<

महोत्तरी, ६ मङ्सिर :

अब प्रहरी अनुसन्धानका क्रममा हिरासतमा रहेकाहरूले हिरासतकक्षमै अध्ययनको अवसर पाउने भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतकक्षमा पुस्तकालय सञ्चालनमा आएसँगै उनीहरुले सो अवसर पाउने भएका हुन् । हिरासतकक्षमा स्थापित पुस्तकालयको मङ्गलबार नै नेपाल प्रहरीका मधेस प्रदेश कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले उद्घाटन गर्नुभयो । स्थापित पुस्तकालयमा नेपाली साहित्यका विभिन्न विधाका गरी तीन सय ९७ पुस्तक राखिएका छन् । हिरासतमा रहेकाले स्वेच्छिक चासोअनुसार पुस्तक अध्ययनको अवसर पाउने व्यवस्था गरिएको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा अहिले विभिन्न अपराधको अनुसन्धानका क्रममा ५० थुनुवा छन् । पुुस्तकालय स्थापना र यसको सञ्चालनले थुनुवामा अध्ययन अभिरुचि जगाउन, अध्ययनप्रति लगाव बढाउन, अध्ययनबाट आफ्नो आचरण, व्यवहार र सोचमा सकारात्मक धारणा बनाउन सहयोग पुग्ने प्रहरी नायब महानिरीक्षक भट्टराईको विश्वास छ । पुस्तकालय सञ्चालनले थुनुवाको आनीबानी सुधारमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ । पुस्तकालय सञ्चालनमा आएसँगै यसको सञ्चालनका प्रहरी जनशक्ति व्यवस्थापन गरी अध्ययनकक्षको चाँजो मिलाइएको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । नेपाल प्रहरीको मधेस प्रदेश कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच यसअघि नै सम्पन्न कार्यसम्पादन सम्झौतानुसार ‘हिरासतमा पुस्तकालय’ सञ्चालनमा ल्याइएको मल्लको भनाइ छ । अहिले नवस्थापित ‘हिरासतमा पुस्तकालय’ लाई आन्तरिक कार्यविधि बनाएर थुनुवालाई निश्चित समय र पढ्ने खुला वातावरण मिलाइएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0