आरके श्रीवास्तव,राैतहट,१५ गते माघ ।
गरूडा । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार गोविन्द चौधरीले आफूले कसैलाई समर्थन गर्ने भन्ने हल्लालाई कडा शब्दमा खण्डन गरेका छन् ।
बिहीबार गरुडा नगरपालिका वडा नम्बर ६ पोठियाहीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै चौधरीले भने,
“आम जनतालाई गोविन्द चौधरीको आवश्यकता थियो, जनताको आदेशमै मैले उम्मेदवारी दिएको हुँ। अफवाहको पछि नलाग्न म सबैलाई आग्रह गर्दछु।”
उनले चुनावी मैदानमा आएपछि एक इन्च पनि पछि नहट्ने स्पष्ट चेतावनी दिँदै भने,“मेरो लागि सबैभन्दा ठूलो सम्पत्ति मेरो इज्जत र प्रतिष्ठा हो। चुनावमा आइसकेपछि म एक इन्च पनि पछाडि हट्दिन।”
आफूले आजसम्म कसैको समर्थन नगरेको दाबी गर्दै चौधरीले आफ्नो राजनीतिक इतिहास हेर्न चुनौतीसमेत दिए ।

“मेरो इतिहास हेर्नुहोस्, मैले कहिल्यै कसैको समर्थन गरेको छैन् । म स्वस्थ नभएकाे कारण यसअघिका चुनावमा उठ्न सकिन् ।”
उनले केही तत्वहरूले भ्रम र अफवाह फैलाएर भ्रामक प्रचार गरिरहेको आरोप लगाउँदै त्यसप्रति कडा आपत्ति जनाए ।

कार्यक्रममा जसपा नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का जननिर्वाचन परिचालन समितिका संयोजक रामप्रवेश दास, गरुडा नगरपालिकाका मेयर प्रत्यासी अनिल यादव लगायत जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
गोविन्द चौधरीको यो स्पष्ट र आक्रामक अभिव्यक्तिले रौतहट क्षेत्र नम्बर ३ को चुनावी माहोल थप तातिएको छ ।








