राैतहट,२६ गते चैत ।
रौतहटको कटहरिया बजारबाट कृषि विकास बैंक माओवादी सशस्त्र द्वन्द्वकै समयमा विस्थापित भएको हो । देशमा शान्ति स्थापना भएको दशकौँ बितिसक्दा पनि बैंक पुनस्र्थापना नहुँदा स्थानीयलाई सास्ती भएको छ । कृषि विकास बैंकसित नियमित कारोबार गर्ने उपभोक्ताहरु गौर, चन्द्रनिगाहपुर र गरुडासम्म जानु परिरहेको छ । नजिकको बैंक टाढा गइदिँदा उपभोक्तालाई निकै सास्ती भइरहेको स्थानीय दिनानाथ कलवारको भनाइ छ । द्वन्द्वकालमा नै विस्थापित भएको नेपाल बैंक लिमिटेड पुनस्र्थापना भएको करिब आधा दशक भइसकेको छ । नेबैलिको आफ्नै भवन निर्माण भएर उद्घाटन पर्खिरहेको अवस्थामा कृविबैको जमिन भने अतिक्रमणको चपेटामा परेको छ । बैंकको नाममा कटहरियामा ८ कठा ५ धुर जमिन रहेको छ । चारैतिर बाटो भएको करोडौँको जमिन अतिक्रमण भइरहेको छ । बैंकको जमिन रेखदेख गर्ने कोही नहुँदा बाटो पनि निकालिइसकिएको छ । यद्यपि बैंकको अनुमति नलिई निकालिएको बाटोलाई अदालतले बदर गरिसकेको बैंकका मधेश प्रदेश प्रमुख रामप्रसाद गजुरेल बताउँछन् । कटहरियामा रहुन्जेल निरन्तर नाफामा रहेको कृषि विकास बैंक पुनस्र्थापना हुनुपर्ने स्थानीय प्रकाश श्रेष्ठको माग रहेको छ । बैंकको जमिन अतिक्रमण भइरहेको तर बैंकले कटहरियामा पुनस्र्थापनाको लागि कुनै पहल नगर्दा स्थानीयमा निराशा रहेको श्रेष्ठको भनाइ छ । कटहरिया नगरपालिकाका पूर्व नगर प्रमुख सियाराम कुशवाहाले कृषि विकास बैंकलाई कृषकको आफ्नो कुरो सुन्ने र खेती, पशुपालन तथा व्यावसायिक कृषिका लागि ऋण पाउन सहज हुने भएको बैंक भएकोले बैंकलाई तत्काल पुनस्र्थापना गर्नुपर्ने माग गरेका छन् । सबै जनप्रतिनिधि तथा स्थानीयवासीले कृषि विकास बैंकलाई कटहरियामा पुनस्र्थापना गर्न अब ढिलो गर्न नहुने कुशवाहाको भनाइ छ । बैंकका प्रदेश प्रमुख गजुरेलले आफूहरु कटहरियामा बैंक पुनस्र्थापनाका लागि सकारात्मक रहेको तर स्थानीय सरकार र वडा कार्यालयले सिफारिश गरेर केन्द्रीय कार्यालयमा डेलिगेसन लिएर जानुपर्ने बताउँछन् । स्थानीय सरकारको माग भएमा आगामी आर्थिक वर्षदेखि नै बैंक संचालन हुने र भवन पनि निर्माण भइसक्ने बताउँदै गजुरेलले बैंकको जमिन अतिक्रमण नभएको दाबी गरेका छन् । केही समय पहिले जनप्रतिनिधि, कार्यालयका कर्मचारी तथा अन्य पक्षको रोहबरमा जग्गाको नापजाँच गरेको र स्थानीय सरकारले पहल गर्नासाथ बैंक पुनस्र्थापना हुने गजुरेलको तर्क छ । कटहरिया नगरपालिका ५ का वडाध्यक्ष सर्फलाल गुप्ताले वडा कार्यालयको सिफारिशले हुने भए आजको आजै सिफारिश गरेर बैंकलाई इमेल गर्ने बताउँदै प्रक्रिया बुझेर केन्द्रीय कार्यालय सिफारिशसहित डेलिगेसन जानुपरे पनि आफू जान तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । नगर प्रमुखसित कुरा गरेर एक दुई दिनभित्रै नगर प्रमुखलाई कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा प्रत्यक्ष सम्पर्कका लागि सुझाव दिने वडाध्यक्ष गुप्ताको भनाइ छ । अन्य ठाउँको भन्दा कटहरिया बैंकको लागि उपयुक्त भएको आफूहरुको ठहर रहेको बताउँदै गजुरेलले सबै कुरा उपयुक्त हुँदाहुँदै पनि स्थानीय सरकारको पहल बिना बैंक पुनस्र्थापना नहुने स्पष्ट पारेका छन् ।