<
काठमाडौँ
राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको मतभार कायम गरेको छ । आयोगले राष्ट्रिय सभाका १९ सदस्यका लागि माघ दोस्रो साता निर्वाचन गर्ने तयारी गरेको छ । २०७८ को जनगणनाको तथ्यांकअनुसार मतदाताको मतभार पनि कायम गरेको छ ।
आयोगको बुधबारको बैठकले राष्ट्रिय सभाका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको मतभार कायम गरेको हो । प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ । २०७८ को मतगणनाको प्रतिवेदन आउनुअघि राष्ट्रिय सभा निर्वाचक मण्डलका सदस्यहरू प्रदेश सांसदको मतभार ४८ थियो भने गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचक मण्डलका सदस्यहरूको मतभार कायम भइसकेपछि राष्ट्रिय सभा निर्वाचनको मितिबारे सरकारसँग परामर्श भइरहेको जानकारी दिए । निर्वाचन कहिले गर्ने भन्ने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा जाने व्यवस्था छ । थपलियाले मतभार कायम गरिएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग राष्ट्रिय सभाको आगामी निर्वाचनबारे बुधबार नै छलफल गरेका छन् ।

राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनका विषयमा आयोगले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी माघ १५ भित्र राष्ट्रिय सभा निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस गरिसक्ने गरी तयारी भइरहेको जानकारी दिएका छन् । ‘माघ दोस्रो हप्ता निर्वाचन गर्ने तयारी छ । आजमात्रै लाइन मिनिस्ट्री भएकाले गृहमन्त्रीसँग भेटेर छलफल गरिसकेको छु । अब सरकारसँग परामर्श गरेर मितिबारे छलफल हुन्छ,’ उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनको मतदान माघ ९ देखि १२ सम्म गरिसक्ने भन्ने छलफल चलेको थियो । माघ ११ गते बिहीबार मतदानको मिति घोषणा गर्ने कि भन्नेमा छौं ।’ उनले राष्ट्रिय सभाका लागि आयोगले सम्पन्न गर्नुपर्ने कामहरू भइराखेको जानकारी दिए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि २०८० फागुन २० मा समाप्त हुन लागेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम सभाका सदस्यको पदावधि सकिनु ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । फागुन २० मा पदावधि समाप्त हुनेमा एमालेका ७ सांसद छन् ।

पदावधि सकिन लागेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । त्यसबाहेक इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राईको पनि पदावधि सकिन लागेको हो । राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित पाँच सांसदको पनि पदावधि सकिन लागेको छ । त्यसमा अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृगनारायण पाण्डे रहेका छन् ।

माओवादीका तीन जनाको पनि पदावधि सकिन लागेको छ । जसमा महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी छन् । एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्माको पदावधि सकिन लागेको छ भने जसपाकी प्रमिला कुमारीको पनि पदावधि सकिन लागेको छ ।

त्यस्तै, स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिन लागेको छ । राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिन लागेको छ । पौड्यालको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनीत हुनेछन् भने बाँकी १९ सांसदका लागि निर्वाचन हुन लागेको हो । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0