बज्जिकाञ्चल संवाददाता,रौतहट,असोज १० गते ।
नवसर्जक साहित्य चौतारी नेपाल, मधेश प्रदेशकाे आयोजनामा बज्जिका भाषाकाे विकास, रोजगारीकाे सम्भावना, तथा संस्कृतिकाे संरक्षण सम्बन्धी एक विशेष कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा चर्चित साहित्यकार संञ्जय मित्रले बज्जिका भाषाकाे ऐतिहासिक पृष्ठभूमि, यसको समृद्ध साहित्यिक धरोहर र भविष्यका सम्भावनाहरूकाे बारेमा महत्वपूर्ण धारणा राख्नुभयो ।
कार्यक्रममा उहाँले बज्जिका भाषाकाे विकासबारे विस्तृत रूपमा चर्चा गर्नु भएकाे थियो । कार्यक्रममा बज्जिका भाषाबाट रोजगारका सम्भावनाहरू पनि उल्लेख गर्दै उहाँले रेडियाे, टेलिभिजन, अनुवाद, साहित्य लेखन, शैक्षिक सामग्री निर्माणजस्ता क्षेत्रहरूमा काम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बज्जिका भाषामा लेखिएका पाठ्यपुस्तकहरू हरेक विद्यालयमा अनिवार्य रूपमा लागू गरिनुपर्ने माग पनि अघि सारिएको छ ।
कार्यक्रमका अध्यक्ष नवसर्जक साहित्य चौतारी नेपाल मधेश प्रदेशका अध्यक्ष अभिजीत रामले बज्जिका भाषा र साहित्यकाे प्रचारप्रसारका लागि संस्थाले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रम सञ्चालन जगत जयसवालले गर्नुभएको थियो । कार्यक्रममा गरुडा नगरपालिकाका युवा नेता तथा नगर प्रमुख प्रत्यासी दीपक यादवले समेत सहभागिता जनाउनुभएको थियो । उहाँले बज्जिका भाषाबारे प्रश्न–उत्तर सत्रमा सक्रिय सहभागिता जनाउँदै भाषाकाे संरक्षणका लागि स्थानीय सरकारले ठाेस नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
संवाद कार्यक्रममा रौतहटका विभिन्न क्षेत्रका साहित्यकार, शिक्षक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीसहित करिब ४० जना सहभागी भएका थिए । कार्यक्रममा विभिन्न बज्जिका भाषाका क्षेत्रीय पक्षहरू, चुनौती र सम्भावनाहरूकाे बारेमा गहिरो छलफल भएको आयोजकले जनाएको छ ।








