काठमाडौं, भदौ ११ – गत आर्थिक वर्षको उखु अनुदान भुक्तानीको माग गर्दै काठमाडौंमा जारी उखु किसानको आन्दोलनप्रति लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले ऐक्यबद्धता जनाएको छ ।
उखु अनुदानको विषयमा आन्दोलित किसानहरूलाई समर्थन जनाउँदै लोसपा मधेश प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री माननीय जितेन्द्र सोनल स्वयं माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागी भएका छन् ।

सोनलसँगै पार्टीका उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा. सुरेन्द्र कुमार झा, तथा लोकतान्त्रिक विद्यार्थी संघका महासचिव समर साह पनि प्रदर्शनमा सहभागी थिए । नेताहरूले सरकारको उदासीनताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै किसानको जायज माग तुरुन्त सम्बोधन गर्न माग गरेका छन् ।
उखु कृषक लगायतले उखुको प्रति क्विन्टल ७० रुपैयाँ दरले बाँकी रहेको अनुदान रकम भुक्तानी गर्नुपर्ने माग गर्दै आन्दोलनरत छन् । उनीहरूले “एकतर्फी मूल्य स्वीकार छैन”, “उखु कृषक शोषण बन्द गर”, “अनुदान तुरुन्त भुक्तानी गर”, “मूल्य निर्धारणमा कृषकको सहभागिता सुनिश्चित गर” जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।

उखु उत्पादक संघका राैतहटका अध्यक्ष अशोक यादवले पनि सरकारले पटकपटक आश्वासन दिए पनि कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले अनुदान रकम तत्काल भुक्तानी नगरे आन्दोलन अझ व्यापक बनाउने चेतावनी दिएका छन् ।
यद्यपि किसानकाे मागप्रति विभिन्न दलका नेताहरूको ऐक्यबद्धता देखिए पनि, सरकार भने अझैसम्म पनि गम्भीर रुपमा प्रस्तुत भएको देखिँदैन् । किसानहरू यथाशक्य चाँडो समाधान नआए थप कडा आन्दोलनमा जान सक्ने चेतावनी दिँदै आएका छन् ।








