेज पोसाकमै विद्यार्थी सहभागी थिए ।
आन्दोलनकारीको भीड अनियन्त्रित हुँदै सरकारले निषेधित क्षेत्र घोषणा गरेको संघीय संसद् भवन वरपर पुगेको थियो । त्यहाँ पुगेपछि संसद् भवनभित्र छिर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।
सरकारले फेसबुक, युट्युब, म्यासेन्जरलगायतका २६ वटा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयसँगै देखिएको असन्तुष्टि आन्दोलनमा परिणत भएको हो । जेनरेसन जीका नाममा लामो समयदेखि सामाजिक सञ्जाल टिकटकमा आन्दोलन गर्ने भन्दै युवाहरू निकै उग्र बनिरहेका थिए ।
नेताका छोराछोरीको विलासीपूर्ण जीवनको विषयमा टिप्पणी गर्दै उनीहरूको भिडियो पनि भाइरल बनाइरहेका थिए । देशमा उठाइने करबाट नेताका परिवार, छोराछोरी मस्ती गर्ने र देशमा भ्रष्टाचार गरेको भन्दै आन्दोलित बनेका थिए ।
समाचार तयार पार्दासम्म काठमाडौंको ट्रमा सेन्टरले जारी गरेको सूचीअनुसार ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षका श्रीराम चौलागाई, २१ वर्षका सुलभराज श्रेष्ठ, ४२ वर्षमा बुद्धिबहादुर तामाङ, २८ वर्षका गौरव जोशी, २५ वर्षका सौरभ कटुवाल, २६ वर्षीय ईश्वतबहादुर अधिकारी छन् । दुई जनाको अझै सनाखत हुन सकेको छैन । न्यूज २४ दैनिकमा याे खबर छापिएको छ ।
आरएन पटेल,राैतहट,भदौ २२ गते।
नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा बैजू प्रसाद बाबरा पुनः निर्विरोध चयन भएका छन। नेपाल मदिरा उत्पादक संघको पाँचौं अधिवेशन तथा दशौं वार्षिक साधारण सभाबाट रौतहटका उद्योगपति बैजू प्रसाद बाबरा दोस्रो कार्यकालका लागि पुनः केन्द्रीय अध्यक्षमा निर्विरोध चयन भएका छन्।
भदौ २१ र २२ गते संघीय राजधानी काठमाण्डौमा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा बाबरालाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो।

रौतहटको कटहरिया नगरपालिका-९ डुमरियामा अवस्थित ज्योति डिस्टिलरी प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रहेका बाबरा लामो समयदेखि मदिरा उद्योगसँग आबद्ध रहँदै आएका छन्। संघको केन्द्रीय अध्यक्षमा पुनः निर्वाचित भएपछि उनले नेपाल मदिरा उत्पादक संघलाई अझ सबल बनाउँदै आवद्ध सम्पूर्ण उद्योगी-व्यवसायीका हकहितको लागि निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन्।
बाबराले आफूलाई दिएको विश्वास र समर्थनप्रति आभार प्रकट गर्दै संघलाई समावेशी, सबल र परिणाममुखी बनाउन सम्पूर्ण उद्योगी-व्यवसायीको सहकार्य आवश्यक रहेको बताएका छन्।
ओम प्रकाश यादव,रौतहट,भदौ २२ गते ।
रौतहटको नेकपा एमालेकी महिला नेतृ जमुना साहले केहीदिन अघि मात्र आगोले जलेर मृत्यु भएका लक्षमण पासवानको परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेकी छन् ।
रुबी हत्याकाण्डको मुख्य आरोपित रहेका लक्षमण पासवानले आफैले शरीरमा आगो लगाई आत्मदाह गरेपछि उनको श्राद्ध र भोजभतेरको लागि महिला नेतृ साहले खाद्यान्न सामग्री उपलब्ध गराएकी हुन्।
माधवनारायण नगरपालिकाकी उपप्रमुख प्रत्यासी समेत रहेकी माधोपुर घर भएकी नेकपा एमाले नेतृ जमुना साहले आर्थिक अवस्था निकै कमजोर भएका लक्षमण पासवानको परिवारलाई आफ्ना व्यक्तिगत तर्फबाट खाद्यान्न सामग्री सहयोग गरेकी छन्।

नेतृ साहले माधवनारायण नगरपालिका -६ माधोपुर घर भएका पासवानका बुबा र श्रीमतीलाई ५० किलो चिउरा, ५० किलो आलु, २० किलो चिनी, ४० किलो दही, १० किलो चना, १० किलो प्याज, खाने तेल ५ किलो लगाएतका खाद्यान्न सामग्री हस्तान्तरण गरेकी हुन् ।
लक्षमण पासवानको मृत्युपछि आर्थिक अवस्था निकै कमजोर रहेका उनका परिवारलाई पासवानको श्राद्धमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले खाद्यान्न सामग्री सहयोग गरेको नेतृ जमुना साहले बताइन् ।
आर्थिक अवस्था निकै दयनीय रहेका पासवानको परिवारलाई क्रिया र श्राद्ध गर्न पैसाको अभावमा कुनै सामान किन्ने अवस्था नरहेकोले केही सहयोग होस भन्ने उद्देश्यले आफूले खाद्यान्न सामग्री उपलब्ध गराएको उनले बताइन् ।
चर्चित सुटकेस काण्ड रुबी साह हत्याकाण्डका मुख्य आरोपित लक्षमण पासवानको केहीदिन अघि मात्र उपचारको क्रममा मृत्यु भएको थियो।
बुबाको एक्लो छोराको रूपमा रहेको पासवानको मृत्युपछि आर्थिक रुपमा निकै कमजोर र विपन्न रहेका उनको परिवार अहिले विचलिमा परेका छन्।
पासवानको दुई छोरा र श्रीमती छन् भने उनको बुबा र आमा पनि छन् ।
लक्ष्मणको मृत्यु पछि उनको सिंगो परिवार नै ठूलो आर्थिक समस्यामा परेका छन् ।
आरके श्रीवास्तव,राैतहट,भदौ २२ गते ।
रौतहटको गरूडा देखि समनपुर जोड्ने मुख्य सडकखण्ड अन्तर्गत चाँदी खाेला भन्दा अगाडि र मलाहीटाेलकाे बिचमा कज्वे क्षेत्र नजिकैको सडकमा पानीको ओभरफ्लो हुँदा आवागमनमा समस्या हुँदै आएको छ । अलिकति पानी परे पनि सडकमा पानी जमेर बग्ने अवस्था सिर्जना हुने गरेको छ, जसले गर्दा दैनिक आवतजावत गर्ने सर्वसाधारण तथा सवारीसाधनलाई ठूलो सास्ती हुने गरेको छ ।
स्थानीयहरूका अनुसार वर्षा भएलगत्तै सडकभरि पानी जमेर नदीझैं बग्ने स्थिति आउँछ । यस बाटो भएर विद्यार्थी, कर्मचारी, व्यापारीदेखि लिएर एम्बुलेन्स र भिआइपि सवारीसम्म गुड्ने गर्दछन् । तर यस्तो गम्भीर समस्याप्रति सम्बन्धित निकायको ध्यान जान सकेको छैन् ।
“हाम्रो माग कुनै नयाँ सुविधा होइन, यतिका वर्षदेखि यो समस्यालाई सम्बन्धित निकायहरूले वेवास्ता गरिरहेका छन्,” एक स्थानीयले गुनासो गरेका छन् । उनका अनुसार खासगरी विद्यालय समयमा विद्यार्थीहरू भीडमा जोखिम मोल्दै स्कुल जान बाध्य छन् ।
यो सडकखण्ड सडक डिभिजन राैतहट तथा स्थानिय तहको जिम्मेवारी क्षेत्रभित्र पर्छ । तर अहिलेसम्म स्थायी समाधानका लागि कुनै पहल नदेखिएको भन्दै स्थानीयवासीहरू आक्रोशित छन् ।
स्थानीय प्रशासन तथा सडक डिभिजन कार्यालयले समस्या समाधानका लागि तत्काल ध्यान नदिए जनप्रदर्शन गर्ने चेतावनीसमेत स्थानीयहरूबाट आएको छ ।
काठमाडौँ, भदौ २१ गते ।
आगामी २०८२ साल अर्थात भदौ २२ र २३ गते लाग्ने खग्रास चन्द्रग्रहण नेपालबाट प्रत्यक्ष अवलोकन गर्न सकिने खगोलविद्हरूले जानकारी दिनुभएको छ ।
नेपालसँगै यो ग्रहण युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट देखिने भए पनि उत्तर र दक्षिण अमेरिकाबाट भने देखिने छैन । खग्रास अवस्थामा चन्द्रमा रातो देखिने भएकाले यसलाई ‘रक्तिम चन्द्र’ पनि भनिन्छ ।
बी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुर, काठमाडौंका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार ग्रहणको समयसूची (नेपाली समय अनुसार) :
विरल छायाँले ढाक्न सुरु गर्ने : २२ गते राति ९ः१३ बजे
खग्रास सुरु (सघन छायाँले ढाक्ने) २२ गते राति ११ः१५ बजे
ग्रहणको मध्य : २२ गते राति ११ः५६ बजे
खग्रास समाप्त (सघन छायाँले हट्ने) २३ गते बिहान १२ः३७ बजे
विरल छायाँ हट्ने : २३ गते बिहान २ः४० बजे
जम्मा अवधिः ५ घण्टा २७ मिनेट

चन्द्रग्रहण देखिने कारण
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्दा पृथ्वी बीचमा आउँछ । यस क्रममा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र पृथ्वीबाट चन्द्रग्रहण देखिन्छ । यो घटना पूर्णिमाको रातमै हुने गर्दछ ।

अवलोकन र प्रभाव
चन्द्रग्रहण खाली आँखाले नै सजिलै अवलोकन गर्न सकिन्छ । वैज्ञानिक अध्ययनअनुसार ग्रहणको मानव जीवनमा कुनै पनि नकारात्मक प्रभाव नपर्ने प्रष्ट तथ्य उपलब्ध भएको छ । सभार गोरखापत्र
आरके श्रीवास्तव,राैतहट,भदौ २२ गते ।
२२ औं निजामती सेवा दिवसको अवसरमा मालपोत कार्यालय गरुडा, रौतहटमा विशेष सरसफाइ तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कार्यालयका कर्मचारीहरूबीच आपसी सहकार्य र सेवा भावनाको सम्मानस्वरूप उत्कृष्ट कर्मचारी छनोट गरि सम्मान गरिएको हो ।

उक्त अवसरमा मालपोत कार्यालयमा कार्यरत सुब्बा अरविन्द कुमार यादवलाई उत्कृष्ट कार्यसम्पादन, इमान्दारिता, शिष्ट व्यवहार तथा सेवा प्रतिको समर्पणका आधारमा “सर्वोत्कृष्ट कर्मचारी” घोषणा गर्दै सम्मान पत्र प्रदान गरिएको छ ।

कार्यालय प्रमुख मालपोत अधिकृत मोहन कुमार पाठकले यादवको योगदानले कार्यालयको प्रतिष्ठा अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कर्मचारीहरूबाट प्रेरणा लिइने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा सरसफाइ अभियान पनि सञ्चालन गरिएको थियो, जसमा सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता रहेको मालपोत कार्यालय गरूडाका कर्मचारी हरिन्द्र प्रसाद यादवले जानकारी गराउनु भएको हाे ।
मालपोत कार्यालय गरुडाले निजामती सेवा दिवसलाई सेवा, इमानदारी र समर्पणको भावना अभिवृद्धि गर्ने अवसरको रूपमा उपयोग गर्दै आएको छ ।
२२ भदौ, काठमाडौँ ।
सूचना प्रविधिको क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको छ । महासङ्घले कानुनी दायरामा ल्याउने पहल सकारात्मक भए पनि निष्क्रिय बनाउने कार्यका कारण ल्याउन सक्ने असरप्रति सचेत रहन आग्रह गरेको छ ।
नेपालमा सूचीकरण नभएकै कारण अपराध, गलत सूचना र व्यक्तिगत सुरक्षासम्बन्धी समस्यामा औपचारिक सम्पर्क कार्यालय नहुनु चुनौती भएको महासङ्घले जनाएको छ ।
“सामाजिक सञ्जाल दर्ता प्रक्रियामा ल्याउने सरकारको निर्णयलाई हामी सकारात्मक रूपमा लिन्छौँ । यसले प्रयोगकर्ताको सुरक्षामा टेवा पुग्नेछ, साइबर अपराध नियन्त्रण र राजस्व वृद्धिमा योगदान गर्नेछ । तर फेसबुक, एक्स, युट्युबजस्ता महत्त्वपूर्ण प्लेटफर्महरू एकैपटक बन्द गर्दा शिक्षा, व्यवसाय, सञ्चार र आमनागरिकको दैनिकीमा गम्भीर असर पर्न सक्छ”, महासङ्घकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले भने । यो घटनाले नेपाल विश्वसँग डिजिटल रूपमा पछाडि पर्न सक्ने जोखिम पनि उत्तिकै रहेको भन्दै अध्यक्ष पाण्डेले यस्तो कदमलाई चरणबद्ध रूपमा अघि बढाउँदै सरोकारवालासँग पर्याप्त छलफल गरेर व्यावहारिक समाधान ल्याउनुपर्नेमा जोड दिए ।
महासङ्घका अनुसार नेपालमा करिब ७० प्रतिशत साना तथा मझौला व्यवसाय सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन् । त्यस्तै, सामाजिक सञ्जालमार्फत कन्टेन्ट राखेर आयआर्जन गर्ने ठूलो सङ्ख्यामा प्रयोगकर्ता रहेका कारण प्रतिबन्धले रोजगारी गुम्ने र व्यवसाय धरासायी हुने खतरा देखिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारसँग सम्पर्क गर्ने प्रमुख माध्यम रोकिँदा सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने पनि महासङ्घले जनाएको छ ।
अध्यक्ष पाण्डेले सामाजिक सञ्जाल निष्क्रिय गराउने कार्यलाई अन्तिम समाधानका रूपमा नलिई नियमनलाई दीर्घकालीन रणनीति बनाउनुपर्नेमा जोड दिए । महासङ्घले स्पष्ट कानुनी ढाँचा तयार पार्दै नेपालमा सम्पर्क विन्दु अनिवार्य गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्न सकेमात्र यो समस्याको दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गरेको छ ।
क्यान महासङ्घका महासचिव चन्द्रविलास भुर्तेलले सामाजिक सञ्जाल बन्द भएमा भिपीएन र ओपन डिएनएसको प्रयोग अत्यधिक बढ्ने र यसले साइबर सुरक्षामा गम्भीर जोखिम निम्त्याउने धारणा राखे । महासङ्घले अन्तरराष्ट्रिय अभ्यासलाई आधार बनाउँदै नेपालले पनि व्यवस्थित र व्यावहारिक कानुनी संरचना बनाउनुपर्नेमा जोड दिएको छ ।
सन्तुलित नियमनमार्फतमात्र सामाजिक सञ्जाललाई व्यवस्थित र सुरक्षित बनाउन सकिनेमा क्यान महासङ्घले जोड दिएको छ । यस विषयमा जिम्मेवार निजी क्षेत्रको हैसियतमा सरकारसँग प्राविधिक अध्ययनमा सहयोग गर्ने, अन्तरराष्ट्रिय अभ्यास साझा गर्ने र सरोकारवालासँग निरन्तर संवाद गर्ने प्रतिबद्धतासमेत महासङ्घले जनाएको छ । सुर्य खबर
बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २१ गते ।
दुर्गाभगवती गाउँपालिका–३, मत्सरीमा डिम्पल झा स्मृतिमा स्थापित छात्रवृत्ति तथा छोरी संरक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा छोरी जन्माउने आमाहरूलाई सम्मानस्वरूप नगद पाँच–पाँच हजार रुपैयाँ वितरण गरिएको छ भने शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
कक्षा १२ मा ३.६ जिपिए प्राप्त गरेकी अनुष्का राम र ज्योति सराफलाई जनही नगद २५ हजार रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरिएको वडा अध्यक्ष डिके झाले जानकारी गराउनु भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष एवम् पूर्व मन्त्री अनिल कुमार झा थिए । उनले दिवंगत नेतृ डिम्पल झाले मधेस प्रदेश र आफ्नाे गाउँसमाजकाे लागि पुर्याएकाे योगदानलाई स्मरण गर्दै यस्तो प्रेरणादायी कार्यक्रम विरलै मात्र हेर्न पाइने बताएका थिए। उनले कार्यक्रम सफल रूपमा सम्पन्न गर्नुभएका वडा अध्यक्ष डी.के. झालाई विशेष धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा दुर्गाभगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव, नेता रेवन्त झा, मैथिली ब्राह्मण संघका कोषाध्यक्ष नवीन झा, मनोज झा, स्थानीय पत्रकार, भद्रभलाद्मी, अभिभावक, विद्यार्थी तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
वडा अध्यक्ष डी.के. झाले कार्यक्रममा जानकारी दिँदै भन्नुभयो, “हाम्रो वडा मात्रै हैन, सिंगो समाजमा शिक्षा र छोरीको सम्मानको संस्कृति फैलियोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमहरू गर्दै आएका छौं । यसअघि पनि एमबिबिएस अध्ययनमा नाम निकालेका दुई छात्रालाई जनही ५१ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरेका थियौं।” उहाँले यस्ता दर्जनौं सम्मान तथा पुरस्कारहरूको स्थापनाकाे योजना अघि सारिएको जानकारी पनि दिनुभयो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २१ गते ।
लामो अन्तरालपछि मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा
शनिबार राति देखि परेको वर्षाले स्थानीय किसानहरूमा खुसी छाएको छ । रौतहट लगायतका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएपछि खेतबारी सिँचाइ गर्न सजिलो भएको छ भने धान लगायतका बाली सिँचाइका लागि पानीको आपूर्तिमा सहजता आएको छ ।
विगत केही हप्तादेखि वर्षा नहुँदा धान रोपाइँ भएपनि प्रभावित बनेको थियो । कतिपय स्थानमा रोपिएका धानहरू सुक्न थालेका थिए । तर हालको वर्षाले खेतीयोग्य जमिनमा चिस्यान आएको भन्दै किसानहरूमा उत्साह देखिएको छ ।
कटहरिया ८ पिप्रा पाेखरियाका स्थानीय किसान संताेष यादव भन्छन्, “यसपाली समयमा पानी नपर्दा धेरै चिन्ता थियो । अब भने ढिलो भए पनि धान बालीलाई प्रत्यक्ष लाभ भएको देखिएको छ । खेतीको मुख्य सिजनमा पानी पर्नु निकै ठूलो राहत हो।”
वर्षासँगै कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ । सरकार सँग समयमा मलखाद उपलब्ध गराउन किसानहरूले माग गरेका छन् ।
काठमाडौं, २१ भदौ ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली प्रस्तान गरेका छन् । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज उनी नयाँ दिल्ली प्रस्तान गरेका हुन् ।
‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ आम प्रवासी नेपाली एकता समाजले आईतबार नयाँ दिल्लीमा आयोजना गरेको भेला एवं अन्तरक्रिया कार्यक्रममा आजपा अध्यक्ष साह सहभागि हुने कार्यक्रम रहेको छ ।
आजपा निकटको आम प्रवासी नेपाली एकता समाज भारत शाखाले आयोजना गर्न लागेको सो कार्यक्रममा नेपालबाट नयाँ दिल्लीमा विभिन्न पेशाव्यवसायमा रहेका नेपालीहरुको सहभागिता रहने साहको सचिवालयले जनाएको छ ।
यस अघि हालै आजपा अध्यक्ष साह भारतको मुम्बईमा आयोजित प्रवासी नेपालीहरुको कार्यक्रममा सहभागि भएका थिए । आजपा नेपाल सहित विदेशमा समेत कमिटी बिस्तार गर्ने क्रममा रहेको छ ।

दिल्लीमा आजपा अध्यक्ष भेला, अन्तरक्रिया कार्यक्रमका साथै त्यही रहेका नेपाली उधोगी, व्यापारी, बिद्यार्थी लगायतकासंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । आजपा अध्यक्ष साह आठ बर्षपछि पहिलो पटक दिल्ली पुगेका हुन् ।
दिल्लीको कार्यक्रम सम्पन्न भएको केही समयपश्चात आजपाले मलेसिया, दुवई, कतार लगायतका मुलुकमा समेत संगठन बिस्तार गर्दै बिभिन्न कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ ।