आरके श्रीवास्तव,राैतहट,०४ गते भदौ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले आफूले नगरमा विकास, समृद्धि र सुशासनको अभियान तीव्र रूपमा अघि बढाएपछि विकासविरोधी तत्वहरू आत्तिन थालेको बताएकी छन्।
आज पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले विकासको गति तीव्र बनाएसँगै भ्रष्टाचारका विरुद्ध कडा कदम चालेको र यही कारण केही व्यक्तिहरू आफू र नगरपालिकाविरुद्ध भ्रामक र अनर्गल प्रचारमा लागेका आरोप लगाइन्। “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको छु, त्यसैले लुटतन्त्रमा पलाएका केही तत्वहरू अहिले आत्तिएका छन्,” खातुनले भनिन्।
खातुनले नगरवासीको हितलाई प्राथमिकतामा राख्दै सुशासन र पारदर्शिता कायम गर्न थालेपछि विगतमा नगरपालिकालाई आफ्ना स्वार्थका लागि दुरुपयोग गर्दै आएका व्यक्तिहरू असहज भएका र तिनैले अब भ्रमपूर्ण प्रचारमार्फत जनतालाई दिग्भ्रमित गर्न खोजिरहेको स्पष्ट पारिन्।
“जनताको विश्वास जित्दै विकासका काम अघि बढाइरहेको छु,” उनले भनिन्, “तर विकास र सुशासन नचाहने शक्तिहरूले मलाई बदनाम गर्ने अभियान थालेका छन्।” यस्ता हल्लाहरूमा विश्वास नगर्न उनले आम जनसमुदायलाई आग्रह गरिन्।
नगरप्रमुखको रूपमा उनले लिएको नेतृत्वपछि नगरमा उल्लेखनीय विकास भएको दाबी गर्दै खातुनले सडक कालोपत्रे, विभिन्न ठाउँमा नाला, ढलान र पूर्वाधार निर्माण सम्पन्न भएको जानकारी दिइन्। साथै, विद्यालय, मठ–मन्दिरको भवन निर्माण, कृषि सडक निर्माण लगायतका कामहरू सम्पन्न भएको उल्लेख गरिन्।
कृषि क्षेत्रमा स्यालो ट्युबवेल, विद्युतीकरण, मलखादको सहज उपलब्धता र सिंचाइको व्यवस्थाले किसानहरू लाभान्वित भएको खातुनको भनाइ छ।
उनले कानुनको दायराभित्र रहेर कुनै दबाब नमानिकन जनताको सेवा चुस्त रूपमा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिइएको जानकारी पनि दिइन्।
निलम्बित नगर प्रमुख गोपाल प्रसाद यादव भ्रष्टाचार मुद्दामा दोषी ठहरिएपछि कार्यवाहक जिम्मेवारी सम्हालेकी खातुनले आफ्नो कार्यकालमा नगरमा ठोस र जनमुखी विकास भएको दाबी गर्दै नगरको समृद्धिको यात्रामा सबै पक्षलाई साथ दिन आग्रह गरिन्।
“मेरो उद्देश्य स्पष्ट छ – फतुवा विजयपुरलाई समृद्ध बनाउने। जनताको साथ र विश्वास नै मेरो प्रेरणा हो,” कार्यवाहक नगर प्रमुख खातुनले जोड दिइन्।








