आरके श्रीवास्तव,राैतहट,कार्तिक १९ गते ।
रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले तलब–भत्ताको बक्यौता भुक्तानीको माग गर्दै सुरु गरेको तालाबन्दी बुधबार आठौं दिनमा पुगेको छ ।
तलबभत्ता नपाएपछि असन्तुष्ट कर्मचारीहरूले वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालयहरू तथा नगरपालिकाको मुख्य कार्यालयमा तालाबन्दी गर्दै कार्यालय परिसरमै धर्ना दिएका छन् ।
लगातारको तालाबन्दीका कारण नगरपालिकाका जनसाधारणका धेरै महत्वपूर्ण कामहरू ठप्प भएका छन् । नागरिकता, सिफारिस,राजस्व संकलनलगायतका सेवा रोकिँदा स्थानीय बासिन्दा निकै मर्कामा परेका छन् ।
कर्मचारीहरूले आफूहरूले लामो समयदेखि काम गर्दा पनि तलब र भत्ता नपाएको गुनासो गर्दै बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गरेका छन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
नगरपालिकाले भने समस्या समाधानका लागि पहल भइरहेको जनाउँदै छिट्टै समझदारीमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
स्थानीयहरूले भने तालाबन्दीका कारण दैनिक सेवा प्रभावित हुँदा समस्या चाँडो समाधान होस् भन्ने आग्रह गरेका छन् ।








