काठमाडौं, २३ भदौ – भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गरेको विरोधमा सोमबार जेनजी पुस्ता (जेनेरेसन जेड) का नाममा काठमाडौंलगायत प्रमुख शहरहरूमा भएको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको छ । भीडमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा १९ जनाको ज्यान गएको छ ।
विभिन्न अस्पतालमा भर्ना गरिएका घाइतेमध्ये एक दर्जनभन्दा बढीको अवस्था गम्भीर छ । काठमाडौंमा १७ र सुनसरीमा २ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदर्शनकारी र प्रहरीसहित ४२२ जना घाइते भएका छन् । मृत्यु र घाइते हुनेमा अधिकांश ३० वर्ष मुनि उमेरका छन् ।
देशमा संघीय गणतन्त्र घोषित भएपछि सरकारविरुद्धको प्रदर्शनको क्रममा यति धेरै संख्यामा हताहती भएको यो पहिलो घटना हो । काठमाडौंको नयाँ बानेश्वरमा भएको झडपका घाइतेहरूको सिभिल अस्पताल बानेश्वर, ट्रमा सेन्टर, टिचिङ, केएमसीलगायतका अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न अस्पतालबाट संकलित तथ्यांकअनुसार सिभिल सेवा अस्पतालमा १७० जना घाइते उपचारत छन्, तीनजनाको मृत्यु भएको छ । एभरेस्ट अस्पतालमा १०२ जना घाइते उपचारत छन् भने तीन जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा आठजनाको मृत्यु भएको छ भने ५९ जना घाइते उपचाररत छन् ।
केएमसीमा उपचाररत ३१ घाइतेमध्ये सात जना डिस्चार्ज भएका छन् भने दुईको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा १८ जना उपचाररत छन् भने एक जनाको मृत्यु भएको छ । धरानको बिपी प्रतिष्ठानमा लगिएका चार घाइतेमध्ये दुईजनाको मृत्यु भएको छ । ४२२ घाइतेमध्ये १० जनालाई डिस्चार्ज गरिएको मन्त्रालयको तथ्यांकमा छ ।
जेनजीको प्रदर्शनमा सरकारको दमनले २०६२-६३ को १९ दिने जनआन्दोलनलाई पनि छायामा पारेको छ । जनआन्दोलन–२ मा २५ जनाले ज्यान गुमाएका थिए । सोमबार काठमाडौंसहित पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका देशका विभिन्न शहरहरूमा विरोध प्रदर्शन भएका छन् ।
देशभरका प्रदर्शनमा प्रहरीले सक्दो दमन गरेको छ भने प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमाथि तोडफोड, आगजनी गरेका छन् । भीडलाई ताकेर प्रहरीले गोली चलाएपछि आक्रोसित प्रदर्शनकारीले एम्बुलेन्स, गाडी, मोटरसाइकलमा पनि आगो लगाएका छन् ।
प्रदर्शनमा झडप भएलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले हतार–हतार नयाँ बानेश्वर, शितल निवास, सिंहदरबार परिसरलगायतमा कर्फ्यु आदेश जारी गरेको थियो ।
कर्फ्यु आदेशलाई बेवास्ता गर्दै प्रदर्शनकारीले सोमबार बेलुकी पनि प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलाहुँदै संघीय संसद् भवन प्रवेश गर्न खोजेका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस, गोली प्रहार गरेको थियो । सरकारले युवाहरूलाई मारेको भन्दै गठबन्धनमध्येको कांग्रेसले सरकार छाड्नुपर्ने मागसमेत उठेको छ ।
जेनजी भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मेकाहरूको पुस्ता वर्गीकरण हो । यसभित्र २८ वर्ष उमेर समूहका युवा पर्छन् । युवाले गर्ने भनिएको विरोध प्रदर्शनमा कोही पनि नेतृत्वकर्ता घोषणा गरिएको थिएन । प्रदर्शनमा दुर्गा प्रसाईं समूह, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतको घुसपैठ भएका कारण स्थिति हिंसात्मक भएको सुरक्षा निकायले सरकारलाई ब्रिफिङ गरेको छ ।
काठमाडौंमा सोमबार ११ बजेदेखि माइतीघर मण्डलामा गर्ने भनिएको प्रदर्शन एक्कासि नयाँ बानेश्वर पुगेपछि उग्र बनेको थियो । तोकिएको समयभन्दा अगावै बिहान ९ बजेदेखि नै माइतीघरमा प्रदर्शनकारीको उपस्थिति देखिएको थियो । प्रदर्शनमा भ्रष्टाचारविरोधी, प्रधानमन्त्रीविरोधी, सामाजिक सञ्जाल बन्दबारे प्लेकार्ड बोकेर विद्यालय–कलेज पोसाकमै विद्यार्थी सहभागी थिए ।
आन्दोलनकारीको भीड अनियन्त्रित हुँदै सरकारले निषेधित क्षेत्र घोषणा गरेको संघीय संसद् भवन वरपर पुगेको थियो । त्यहाँ पुगेपछि संसद् भवनभित्र छिर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।
सरकारले फेसबुक, युट्युब, म्यासेन्जरलगायतका २६ वटा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयसँगै देखिएको असन्तुष्टि आन्दोलनमा परिणत भएको हो । जेनरेसन जीका नाममा लामो समयदेखि सामाजिक सञ्जाल टिकटकमा आन्दोलन गर्ने भन्दै युवाहरू निकै उग्र बनिरहेका थिए ।
नेताका छोराछोरीको विलासीपूर्ण जीवनको विषयमा टिप्पणी गर्दै उनीहरूको भिडियो पनि भाइरल बनाइरहेका थिए । देशमा उठाइने करबाट नेताका परिवार, छोराछोरी मस्ती गर्ने र देशमा भ्रष्टाचार गरेको भन्दै आन्दोलित बनेका थिए ।
समाचार तयार पार्दासम्म काठमाडौंको ट्रमा सेन्टरले जारी गरेको सूचीअनुसार ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षका श्रीराम चौलागाई, २१ वर्षका सुलभराज श्रेष्ठ, ४२ वर्षमा बुद्धिबहादुर तामाङ, २८ वर्षका गौरव जोशी, २५ वर्षका सौरभ कटुवाल, २६ वर्षीय ईश्वतबहादुर अधिकारी छन् । दुई जनाको अझै सनाखत हुन सकेको छैन । न्यूज २४ दैनिकमा याे खबर छापिएको छ ।








