आरके श्रीवास्तव,रौतहट,भदौ १७ गते ।
राैतहटका गरूडा नगरपालिकामा आयोजना हुने मेयर कप क्रिकेट टुर्नामेन्टका लागि खेल सामग्री (क्रिकेट कीट) वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । यूथ क्लब अफ रौतहटको आयोजनामा सम्पन्न कार्यक्रममा क्लबका उपाध्यक्ष बलराम ठाकुरको अध्यक्षतामा कार्यक्रम संचालन भयो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कन्थमनी जयसवालले खेलकुदले युवाहरूमाझ एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धा ल्याउने बताउँदै भने, “खेलकुदले समाजलाई जोड्ने माध्यम हो । नगरपालिकाले सधैँ खेलकुद गतिविधिमा साथ दिँदै आएको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तर समर्थन गर्नेछ।”

त्यसैगरी, वडा नं. ५ का वडा अध्यक्ष रामबिनोद जयसवालले यूथ क्लब र खेलाडीहरूलाई धन्यवाद दिंदै भने, “यस प्रकारका प्रतियोगिताले स्थानीय युवाहरूमा प्रतिभा उजागर गर्न मद्दत पुर्याउँछ । हामी सबैले मिलेर यस्ता सकारात्मक गतिविधिलाई अझ सशक्त बनाउनु पर्छ।”
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष रामबाबु जयसवाल, वडा नं. ७ का अध्यक्ष प्रविण यादव, कार्यपालिका सदस्यहरू, खेलाडीहरू लगायतको उपस्थिति रहेको थियो ।

यूथ क्लब अफ रौतहटका अनुसार मेयर कप क्रिकेट प्रतियोगिता विगत ४ वर्षदेखि सञ्चालन हुँदै आएको हो । यस वर्ष प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख २५ हजार र प्रमाणपत्र, द्वितीय टिमलाई रु. ६५ हजार र प्रमाणपत्र प्रदान गरिने यूवा समाजसेवी शैलेस जयसवालले जानकारी गराएका हुन् ।
त्यसैगरी, म्यान अफ द म्याचलाई रु. १५ हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई जनही रु. १० हजार र प्रमाणपत्र प्रदान गरिनेछ ।
कार्यक्रमको सञ्चालन राजेश्वर पाण्डेले गरेका थिए ।








