भक्तपुर, २० चैत ।
चाँगुनारायण नगरपालिकाले वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि समुदायमै तालिम प्राप्त स्वयंसेवकहरु तयार गर्नको लागि संचालित प्रथम उद्धारकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिकाको वडा नं १ देखि ९ सम्मका विपद् व्यवस्थापन स्वयंसेवकहरुको लागि चैत्र ४ गते देखि १४ गतेसम्म विभिन्न ३ समुहमा सञ्चालित प्रशिक्षणका सहभागिहरुलाई एक कार्यक्रमका बीच चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले प्रमाणपत्र तथा टिसर्ट वितरण गरे ।
समापन कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले विपद् उत्थानशील चाँगुनारायण बनाउने उद्धेश्यका साथ नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यहरु गर्दै आइरहेको बताए । उनले विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्ने भनेको समुदायका मानिसहरुनै हुने भएकाले समुदायका मानिसहरुलाई प्राथमिक उपचार, खोज तथा उद्धारका ज्ञान र शीप प्रदान गरी तयारी अवस्थामा राख्नको लागि नगरपालिकाले प्रथम उद्धारकर्ता प्रशिक्षण संचालन गरेको बताए ।
आधारभूत प्रशिक्षण लिएर कार्य गर्ने स्वयंसेवकमध्येबाट छनौट गरी कम्तीमा २५ जनालाई सशस्त्र प्रहरी बलसँगको सहकार्यमा अग्रवर्ती प्रशिक्षणमा सहभागी गराइने जानकारी पनि नगर प्रमुखले दिए । नगर प्रमुख खत्रीले विपद्को अवस्थामा खटिने स्वयंसेवहरुको लागि नगपालिकाले निःशुल्क विमा गर्नुका साथै न्यूनतम सुविधा उपलब्ध गराउने जानकारी पनि गराए ।
तीन समुहमा तीन दिनका दरले ९ दिनसम्म नगरपालिकाको तालिम हल हेल्मेट डाँडामा संचालन गरेकोे प्रशिक्षणमा ३० महिला र ५१ पुरुष गरी ८१ जनाको सहभागिता रहेको प्रशिक्षणको संयोजक चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ दिनेश थापाले बताए । सैद्धान्तिक र प्रयोगात्मक शीपको समेत अभ्यास गरिएको प्रशिक्षणमा प्रशिक्षकहरु शिबराम गौतम, राजुमार लम्साल, ऋषि खड्का, दिवाकर पौडेल, कविता बुढाथोकी लगायतले सहजिकरण गरेका थिए । न्युज कारखाना