बज्जिकाञ्चल संवाददाता,रौतहट, १२ भदौ ।
जन्मदिनजस्तो विशेष दिनलाई सामाजिक उत्तरदायित्वमा रूपान्तरण गर्दै युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलले आफ्नो जन्मोत्सव अनाथ तथा टुहुरा बालबालिकासँग मनाएका छन् ।
रौतहटको परोहा नगरपालिका–८ मोतिपुर नरकटियाका निवासी पटेलले बिहीबार गरुडा नगरपालिका–४ मा अवस्थित बंशीराम जयसवाल अनाथालयमा पुगेर २६ जना बालबालिकासँग मिठाइ बाँड्दै खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका छन् ।

मधेश मिडिया प्रा.लि.का अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपाल, मधेश प्रदेशका कोषाध्यक्ष समेत रहेका पटेलले जन्मदिनको अवसरमा चामल, दाल, आलु, प्याज, तेल, साबुन, नुहाउने सामग्री, चकलेट, बिस्कुट, चाउचाउ, चिउरा, चिनी लगायत आवश्यक सामग्री अनाथालयलाई हस्तान्तरण गरेका थिए ।
“महँगो होटलमा लाखौं खर्च गरेर जन्मदिन मनाउनुको सट्टा अनाथ बालबालिकाको अनुहारमा मुस्कान ल्याउनु नै वास्तविक पुण्य हो,” पत्रकार पटेलले प्रतिक्रिया दिएका छन् ।
बालबालिकासँग बिताएको केही घण्टाले उनलाई जीवनको वास्तविक अर्थ महसुस गराएको बताउँदै उनले भने, “यहाँ रहेका साना बाबुनानीहरूसँगको भेटले मलाई भित्री आत्मसन्तुष्टि दियो । यस्तो सेवा गर्न पाउनु नै सौभाग्य हो।”
अनाथालयमा रहेका बालबालिकाहरूले दैनिक खर्च तथा शिक्षादिक्षा सञ्चालनमा आउने कठिनाइबारे पत्रकार पटेललाई जानकारी गराएका थिए । संस्थापक स्व. बंशीराम जयसवालको नाममा सञ्चालित अनाथालयमा अहिले पनि निरन्तर सेवा प्रवाह भइरहेको छ ।
पत्रकार पटेलले सबैलाई सामाजिक उत्तरदायित्व वहन गर्न आह्वान गर्दै भने, “जन्मदिन, विवाह वा कुनै पनि खुशीका पलमा अनावश्यक खर्च नगराैं, असहाय बालबालिकासँग खुशी बाँडौं । हाम्रो सानो सहयोगले पनि उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।”
उनको यो कार्यले समाजसेवा र मानवताको आदर्श प्रस्तुत गर्दै अरुलाई पनि यस्तै गतिविधिमा प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।








