<

रौतहट,२२ गते जेठ । रौतहटको कटहरिया नगरपालिका १ भसेढवाका किसान मोहन कुशवाहा निके खुसी भएका छन् । वडा कार्यालयबाट निशुल्क क्यान पाएपछि कुशवाहा खुसी भएका हुन् । कटहरिया नगरपालिका १ को वडा कार्यालयले ७२ किसानलाई निशुल्क क्यान प्रदान गरेको छ । वडाध्यक्ष भूपेन्द्र महतो कोइरीले एक समारोहको आयोजन गरी ७२ किसानलाई निशुल्क क्यान प्रदान गरेका हुन् ।Open photo वडाध्यक्ष कोइरीले दूध उत्पादक किसानलाई सम्मान गर्दै वडास्तरीय योजना तथा बजेटबाट केही सहुलियत प्रदान गरेको बताएका छन् । वडाको ९९ हजार रुपैया बजेटबाट दूध उत्पादन गर्ने ७२ किसानलाई क्यान दिएर सम्मानित गर्न पाउँदा आफूलाई पनि हर्ष लागेको वडाध्यक्ष कोइरीको भनाइ छ । वडामा एउटा मात्र दूध संकलन केन्द्र तथा डेरी उद्योग रहेको छ । मुख्य गरी किसान मात्र रहेको वडामा जनप्रिय दूध संकलन तथा डेरी उद्योग संचालनमा रहेको छ । क्यानले दूध संकलन गर्न तथा सुरक्षित साथ दूध संकलन केन्द्रसम्म लैजान सजिलो हुने किसानहरुले बताएका छन् । Open photoस्थानीय उमेश साहले क्यान प्राप्त गरेपछि खुसी व्यक्त गर्दै पहिलेको जस्तो दूध खेर जाने तथा दूध संकलन केन्द्रसम्म लैजाँदा वर्षाको समयमा पानी मिसिने डर नभएको बताउँछन् । साहले दूध सुरक्षित हुने तथा किसानको आयमा वृद्धि गर्न सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । यसै गरी अर्का दूध उत्पादक किसान अशोक रामले वडाध्यक्ष कोइरीलाई धन्यवाद दिँदै गरिब तथा दलित किसानलाई सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन् । रामले भने – अब दूध संकलनमा सहुलियत भएको छ । गरिब तथा दलितको घरमा दूधको लागि उपयुक्त भाँडोको अभाव हुने भएकोले वडा कार्यालयले दिएको क्यान निकै उपयोगी हुने रामको भनाइ छ । वडाध्यक्ष कोइरीले दूधको उत्पादनमा वृद्धि तथा सुरक्षित उपभोगका साथै किसानको आयमा वृद्धि हुने विश्वास आफूले लिएको बताएका छन् । आगामी दिनमा पनि किसानलाई सहुलियत प्रदान गर्ने योजना ल्याउन किसानसित सल्लाह गर्ने वडाध्यक्ष कोइरीको भनाइ छ । कटहरिया नगरपालिका कृषकहरुकै बाहुल्य भएको पालिका भए पनि अन्य वडा तथा नगरपालिका कार्यालय किसान लक्षित खासै कुनै योजना ल्याउन सकेको छैन । वडाध्यक्ष कोइरीले किसानलाई सोझै लाभ हुने योजना सफल पारेपछि किसानहरुले प्रशंसा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0