काठमाण्डौं, भदौ १२ — लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को शीर्ष तहको विस्तारित बैठक भदौ ८ र ९ गते काठमाण्डौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । बैठकले पार्टीको महत्त्वपूर्ण निर्णयहरू गर्दै तराई-मधेश क्षेत्रका वर्तमान समस्याहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी २०८२ सालको चैत्र ६ र ७ गते गर्ने निर्णय गरेको छ । यसअघि महाधिवेशन श्रावण मसान्तमा गर्ने तयारी थियो ।
तराई-मधेशमा खडेरीको कारण किसानहरू गम्भीर रूपमा प्रभावित भएको भन्दै लोसपाले संघीय तथा प्रादेशिक सरकारसँग क्षतिपूर्तिको प्याकेज घोषणा गर्न माग गरेको छ । साथै, सुख्खाग्रस्त मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानीको चरम अभाव भएको उल्लेख गर्दै चापाकल, इनार तथा पोखरीहरू सुकेको अवस्थाले जनजीवन कष्टकर बनेको जनाइएको छ ।
बैठकले भनेको छ, “तीन तहकै सरकारहरूले तुरुन्तै खानेपानी व्यवस्थापनमा गम्भीरता देखाउनुपर्छ।”
लोसपाले चुरे क्षेत्रको संरक्षणलाई दीर्घकालीन समाधानको उपायको रूपमा जोड दिएको छ, र स्थानीय वासिन्दाको सहभागिता सुनिश्चित गर्दै कार्ययोजना ल्याउन माग गरेको छ । पार्टीका अनुसार, पानीको सतह घट्दै जाँदा तराई-मधेश मरुभूमी बन्ने खतरा बढ्दो छ।
त्यसैगरी, तराई-मधेशमा बढ्दो आपराधिक गतिविधिहरू—जसमा लुटपाट, चोरी-डकैती र हत्या–प्रति गम्भीर ध्यानाकर्षण गर्दै लोसपाले संघीय सरकारसँग कानूनी राज्यको प्रत्याभूति र नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाको सुनिश्चितता गर्न जोडदार माग राखेको छ ।
पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त बैठकले यी सबै विषयमा सरकारलाई तुरुन्तै कदम चाल्न आह्वान गरेको छ ।
काठमाडौं, भदौ १२ – लोकतान्त्रिक समाजवादी पार्टी (लोेसपा) नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आज संघिय लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ । बैठक लोेसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठक पश्चात् पत्रकारहरूसँग कुरा गर्दै लोेसपा नेपालका सह-अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले मोर्चाको विभिन्न निर्णयहरू सार्वजनिक गरेका छन् । उनले आगामी भदौ २३ गते बिरगञ्जमा तय गरिएको मोर्चाको बैठक हैजा महामारीका कारण हाललाई स्थगित गरिएको जानकारी दिए । शुक्लाले हैजा नियन्त्रणका लागि सरकारलाई सबै सम्भव उपायहरू अवलम्बन गर्न र स्रोत परिचालनमा ध्यान दिन मोर्चाको तर्फबाट माग गरिएको पनि स्पष्ट पारेका छन् ।
उनका अनुसार प्रदेश सरकारसँग पनि हैजा नियन्त्रणमा सहयोग र सक्रियता देखाउन आग्रह गरिएको छ ।

त्यस्तै, रूपन्देही ३ मा हुने उपनिर्वाचनको सन्दर्भमा मोर्चाले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ । यसका लागि पार्टीका संरक्षक रेशम चौधरीसँग उम्मेदवारको नामावली चाँडो सार्वजनिक गर्न आग्रह गरिएको र नाम आएपछि प्रचारप्रसारको कार्य आरम्भ गरिने सहमति भएको शुक्लाले जानकारी दिए ।

बैठकमा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवालाई मोर्चामा सामेल गरिने निर्णय समेत गरिएको छ । यो सँगै लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूको संख्या अब सात पुगेको छ ।
काठमाडौंमा आन्दोलनरत उखु किसानका समस्याहरूको तत्काल समाधान गर्न बैठकले सरकारसँग जोडदार माग गरेको छ । किसानले पाउनुपर्ने अनुदान अविलम्ब उपलब्ध गराउन माग गरिएको छ । साथै किसानलाई मलखाद, बीउ, विषादी लगायतका आवश्यक सामग्रीहरू समयमा उपलब्ध गराउनुपर्नेमा बैठकले विशेष जोड दिएको छ ।
बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,रौतहट, १२ भदौ ।
जन्मदिनजस्तो विशेष दिनलाई सामाजिक उत्तरदायित्वमा रूपान्तरण गर्दै युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलले आफ्नो जन्मोत्सव अनाथ तथा टुहुरा बालबालिकासँग मनाएका छन् ।
रौतहटको परोहा नगरपालिका–८ मोतिपुर नरकटियाका निवासी पटेलले बिहीबार गरुडा नगरपालिका–४ मा अवस्थित बंशीराम जयसवाल अनाथालयमा पुगेर २६ जना बालबालिकासँग मिठाइ बाँड्दै खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका छन् ।

मधेश मिडिया प्रा.लि.का अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपाल, मधेश प्रदेशका कोषाध्यक्ष समेत रहेका पटेलले जन्मदिनको अवसरमा चामल, दाल, आलु, प्याज, तेल, साबुन, नुहाउने सामग्री, चकलेट, बिस्कुट, चाउचाउ, चिउरा, चिनी लगायत आवश्यक सामग्री अनाथालयलाई हस्तान्तरण गरेका थिए ।
“महँगो होटलमा लाखौं खर्च गरेर जन्मदिन मनाउनुको सट्टा अनाथ बालबालिकाको अनुहारमा मुस्कान ल्याउनु नै वास्तविक पुण्य हो,” पत्रकार पटेलले प्रतिक्रिया दिएका छन् ।
बालबालिकासँग बिताएको केही घण्टाले उनलाई जीवनको वास्तविक अर्थ महसुस गराएको बताउँदै उनले भने, “यहाँ रहेका साना बाबुनानीहरूसँगको भेटले मलाई भित्री आत्मसन्तुष्टि दियो । यस्तो सेवा गर्न पाउनु नै सौभाग्य हो।”
अनाथालयमा रहेका बालबालिकाहरूले दैनिक खर्च तथा शिक्षादिक्षा सञ्चालनमा आउने कठिनाइबारे पत्रकार पटेललाई जानकारी गराएका थिए । संस्थापक स्व. बंशीराम जयसवालको नाममा सञ्चालित अनाथालयमा अहिले पनि निरन्तर सेवा प्रवाह भइरहेको छ ।
पत्रकार पटेलले सबैलाई सामाजिक उत्तरदायित्व वहन गर्न आह्वान गर्दै भने, “जन्मदिन, विवाह वा कुनै पनि खुशीका पलमा अनावश्यक खर्च नगराैं, असहाय बालबालिकासँग खुशी बाँडौं । हाम्रो सानो सहयोगले पनि उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।”
उनको यो कार्यले समाजसेवा र मानवताको आदर्श प्रस्तुत गर्दै अरुलाई पनि यस्तै गतिविधिमा प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।
काठमाडौं, ११ भदौ ।
काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीले आज (बुधबार) तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट शुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादी स्थित काठमाडौं महानगरपालिकाको कार्यालय समेत घेराउ गरेको छ ।
कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कबाड व्यवसायीमाथि ज्यादती गरिरहेकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्नदिनुपर्ने माग गरे ।
‘सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायमा तोडफोड सहितको अत्याचार बिरुद्ध कबाड व्यवसायीले शान्तिपूर्ण आन्दोलन गरिरहेको छ,’ गुप्ताले भने, ‘सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने र हामीले शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न पाउनुपर्ने हाम्रो माग हो । यस बिषयमा वारपार गरेरै हाम्रो आन्दोलन स्थगित हुन्छ ।’

सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने उनले बताए । कानूनको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म आन्दोलन जारी रहने उनले बताए ।
शान्तिपूर्ण आन्दोलन गरिरहेका आन्दोलनकारीलाई काठमाडौंका सुकुम्बासीले पनि साथ दिएका छन् । आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास मोर्चाका अध्यक्ष कालबहादुर विकले कबाड आन्दोलनप्रति एक्यबद्धता व्यक्त गर्दै आन्दोलनलाई समर्थन गरेका छन् । उनले कबाड, सुकुम्बासी लगायत सबै मिलेर बालेनको गैरकानून कामको कडा रुपमा बिरोध गर्नुपर्ने बताए । कानूभन्दा आफूलाई माथि राख्न खोज्ने बालेनलाई कानूनको अधिनमा ल्याउन आवश्यक भएको विकले बताए ।
कबाड आन्दोलनमा सहभागिहरुले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन् ।
कबाड व्यवसायीले विभिन्न ५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।
संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरूतत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।
त्यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।
यसैबीच, आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले काठमाडौं महानगरको बिरुद्ध लगातार तीन दिनदेखी जारी कबाड आन्दोलनप्रति सरकार गम्भिर नहुनु दुःखद भएको बताएका छन् । ‘सम्मानित सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै महानगरले कबाड व्यवसायमाथि गरेको ज्यादती रोक्न, शान्तिसुरक्षा, अमनचयन तथा विधिको शासनको प्रत्याभुति दिलाउन सम्पूर्ण न्यायप्रेमीमा योगदान गर्न आह्वान गर्दछु,’ साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
काठमाडौं, भदौ ११ – गत आर्थिक वर्षको उखु अनुदान भुक्तानीको माग गर्दै काठमाडौंमा जारी उखु किसानको आन्दोलनप्रति लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले ऐक्यबद्धता जनाएको छ ।
उखु अनुदानको विषयमा आन्दोलित किसानहरूलाई समर्थन जनाउँदै लोसपा मधेश प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री माननीय जितेन्द्र सोनल स्वयं माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागी भएका छन् ।

सोनलसँगै पार्टीका उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा. सुरेन्द्र कुमार झा, तथा लोकतान्त्रिक विद्यार्थी संघका महासचिव समर साह पनि प्रदर्शनमा सहभागी थिए । नेताहरूले सरकारको उदासीनताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै किसानको जायज माग तुरुन्त सम्बोधन गर्न माग गरेका छन् ।
उखु कृषक लगायतले उखुको प्रति क्विन्टल ७० रुपैयाँ दरले बाँकी रहेको अनुदान रकम भुक्तानी गर्नुपर्ने माग गर्दै आन्दोलनरत छन् । उनीहरूले “एकतर्फी मूल्य स्वीकार छैन”, “उखु कृषक शोषण बन्द गर”, “अनुदान तुरुन्त भुक्तानी गर”, “मूल्य निर्धारणमा कृषकको सहभागिता सुनिश्चित गर” जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।

उखु उत्पादक संघका राैतहटका अध्यक्ष अशोक यादवले पनि सरकारले पटकपटक आश्वासन दिए पनि कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले अनुदान रकम तत्काल भुक्तानी नगरे आन्दोलन अझ व्यापक बनाउने चेतावनी दिएका छन् ।
यद्यपि किसानकाे मागप्रति विभिन्न दलका नेताहरूको ऐक्यबद्धता देखिए पनि, सरकार भने अझैसम्म पनि गम्भीर रुपमा प्रस्तुत भएको देखिँदैन् । किसानहरू यथाशक्य चाँडो समाधान नआए थप कडा आन्दोलनमा जान सक्ने चेतावनी दिँदै आएका छन् ।
बज्जिकाञ्चल संवाददाता,रौतहट, भदौ ११ ।
रौतहटमा हालै भएको महिला हत्या प्रकरणमा ज्यान गुमाएकी युवती रुबी कुमारी साहको हत्याको रहस्य खुलेको छ । विगत शनिबार रातिदेखि हराइरहेकी रुबीको शव आइतबार बिहान सुटकेसमा फेला परेको थियो । घटनामा संलग्न भएको स्वीकार गरेका लक्ष्मण पासवानले आत्मदाह प्रयास गरेपछि उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको पुष्टि भएको छ ।
रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुर निवासी ३० वर्षीय लक्ष्मण पासवानले गौर ५ स्थित आफ्नै डेरामा रुबीको हत्या गरेको बताएका थिए । बुधबार बिहान उनले हिन्दी भाषामा साढे ९ मिनेटको भिडियो सन्देश सार्वजनिक गर्दै घटनाबारे खुलासा गरेका थिए ।
भिडियोमा उनले रुबीलाई घाँटी थिचेर हत्या गरेको र शव सुटकेसमा हालेर अटो रिक्सामार्फत फालिदिएको बताएका छन् । उनीहरुले कक्षा १० मा पढ्दा भारतको सीतामढीमा विवाह गरेको तर रुबीकी आमाले त्यो सम्बन्ध अस्वीकार गरेका कारण दुवैजना मानसिक तनावमा परेको पासवानले भिडियोमा बताएका छन् ।
हत्या गरेपछि आफूलाई बाँच्छु भन्ने अधिकार नरहेको उल्लेख गर्दै उनले आत्मदाहको प्रयास गरेका थिए। बुधबार बिहान उनले गाउँदेखि केही परको चौरमा पेट्रोल खन्याई आगो लगाएका थिए । करिब ६० प्रतिशत जलेको अवस्थामा स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका डिएसपी राजु कार्कीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् ।
पासवानको शरीरमा रुबीको तस्बिर अंकित ट्याटु, र “My Heart Ruby Kumari” लेखिएको शरिरका भागहरू पनि फेला परेका छन्, जसले उनीहरूको सम्बन्ध गहिरो रहेको संकेत गर्छ ।
प्रहरीले घटनाको सम्पूर्ण पृष्ठभूमि र हत्या पछाडिको कारणबारे विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ ।