काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र राष्ट्रिय योजना आयोगबीच विश्वभर रहेका तीन लाखभन्दा बढी नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक तथा उद्यमीको ज्ञान, सीप र अनुभवलाई नेपालको राष्ट्रिय विकाससँग जोड्ने विषयमा विस्तृत छलफल भएको छ ।
एनआरएनएको प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा छलफल गरेको हो ।
भेटका क्रममा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले सन् २०१८ देखि सञ्चालन हुँदै आएको ‘विकासका लागि सञ्जाल’ अवधारणालाई यसपटक समाधानमुखी ढाँचामा रूपान्तरण गरिएको जानकारी दिए । उनले विगतका तीनवटा विश्व नेपाली ज्ञान सम्मेलनबाट प्राप्त निष्कर्ष र सिफारिसलाई राष्ट्रिय योजना आयोगका योजना तथा नीतिसँग एकीकृत गरी कार्यान्वयनमुखी कार्यक्रमका रूपमा अघि बढाइने बताए ।
उनका अनुसार चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ मा राष्ट्रिय योजना आयोगका प्राथमिकतासँग मेल खाने छवटा विषयगत क्षेत्रमा केन्द्रित छलफल हुनेछ। सम्मेलनमार्फत विश्वभर रहेका तीन लाखभन्दा बढी नेपाली विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक, प्राविधिक, उद्यमी तथा विभिन्न पेशागत क्षेत्रमा कार्यरत विशेषज्ञलाई नेपालका नीतिनिर्माता, सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रसँग एउटै मञ्चमा जोड्ने लक्ष्य राखिएको छ ।
एनआरएनएका उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख रोजिना प्रधान राईले दोस्रो पुस्ताका नेपाली मूलका दक्ष युवालाई पनि नेपालको विकाससँग जोड्न आवश्यक रहेको बताइन्। उनले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, गैरआवासीय नेपाली ऐन संशोधन तथा गैरआवासीय नेपाली विकास कोषलाई शीघ्र कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइन् ।
एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले गैरआवासीय नेपाली विकास कोष सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै विश्वभर रहेका नेपाली लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले कोष सञ्चालन गरिने बताए। उनले आवश्यक कानुनी संशोधनमध्ये एउटा प्रक्रिया मात्र बाँकी रहेको जानकारी पनि दिए ।
एनआरएनएका उपमहासचिव कृष्ण पोखरेलले गैरआवासीय नेपाली लगानीकर्ताले लगानीबाट प्राप्त प्रतिफल स्वदेश फिर्ता लैजाने प्रक्रियामा रहेका कानुनी तथा व्यावहारिक कठिनाइबारे आयोगको ध्यानाकर्षण गराउँदै लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार आवश्यक रहेको बताए ।
जवाफमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आयोग एनआरएनएसँग सहकार्य गर्न सधैँ सकारात्मक रहेको बताए। उनले सुशासन सुधार, संस्थागत सुदृढीकरण, कानुनी तथा नीतिगत सुधार, अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास नेपालमा भित्र्याउने, गैरवित्तीय क्षेत्रको डिजिटलीकरण, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, सुरुङमार्ग, यातायात तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा प्रवासी नेपाली विज्ञहरूको ज्ञान र अनुभव उपयोगी हुने धारणा व्यक्त गरे ।
उनले चौथो विश्व नेपाली ज्ञान सम्मेलन सफल बनाउन राष्ट्रिय योजना आयोगबाट आवश्यक सहयोग रहने प्रतिबद्धता पनि जनाए । भेटका क्रममा एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले युरोप तथा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसपटक दुवै सम्मेलनमा नेपालमा लगानी प्रवर्द्धन, गैरआवासीय नेपालीको लगानी आकर्षण र लगानीका अवसरबारे विशेष छलफल हुने बताए। साथै, क्षेत्रीय सम्मेलनबाट प्राप्त सुझावलाई राष्ट्रिय विकास र लगानी प्रवर्द्धनसँग जोड्ने गरी अघि बढाइने जानकारी दिइयो ।एभरेष्ट न्यूज एजेन्सी







