बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक ३० गते ।
राैतहट । करार सेवामा कार्यरत कर्मचारीहरूको म्याद थपमा ढिलाइ भएको विरोधस्वरूप रौतहटको फतुवा विजयपुर नगरपालिकामा सुरु भएको तालाबन्दी र आन्दोलन पाँचौँ दिनमा पुगेको छ । संघर्ष समितिको नेतृत्वमा कर्मचारीहरूले वडा कार्यालयदेखि नगर कार्यपालिकासम्म तालाबन्दी गर्दै अनिश्चितकालीन आन्दोलन जारी राखेका हुन् ।
संघर्ष समितिका अनुसार, लामो समयदेखि नगरपालिकामा सेवा दिइरहेका करार कर्मचारीहरूको सेवा अवधि समयमै नथपिएकाले बाध्य भएर सडकमा उत्रिनुपरेको हो । उनीहरूले “म्याद थप्नुपर्छ”, “करार कर्मचारीको हक–अधिकार सुनिश्चित गर” जस्ता नारासहित शान्तिपूर्ण धर्ना चलाइरहेका छन् । आन्दोलनले नगरपालिकाको नियमित प्रशासनिक सेवा ठप्प भएको छ भने स्थानीय सेवाग्राहीले गम्भीर समस्या भोगिरहेका छन् ।

यता, कार्यवाहक नगर प्रमुख अमबेया खातुनले आफूले पहिले नै म्याद थपसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताउँदा पनि समस्या समाधानमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिएकी छन् ।
उता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवलाई आर्थिक कारोबारमा रोक लगाएको स्रोतले जनाएको छ । कार्यालय प्रमुखको जिम्मेवारी नै तोकिएको नहुँदा आवश्यक निर्णय प्रक्रियामा बाधा पुगिरहेको र समस्याको समाधान कहिल्यै हुने–नहुने अनिश्चितता उत्पन्न भएको कर्मचारीहरूको आरोप छ ।
तालाबन्दीका कारण वडा कार्यालय र नगर कार्यपालिकाका सबै प्रकारका सेवा प्रभावित बनेका छन् । दैनिक कामका लागि कार्यालय धाउने स्थानीयहरूले गुनासो गर्दै आन्दोलन चाँडो समाधान गर्न दुवै पक्षलाई आग्रह गरेका छन् ।
स्थितिको समाधानका लागि नगरपालिकाले छिटो सहमतिको वातावरण बनाउन पहल गर्ने अपेक्षा गरिन्छ । आईतवार फतुवा बिजयपुर वडा नम्बर २ वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव(संजय) र वडा नम्बर ७ का वडा अध्यक्ष रामविश्वसा यादवले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।








