<

 

काठमाडौँ : मंसिर ९

उत्तरको छिमेकी चीनमा अहिले अज्ञात निमोनिया फैलिएको छ। अज्ञात संक्रमणका कारण निमोनिया फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनमा बढ्दो श्वासप्रश्वाससम्बन्धी रोगप्रति चिन्ता व्यक्त  गरेको छ।

 

 

निमोनिया संक्रमण फैलन थालेपछि चीनमा सतर्कता अपनाउन थालिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

अहिले उत्तरी चीनमा फैलिएको अज्ञात निमोनिया भाइरस संक्रमणले हो कि ब्याक्टेरियाको संक्रमणले गर्दा हो भन्ने यकिन नभए पनि यसबाट धेरै बालबालिका प्रभावित भएका छन्।

हाल चीनको साङहाइ‚ पेकिङ जस्ता ठूला शहरमा एकैपटक बालबालिकाहरूमा अज्ञात निमोनिया संक्रमण फैलन त्यहाँ अस्पतालहरूमा विरामीको चाप बढिरहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

चीनमा अज्ञात निमोनिया संक्रमण फैलिन थालेपछि नेपालमा पनि चिन्ताको विषय रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउँछन्।

‘चीनमा फैलिएको अज्ञात निमोनिया भाइरस संक्रमणले हो कि ब्याक्टेरियाको संक्रमणले गर्दा हो भन्ने कुरा अहिलेसम्म पुष्टि भएको देखिदैन तर एकैपटक धेरै जनामा छिटो संक्रमण फैलदा धेरैमा निमोनिया भएको देखिन्छ। त्यसमाथि बालबालिका उमेर समूहमा धेरै संक्रमण फैलिएको देखिन्छ जुन हाम्रो लागि पनि चिन्ताको विषय हो। धेरै नेपालीहरूको आउजाउ गर्ने बेजिङमा नै यो संक्रमण फैलिरहेको छ‚ त्यो झन् हाम्रा लागि चिन्ताको विषय हो’‚ डा. पुनले भने।

आक्रामक रूपले अज्ञात रोग फैलिइरहँदा भविष्यमा भयावह अवस्था आउन सक्ने भन्दै डा. पुनले सामान्य रूपमा देखिएका रूघाखोकी, ज्वरो जस्ता लक्षणलाई पनि नजरअन्दाज नगर्न आग्रह गरेका छन्।

‘अहिले मैले अध्ययन गरे अनुसार चीनका ठूला–ठूला अस्पतालमा दैनिक १२ देखि १५ सय विरामी भएको भन्ने कुरा आइरहेका छन्’‚ उनले भने‚ ‘यो रोगलाई नजरअन्दाज गर्न हुँदैन।  यसअघि कोभिड १९ संक्रमणको  सुरुवाती समयमा पनि त्यसलाई सामान्य मानिएको थियो तर पछि भई विश्वभर आतङ्क मचायो।’

चीनमा एकैपटक ठूलो संख्यामा आक्रामक रूपले यो रोग बढ्दै गर्दा अन्य मुलुक पनि अछुतो नरहने समेत उनले बताए। ‘कोभिड १९ को समयमा पनि चीनमा संक्रमण फैलिएको एक महिनाभित्रै हाम्रोमा विरामी भेटिएको थियो’‚ डा. पुनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0