<

 

प्रदिप कुमार दास, रौतहट ।

भदौँ ११ गते , मंगलबार । रौतहटको देवाही गोनाही नगरपालिकामा हालै विवादको केन्द्रमा रहेको मेला प्रकरणले नयाँ मोड लिएको छ।

नगर प्रमुख प्रेमलाल साह र मेला समितिका अध्यक्ष रंजन साहबीचको विवाद सार्वजनिक भएको छ, जसले स्थानीय समाजमा हलचल मच्चाएको छ। मेला समितिका अध्यक्ष रंजन साहले नगर प्रमुख प्रेमलाल साहले धरहरीको मेलाबारे सामाजिक संजालमा दिएको अभिव्यक्ति गलत र तथ्यहीन रहेको आरोप लगाएका छन्।

उनले मेयर साहको अभिव्यक्तिले मेला समितिको प्रतिष्ठामा आघात पुर्याएको बताउँदै, सामाजिक संजालमा फैलाइएका कुराहरुलाई निराधार भन्दै खण्डन गरेका छन्। रंजन साहका अनुसार, राम जानकी मठ ब्रहबाबा मन्दिरमा आयोजित मेलामा टिकटक कलाकारहरुलाई बोलाउने प्रस्ताव मेयर साहका आसेपासेहरुले अघि सारेका थिए।

तर, जब उक्त प्रस्तावलाई समुदायका युवाहरुले अस्वीकार गरे, तब मेयर साहले मेलामा सहभागी नहुने निर्णय गरेका थिए। यस्तै, अध्यक्ष साहले मेयर साहले मेला उद्घाटन कार्यक्रममा सहभागी नभएर, आफैंले चन्दा दिइएको १२,००० रुपैयाँ फिर्ता मागेको आरोप पनि लगाएका छन्। यसले मेलाको व्यवस्थापनमा थप जटिलता सिर्जना गरेको छ।

यो पहिलो पटक भने होइन, जब नगर प्रमुख प्रेमलाल साह मेलासँग सम्बन्धित विवादमा मुछिएका हुन्। गत वर्ष छठ पर्वको अवसरमा आयोजना गरिएको नाटक कार्यक्रम उद्घाटनमा पनि उनले विभिन्न प्रकारका ‘तमासा’ देखाएका थिए।

यस पटक पनि, श्रीकृष्ण जन्माष्टमीको मेला उद्घाटन कार्यक्रममा सहभागी नभइ, उल्टै सामाजिक संजालमा गलत सूचना फैलाएको मेला समितिमा आबद्ध सदस्यहरुले आरोप लगाएका छन्। विवाद बढ्दै जाँदा, स्थानीय बासिन्दाहरुले यो घटनालाई गम्भीर रुपमा लिएका छन् र यसको समाधानको माग गर्दै नगरपालिकाको नेतृत्वबाट पारदर्शिता र जिम्मेवारीको अपेक्षा गरेका छन्।

नगर प्रमुख र मेला समितिका अध्यक्षबीचको यो विवादले देवाही गोनाही नगरपालिकामा सामाजिक एकता र मेलमिलापमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

यो विवादले मेलाको मुख्य उद्देश्यलाई ओझेलमा पार्न सक्ने खतरा छ, जसले गर्दा आगामी दिनमा यस्ता गतिविधिहरुमा समुदायको सहभागिता र सहयोगमा ह्रास आउन सक्छ। अब यस विवादको समाधान कसरी हुन्छ र यसले नगरपालिकाको भविष्यमा के प्रभाव पार्नेछ भन्ने कुरा समयमै थाहा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1