आरके श्रीवास्तव,राैतहट,भदौ १८ गते ।
श्री आधारभुत बिद्यालय लक्ष्मिनिया, बिजयपुर-९, रौतहटको ६४ औं वार्षिकोत्सव तथा स्थापना दिवस सफलता साथ सम्पन्न भएको छ । पहिलो पटक स्थानीय सरकारी विद्यालयले यति भव्य कार्यक्रम आयोजना गरेपछि यसलाई फतुवा बिजयपुर नगरपालिकाको शिक्षाक्षेत्रमा ऐतिहासिक सुरुवातको रूपमा लिइएको छ ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुन रहनुभएको थियो ।

उहाँले कार्यक्रममा बोल्दै भनिन् -“आजको दिन हामी सबैका लागि गौरवको विषय हो । सरकारी विद्यालयले यति व्यवस्थित र समावेशी कार्यक्रम गर्न सक्नु भनेको स्थानीय नेतृत्व, शिक्षकहरूको मेहनत र समुदायको विश्वासको प्रतिफल हो। नगरपालिकाले आगामी दिनमा पनि यस्ता शैक्षिक प्रयासहरूलाई पूर्ण साथ र सहयोग दिनेछ।”
कार्यक्रममा वडा नं. ९ का अध्यक्ष राकेश यादव (पप्पु) ले विद्यालयप्रति आफ्नो प्रतिबद्धता जनाउँदै भन्नुभयो —”म सधैं विद्यालयको विकासमा साथ दिँदै आएको छु र आगामी दिनमा कक्षा १० सम्म विस्तार गर्नका लागि आवश्यक पहल गरिनेछ । लक्ष्मिनिया बस्तीको समग्र विकासका लागि शिक्षा मेरै पहिलो प्राथमिकता हो।”

उक्त अवसरमा वडा नं. ८ का अध्यक्ष नितेश चौधरी, प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव, कार्यपालिका सदस्य उमाशंकर जयसवाल, पप्पु चौधरी लगायत नगरपालिकाका विभिन्न जनप्रतिनिधिहरू, समाजसेवी, अभिभावक, शिक्षक, महिला समूह तथा युवा समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।
विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तथा शिक्षा क्षेत्रमा योगदान पुर्याइरहनु भएका अग्रजहरूको समेत उपस्थिति कार्यक्रमलाई अझ गौरवमय बनाएको थियो । विद्यार्थीहरूद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम, अभिभावकहरूको सहभागिता, र सम्मान कार्यक्रममा वातावरण अत्यन्त उत्साहपूर्ण बनेको थियो ।
विद्यालयले लामो समयदेखि उत्कृष्ट योगदान दिने विद्यार्थी, अभिभावक तथा स्थानीय सहयोगीहरूलाई सम्मानपत्र र प्रमाणपत्र प्रदान गरी कदर व्यक्त गरेको थियो ।
विद्यालयका प्रधानाध्यापक जयकिशाेर प्रसाद साहले आफ्नो मन्तव्यमा २०६१ सालदेखि निरन्तर सेवा गर्दै आएको स्मरण गर्दै भने — “शुरुआती अवस्थामा कक्षा ५ सम्म मात्र सीमित रहेको यो विद्यालय अहिले कक्षा ८ सम्म विस्तार भएको छ, जुन सामूहिक प्रयास, समर्पण र समुदायको साथको परिणाम हो । यस सफल यात्रामा साथ दिने सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु।”
कार्यक्रममा अतिथिहरूले विद्यालयको प्रगति, शैक्षिक गुणस्तर र भविष्यको योजनाका विषयमा प्रेरणादायी विचार राख्दै विद्यालय परिवारको प्रशंसा गरेका थिए।
श्री आधारभुत बिद्यालय लक्ष्मिनिया परिवारले सम्पूर्ण सहभागी, अभिभावक, विद्यार्थी, अतिथि तथा स्थानीय समुदायलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।








