विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन भएपछि सेना परिचालन गरिएको छ ।
प्रशासनले सेना सडकमा गस्तीमा निस्किएपछि अवस्था नियन्त्रणमा आइरहेको बताएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले बिहान ७ बजेदेखि जारी गरेको कर्फ्यु आदेश अवज्ञा गर्दै प्रदर्शन शुरु भएपचिउ सेनालाई सडकमा उतारिएको छ ।
कर्फ्युकै बीचमा ठुलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । कप्तानगन्ज चोकमा टायर बाल्दै नाराबाजी गरेका प्रदर्शनकारी केहीबेरमै तोडफोड र आगजनीमा उत्रिएपछि अवस्था असहज बनेको थियो ।
कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगन्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर ९ सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् र उनीहरुको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी







