आरके श्रीवास्तव,राैतहट,१० गते माघ ।
कटहरिया । आज भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रौतहटको आयोजनामा कटहरिया नगरपालिका–८ अन्तर्गत पिप्रा पोखरियामा निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा पशु चिकित्सक, प्राविधिक टोली तथा स्थानीय जनप्रतिनिधिहरूले सक्रिय र सहयोगी भूमिका निर्वाह गरेका थिए । शिविरमार्फत पशुपालक किसानहरूलाई खोरेत तथा पि.पि.आर. रोग विरुद्धको खोप सेवा, गोबर परीक्षण, रोग निदान तथा उपचार र दूध परीक्षणजस्ता सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराइएको थियो ।

यो पशु स्वास्थ्य शिविर कटहरिया नगरपालिकाका वडा नम्बर ३, ८ र ९ गरी तीन वटा वडाका विभिन्न स्थानहरूमा आयोजना गरिएको थियो । सो अवसरमा वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव र वडा नम्बर ९ का वडा अध्यक्ष रूपेश यादवले पनि शिविर सफल बनाउन सहयोग पुर्याएका थिए ।

कार्यक्रमका क्रममा वडा नम्बर ८ का वडा अध्यक्ष समिश विक्रम शाहले पशुपालक किसानहरूको आयआर्जन र जीविकोपार्जनमा पशु स्वास्थ्य सेवाको ठूलो महत्व रहेको बताउँदै यस्ता निःशुल्क शिविरहरूले किसानलाई प्रत्यक्ष लाभ पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि पशु सेवा सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिन वडा कार्यालय सधैं सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
स्थानीय किसानहरूले शिविरबाट समयमै उपचार र परामर्श पाउन पाएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका छन् ।








