<

राैतहट,१५ गते जेठ । देशमा सबैभन्दा कम साक्षरता रहेको जिल्लाका तिन विद्यालय देशमै उत्कृष्ट देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकालेको माध्यमिक शिक्षा परीक्षासम्बन्धी तथ्यांकमा रौतहटका तिन सामुदायिक विद्यालय उत्कृष्ट देखिएका हुन् । कम्तीमा एक सयभन्दा बढी विद्यार्थी सहभागी गराई तिस प्रतिशतभन्दा बढी विद्यार्थीले औसत स्तरीकृत अंक (जिपिए) ३.२ वा सोभन्दा माथि प्राप्त गर्ने सामुदायिक विद्यालय देशभरमा १५ रहेकामा रौतहटका तिन विद्यालय परेका छन् । मन्त्रालयको स्रोतमा १५ विद्यालयमध्ये रौतहटका विद्यालय माथिल्लो दशभित्रै परेका छन् । देशमा मावि गरुडाले तेस्रो स्थान प्राप्त गरेको छ । १८८ विद्यार्थी एसइइमा समावेश गराएको गरुडा नगरपालिका ४ स्थित माध्यमिक विद्यालयले ६१.१४ प्रतिशत विद्यार्थीसहित देशमा तेस्रो स्थान हासिल गरेको हो । विद्यालयका प्रधानाध्यापक प्रभु राउत पटेलले विद्यालयमा शिक्षक विद्यार्थी अनुपात नमिलेको भए पनि शिक्षक विद्यार्थीहरुको परिश्रमका साथै आफ्नो योजनाबद्ध शैक्षिक योजनालाई कार्यरुप दिँदा विद्यालयले शैक्षिक उपलब्धि हासिल गरेको बताएका छन् । यसै गरी ४४१ विद्यार्थीलाई एसइइमा सहभागी गराउँदै जुद्ध मावि गौर ५२.८३ प्रतिशत विद्यार्थीसहित देशमा पाँचौँ तथा २४८ विद्यार्थीलाई एसइइमा सहभागी गराउँदै सरस्वती मावि पिपरा भलोहिया ४७.९८ प्रतिशत विद्यार्थीसहित देशमा सातौँ स्थान ग्रहण गरेका छन् । देशका १५ उत्कृष्ट विद्यालयमा मधेश प्रदेशको अन्य जिल्लाका कुनै पनि विद्यालय परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
1
+1
1
+1
1
+1
1