<

राैतहट,२६ गते वैशाख । रौतहटको फतुवा विजयपुर नगरपालिकाको शिक्षामा चरम बेथिति देखिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले आफ्नो मान्छे हेरी हेरी शिक्षकलाई तलब पठाउन थालेपछि शिक्षकहरु आक्रोशित बनेका छन् । आक्रोशित शिक्षकले कार्यालय प्रमुख पालको विरोधमा नगरका सबै विद्यालय ठप्प पारेका छन् । पालिकाका पूर्व शिक्षा संयोजक बुनिलाल राय यादवले नगरका अधिकांश शिक्षकले तलब खाए पनि अनुदानमा संचालित तिन विद्यालयका शिक्षकहरु, शैक्षिक सुदृढीकरण अन्तर्गत कार्यरत सात जना शिक्षकका साथै राहत र करार सेवामा कार्यरत १२ जना शिक्षकको तलब नगरपालिकाले नपठाएको बताएका छन् । कमजोर शिक्षकसित केही पाउने लोभले कार्यालय प्रमुख पालले तलब भत्ता नपठाएको भन्दै आक्रोशित सम्पूर्ण शिक्षकले नगरका सम्पूर्ण विद्यालय ठप्प पारेका छन् । राहत, करार तथा अनुदानमा संचालित विद्यालयका शिक्षकहरुबाट कार्यालय प्रमुख पालले बार्गेनिङ गरेको आरोप शिक्षकहरुले लगाएका छन् । शैक्षिक सत्र सुरु भएको एक महिना बित्न लाग्दा पनि कार्यालय प्रमुख पालले विद्यालयहरुलाई पाठ्यपुस्तकको रकम निकासा दिएका छैनन् । पाठ्यपुस्तकको रकमवापत कार्यालय प्रमुख पालले प्रअहरुसित अनौपचारिक रुपमा कमिसनको माग गरेको बुझिएको छ । यसै गरी गत साउन महिनादेखि विद्यालय खाजाको रकम पनि विद्यालयहरुमा पुग्न सकेको छैन । कार्यालय प्रमुख पालको नियत नै खराब भएको महसुस गरेपछि शिक्षकहरुले विद्यालय ठप्प पारी विरोध प्रदर्शन गरेका छन् । हजारौँ विद्यार्थीको पढाइ रोकिएपछि बुधवार शिक्षक र कार्यालय प्रमुखबिच वार्ता भएको छ । अहिलेसम्म रोकिएका शिक्षकको तलब, पाठ्यपुस्तक वापतको रकम र विद्यालयमा दिवा खाजाको रकम सबै एक साथ आउँदो आइतवारसम्म विद्यालयका खातामा पठाउने प्रतिबद्धता पालले व्यक्त गरेका छन् । कार्यालय प्रमुख पालको प्रतिबद्धता आएपछि विहीवारदेखि नगरका सबै विद्यालय संचालनमा आउने भएको पूर्व शिक्षा संयोजक यादवको भनाइ छ । लामो समयदेखि विवादमा रहेको फतुवा विजयपुर नगरपालिकामा देखिएको शैक्षिक बेथितिबारे जवाफ दिन कार्यालय प्रमुख डराएका छन् । कार्यालय प्रमुख पाललाई मोबाइलमा सम्पर्क गर्दा फोन काट्ने गरेका छन् । महिनौँदेखि उधारोमा बालबालिकालाई खाजा खुवाएको तथा उधारोमा पाठ्यपुस्तक लिएर विद्यार्थीलाई वितरण गरिसकेका विद्यालयलाई पनि रकम भुक्तानी गर्न आनाकानी गरिरहेका कार्यालय प्रमुख पालका कारण फतुवा विजयपरको शिक्षामा व्यापक बेथिति मौलाउँदै गएको छ । शिक्षामा सुधार गर्नुपर्नेमा कार्यालय प्रमुख पालले नगरको शिक्षालाई ध्वस्त बनाउँदै लगेको आरोप शिक्षकहरुको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0