गोरखा : खोल्साको छेउमा रहेको सानो बस्ती, झुत्रा त्रिपालले ढाकिएका जीर्ण टहरा र अस्तव्यस्त जीवन। होचो र साँघुरो टहराभित्र धुवाँले कालाम्य भएका भित्ताहरू, छानो र त्यही धुवाँबीच छरिएका सामानहरू। जस्ताको पाताले बारेर दुई भाग लगाइएको सानो टहरोमा न झ्याल छ, न त राम्रो ढोका—एक खापा भएको जस्ताको ढोका पनि जीर्ण अवस्थामा छ।
प्रहरी चौकी नजिकै भएर होला, चोरी, लुटपाट लगायत विभिन्न अपराधिक क्रियाकलाप हुँदैनन् र त्यसको डर पनि छैन यी बस्तीका मानिसहरूलाई तर एउटा मात्र डर छ कि कति बेला हावाहुरी चल्छ, पानी पर्छ अनि जस्ता र त्रिपाल उदाउँछ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको दिन सम्झिँदै ५७ वर्षीय माइती माया सुनार ‘भूकम्पअघि हामी डाँडागाउँको गैरीगाउँमा बस्थ्यौँ। ढुङ्गा–माटोको घर थियो,’ उनी भन्छिन्, ‘एक्कासी भूकम्प आयो र घर भत्कियो। घर, घडेरी सबै पहिरोको जोखिममा परेपछि हामी यहाँ आएँ, त्यसयता त्रिपालमुनि बस्नुपरेको छ।’
यहाँ त खेती गर्नका लागि न खेतबारी छ नत ढुक्कसँग बस्नका लागि घर नै छ, कतिबेला हावाहुरी, पानी पर्ने थाहा छैन। अहिले यस बस्तीमा २४ घरपरिवारका लागि महिला र पुरुष गरी जम्मा २ वटा मात्र शौचालय छन, जुन व्यवस्थित भने छैन।थाहा खबर







