बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १३ गते ।
राैतहटकाे कटहरिया नगरपालिकामा आज एक विशेष कार्यक्रमका बीच स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रको स्थापना गरिएको छ । नगर प्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव एमेन्द्र उपाध्याय र विशिष्ट अतिथि गृह, सञ्चार तथा कानुन मन्त्रालयका बिमल प्रसाद बरालको संयुक्त उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर उपप्रमुख रिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर लहेरा तथा गृह तथा कानुन मन्त्रालयका सचिवको पनि विशेष सहभागिता रहेको थियो । उनीहरूले संयुक्त रूपमा आपतकालिन कार्यसञ्चालन केन्द्रको कार्यालयको उद्घाटन गरेका छन् ।
यस उद्घाटन समारोहमा नगरपालिकाका सदस्यहरू, वडा अध्यक्षहरू, कर्मचारीहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा आपतकालीन व्यवस्थापनको सुदृढीकरण तथा स्थानीय तहको तयारी क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यका साथ केन्द्रको आवश्यकता र औचित्यबारे प्रकाश पारिएकाे थियोे ।
यसै क्रममा, केन्द्रको प्रमुख पदका लागि कौशल किशोर चौधरीलाई थप जिम्मेवारी दिइएको छ । चौधरी अब आपतकालीन अवस्थाहरूमा समन्वय, व्यवस्थापन र सूचनाको प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
कटहरिया नगरपालिकाले यस केन्द्रमार्फत बाढी, डुबान, आगलागी, भूकम्प लगायतका प्राकृतिक तथा मानवजन्य विपद्हरूको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।








