<

 

इन्दीप कोइराला,बारा, ६ वैशाख ।

तराई जिल्ला बाराको साँझबिहानको तापक्रम दिनप्रतिदिन बढ्दै क्रममा छ । उम्मेदवार गर्मीको वास्ता नगरी मतदाताका घरदैलोमा पुगिरहेका छन् । केही दिनअघिसम्म काठमाडौंमै रहेका उम्मेदवार यतिबेला मतदाताको घरआँगनमा छन् । अधिकांश चर्चित उम्मेदवार बाहिरी जिल्लका भएकाले समेत उनीहरु एकसरो घरदैलोमै व्यस्त छन् । बाराको चर्को घामको प्रवाहा नगरी उम्मेदवार घरदैलो गरिरहेका छन् ।

 

देशभर उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेका बेला बाराको निर्वाचन क्षेत्र २ मा उम्मेदवारी दिएका पुरानालाई नयाँले मुश्किल पार्ने देखिएको छ । सबै क्षेत्रमा उम्मेदवार चुनावी कार्यक्रम र घरदैलो अभियानमा छन् । चुनावी मैदानमा उत्रेका उम्मेदवारले जित्ने दाबीसमेत गरिरहेका छन् ।

 

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको भए पनि उनीहरूलाई जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्रका रमेश खरेलले चुनौती दिएका छन् । चुनावको मिति नजिकिँदै गर्दा जसपालाई जनमतका उम्मेदवार भारी पर्ने सम्भावना बढ्दो छ । मधेसवादी दलका दुई शिर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा नेकपा एमाले देखिन्छ ।

 

बारामा एमालेका पुरुषोत्तम पौडेल अन्य उम्मेदवारका लागि टाउको दुखाइ बनेको छ । एमालेका पौडेल बलिया उमोदवार समेत हुन । पौडेल बाराकै चिर परिचित अनुहार तथा बाराका पुरानो र जनमुखी नेताका रुपले समेत परिचित भएकाले अन्य उम्मेदवारका लागि टाउको दुखाइ बनेको हो ।

 

पौडेललाई अन्य उम्मेदवारझै चिनाउदै हिन्नु पर्ने बाध्यता नभएकै कारण घरदैलो र टोल सभाको अन्तिम चरणमा पुर्‍याएका छन् । २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलले मतदातासामु विकासका एजेण्डा तथा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर युवालाई देशमै बस्ने वातावरण बनाउने प्रतिबद्धता समेत राखिरहेका छन् । जनताको जनलहरसमेत एमालेका पौडेल प्रतिनै देखिन्छ ।

 

यता जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्रका रमेश खरेललाई भने सबै पालिका र प्रतेकको घरमा गएर मतदातालाई रुझाउन पर्ने बाध्यता छ । जनमत पार्टीका अध्यक्ष सिके राउतसंग पराजित भएका यादवका लागि बारा २ पनि भनेजस्तो सजिलो छैन् । बारामा पनि उनीसामु डा. राउत बाधक बनेर अगाडि आएका छन् । राउतले मंसिरमा सम्पन्न चुनावमा गठबन्धनको उम्मेदवार भइ थोरै मतान्तरले पराजित शिवचन्द्र कुशवाहालाई चुनावी मैदानमा उतारेका छन् ।

 

नेकपा माओवादी केन्द्रका कुशवाहालाई पार्टी प्रवेश गराउँदै डा. राउतले उम्मेदवार मात्रै बनाएनन् आफै चुनावी कमाण्ड सम्हालिरहेका छन् । मनोनयन दर्तापछि बारामै बसिरहेका डा. राउतले सम्हालेको चुनावी कमाण्डलाई उछिन्दै जित सुनिश्चित गर्न यादवलाई सकस देखिन्छ ।

 

त्यसो त जसपा अध्यक्ष यादव चुनावी मैदानमा प्रतिस्पर्धीनै नभेटेको बताइरहेका छन् । मैदानमा प्रतिस्पर्धी नै नदेखेकाले चुनाव जित्नेमा ढुक्क रहेको यादव बताउछन् । बारा २ का जनता आफूलाई जिताउन उत्साहित रहेको यादवको भनाई छ ।

 

तर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने जसपा अध्यक्ष यादवले चुनावी जित्ने कुनै आधार नदेखेको दावी गरिरहेका छन् । उनले सप्तरीबाट पराजित भएका यादवलाई बारा २ का जनताले किन जिताउने भन्दै प्रश्न तेर्स्याउँछन् ? राउतको भनाइ अनुसार बारा २ का जनताले धर्तीपुत्रलाई जिताउनेछन् । अर्थात आफ्नै पार्टीका उम्मेदवार कुशवाहाको जित सुनिश्चित रहेको राउतको दावी छ ।

‘जसले आफ्नै चुनावी क्षेत्रमा केही गर्न सकेन, पराजित भएर अहिले बारा आएको छ’ राउतले भने ‘उसले यहाँ चुनाव जित्ने आधार नै छैन् । धर्तीपुत्रले चुनाव जित्ने निश्चित छ ।’

राउतको भनाईलाई जसपाका यादवले भने फर्जी कुरा भनिरहेका छन् । आफ्नो उम्मेदवारको प्रचार गर्ने भन्दा पनि डा. राउतले आफू नै उम्मेदवार भएजसरी मत मागिरहेको यादवले बताए ।

‘आफ्नो उम्मेदवारको सामाजिक छविका कारण राउतले आफू नै उम्मेदवार भएजसरी मत मागिरहेका छन’ यादवले भने ‘यो सबै जनता झुक्याउने फर्जी कुरा हो । फर्जी काम गर्न राउत बारामा समेत आएका छन् ।’  आफूलाई चुनावमा पराजित गर्छु भन्दै हिडिरहेका राउतलाई यादवले परिचालित व्यक्तिको संज्ञा दिएका छन् । ‘उपेन्द्र यादव हार्छ भन्दै बोली राउतको होइन अरुको हो । मुख उहाँको तर भनाई अरुको हो । राउतले त जागिर खाइरहनुभएको छ ।’

 

चार महिनामै उपनिर्वाचनमा होमिएका यादव यो अवसर खेर फाल्न चाहँदैनन् । चुनाव जित्न उनले सकेको शक्ति प्रयोग गरिरहेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको घरलाई मुकाम बनाएर जसपा अध्यक्ष यादवको चुनावी अभियान अघि बढिरहेको छ । यादवको चुनावी प्रचारमा प्रदेशका मन्त्री अर्थ मन्त्री संजीवकुमार यादव, सामाजिक विकास मन्त्री सुरिताकुमारी साहसहित प्रदेशसभा सदस्य, सत्तारुढ दलका नेता सक्रिय भएर लागेका छन् ।

 

यता जनमत पार्टीका अध्यक्ष राउत आफै मतदाताको घरघरमा पुगिरहेका छन् । उनले चुनावी अभियानलाई स्वाभिमान यात्रा बताईरहेका छन् । बारा २ को विकासमा धर्तीपुत्रको खाँचो रहेको बताउदै राउत घरदैलोमा डुलिरहेका छन् । राउतको उपस्थितिले कुशवाहालाई राहत मिलेको देखिन्छ ।

यता मधेसवादी दलका दुई शिर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा नेकपा एमाले देखिन्छ । एमालेले पोलिव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई चुनावी मैदानमा छन् । बाराको भूमिमा राजनीतिक जीवन बिताएका पौडेल पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।

‘जनताको साथ एमालेले प्राप्त गरिरहेको छ । काम गर्ने पार्टी कुन हो भनेर जनताले बुझेका छन्,’ उम्मेदवार पौडेलले भने, ‘त्यसैले पनि एमालेको जित सुनिश्चित देखेको छु ।’

एमालेको चुनावी अभियानमा शिर्ष तहका नेता समेत सहभागी भरहेका छन् । त्यसबाहेक बारा १ बाट निर्वाचित पोलिटव्युरो सदस्य अच्युत मैनाली र बारा ३ बाट निर्वाचित पोलिटव्युरो सदस्य ज्वालकुमारी साह पौडेलको प्रचारमा सक्रिय देखिएका छन् । दुई निर्वाचन क्षेत्रमा निर्वाचित मैनाली र साहको उपस्थितीले पौडेलको चुनावी अभियानलाई बलियो बनाउदै लगेको छ । त्यसबाहेक मधेसबादी दुई दलबीचको लडाईको फाइदा लिने दाउमा एमाले देखिन्छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली पनि चुनावी मैदानमा सक्रियताका साथ लागेका छन् । काठमाण्डौमा पराजित भएका खरेल मधेसको भूमिबाट चुनाव जित्नेमा ढुक्क देखिन्छन् । उनको चुनावी अभियानमा साथ दिन पार्टी सभापति रवि लामिछाने एकपटक बारा आईसकेका छन् भने अन्य नेतृत्व सक्रियताका साथ लागिरहेका छन् ।

 

यता प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार ज्ञवाली चुनावको नतिजा आफ्नो पक्षमा आउने दावी गरिरहेका छन् । मंसिरमा सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई करिब आठ हजार मत प्राप्त गरेका ज्ञवाली यसपटक आम जनता पार्टीबाट उम्मेदवार बनेका हुन् । उनको चुनावी अभियानमा अध्यक्ष साह आफै सक्रिय भएका लागेका छन् ।

 

राजनीतिक दलका उम्मेदवार सबैले चुनाव आफूले जित्ने दावी गरिरहेपनि आममतदाता भने अन्यौलमा देखिन्छन् । विकासको नारा बोकेर घरदैलोमा पुगिरहेका उम्मेदवारलाई धुलाम्य सडक र फुसको घरबाट मतदाताले नियालिरहेका हुन्छन् । चुनावमा नारा बोकेर आएपनि विकासका काम भने नगरेको मतदाताको गुनासो छ ।

 

बारा क्षेत्र नं. २ मा करिब एक लाख पाँच हजार मतदाता छन् । यस निर्वाचन क्षेत्रमा पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई, देवताल, सुवर्ण गाँउपालिका र कोल्हबी नगरपालिकाको वडा नं. ८ को भुभाग पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0